भोलि काठमाडौंको आकाशमा उडान नियन्त्रित

भोलि काठमाडौंको आकाशमा उडान नियन्त्रित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि भारतको राजधानी नयाँ दिल्ली जाँदै हुनुहुन्छ । उहाँ समकक्षी नरेन्द्र मोदीको भोलि बेलुकी हुने शपथ ग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलका साथ दिउँसो त्यसतर्फ जाने कार्यक्रम छ । 

प्रधानमन्त्री दाहाल नेपाल वायुसेवाको उडान नम्बर आरए २१७ मा दिउँसो १३ः२५ बजे प्रस्थान गर्नुहुने छ । त्यसअघि १ बजेदेखि आधा घण्टाभन्दा बढी काठमाडौं वरपरको आकाशमा उडान प्रतिबन्ध (नोटाम) जारी गरिएको छ । 

त्यसैगरी प्रधानमन्त्री दाहाल पर्सि बेलुकी नयाँ दिल्लीबाट सोही वायुसेवाको उडान नम्बर आरए २१८ मा फर्कदा पनि काठमाडौंको आकाश वरपर साँझ ६ बजेदेखि आधा घण्टा नोटाम जारी गराउन लागिएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका लागि विमानस्थल व्यवस्थापनसम्बन्धी विशेष निर्णय गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका विभिन्न सरकारी तथा सुरक्षा निकायहरुको संयुक्त बैठकले केही समयअगाडि यस्तो निर्णय गरेको हो । सुरक्षा निकायहरुले तोकिएको सुरक्षा जिम्मेवारी पूरा गर्ने,नेपाल वायुसेवाले सम्बन्धित विमान बे नम्बर १ मा पार्क गर्नुपर्ने छ ।

त्यसैगरी भन्सार कार्यालय,आयल निगम, नागरिक उड्डयन प्राधिकरणलाई पनि विभिन्न जिम्मेवारी तोकिएको छ ।

टिप्पणीहरू