आधा घण्टासम्म आज एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो  आधा घण्टाको लागि बन्द हुने भएको छ । १ देखि साढे १ बजेसम्म नियमित उडान–अवतरण बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । 

विभिन्न निकायको सहभागितामा विमानस्थल संकटकालीन योजनाअनुसार ‘अलर्ट ९.३.१ (एअरक्राफट एक्सिडेण्ट इन एअरपोर्ट)’ सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएकाले उडान–अवतरण प्रभावित हुने कार्यालयले जानकारी दिएको छ । कार्यालयले आज सूचना जारी गर्दै दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउन र विमानस्थलको सञ्चालन छिटोभन्दा छिटो गर्न अभ्यासको आयोजना गरिएको बताएको छ ।  

‘यस विमानस्थलमा २०८१ साल जेठ २८ सोमबारका दिन अपरान्ह १ः०० बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्दारसँग सम्बद्ध विभिन्न निकायहरुको सहभागितामा विमानस्थल संकटकालीन योजनाअनुसार गरिने विभिन्न अभ्यासहरु मध्ये अलर्ट ९.३.१ (एअरक्राफट एक्सिडेण्ड इन एअरपोर्ट) सम्बन्धी पूर्णकालीन अभ्यास हुनेछ ।

यो अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरु बीच सहयोग अभिवृद्धि गराउने तथा सहभागी निकायहरुले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराई यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटोभन्दा छिटो सुचारु गराउने रहेको छ’,सूचनामा उल्लेख छ । 

सो अवधिमा विमानस्थल वरपरको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिने उल्लेख गर्दै कार्यालयले नआत्तिन वरपरका बासिन्दालाई सूचित गराएको छ ।


 

टिप्पणीहरू