काठमाडौंको आकाश वरपर पर्सि बेलुकी पनि उडान प्रतिबन्ध

काठमाडौंको आकाश वरपर पर्सि बेलुकी पनि उडान प्रतिबन्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले पर्सि बेलुकी ६ बजेदेखि कम्तीमा आधा घण्टा उडान प्रतिबन्ध (नोटाम) जारी गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड र जर्मनी भ्रमणको क्रममा उहाँ प्रस्थान गर्ने समयमा नोटाम घोषणा गरिएको बताइएको छ ।

राष्ट्रपति पौडेल पर्सि बेलुकी ६ बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा दोहा हुँदै स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने कार्यक्रम छ । सो प्रयोजनको निम्ति विमानस्थलको सुरक्षा व्यवस्थापन नेपाली सेनाको नम्बर १४ ब्रिगेडलाई दिइएको छ । 

त्यसैगरी अर्को बुधबार स्वदेश फर्कने क्रममा पनि बिहान सवा १० बजेदेखि झण्डै ११ बजेसम्म काठमाडौंको आकाशमा उडान प्रतिबन्ध लगाईंदै छ । उहाँ सोही एअरवेजको उडान नम्बर क्युआर ६५२ मा बिहान साढे १० बजेको समयमा काठमाडौं आइपुग्ने भ्रमण तालिकामा उल्लेख छ । 

राष्ट्रपति पौडेलले जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १२ औं अधिवेशनमा भाग लिने कार्यक्रम छ । त्यसपछि उहाँ जर्मनी जाने र नौ दिनपछि स्वदेश फर्कने भ्रमण तालिका तय भएको हो । 

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली जाँदै हुनुहुन्छ । उहाँ भारतीय समकक्षी नरेन्द्र मोदीको बेलुकी हुने शपथ ग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलका साथ दिउँसो त्यसतर्फ जाने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल नेपाल वायुसेवाको उडान नम्बर आरए २१७ मा दिउँसो १३ः२५ बजे प्रस्थान गर्नुहुने छ । त्यसअघि १ बजेदेखि आधा घण्टाभन्दा बढी काठमाडौं वरपरको आकाशमा उडान प्रतिबन्ध (नोटाम) जारी गरिएको छ । 

प्रधानमन्त्री दाहाल भोलि बेलुकी नयाँ दिल्लीबाट सोही वायुसेवाको उडान नम्बर आरए २१८ मा फर्कनुहुने छ । त्यसबेला पनि काठमाडौंको आकाश वरपर साँझ ६ बजेदेखि आधा घण्टा नोटाम जारी गर्ने तयारी छ ।

 

टिप्पणीहरू