गर्मीमा विद्यालय बन्दको विकल्प खोज्न विज्ञहरुको सुझाव

गर्मीमा विद्यालय बन्दको विकल्प खोज्न विज्ञहरुको सुझाव

केही समययता मुलुकभर तापक्रम निकै बढेको छ । नेपालको पूर्वी भेगमा मनसुन भित्रिएपनि मध्य र पश्चिमी तराईसँगै पहाडी भूभागमा गर्मी झन बढ्दै गएको छ । 

तराई र मधेशका अधिंकाश जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । उखरमाउलो गर्मीका कारण जताततै विद्यालय बन्द गरिएको छ ।

अधिंकाश पालिकाहरुले गर्मी बढेसँगै विद्यालय बन्दको घोषणा गरेका छन् । जेठ १४ गते चितवनको रत्ननगर नगरपालिकाले गर्मी बढेको जनाउँखदै नगर क्षेत्रअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । 

मुलुकभर पोलियोविरुद्धको आइपिभी खोप अभियान सञ्चालन भइरहँदा नगरपालिकाले विद्यालयहरु बन्दको घोषणा गरेका कारण त्यहाँ खोप अभियान पनि प्रभावित हुन पुग्यो । जेठ १६ गतेबाट विद्यालय सञ्चालन गरी नगरपालिकाले खोप अभियान सुचारु गरेकोमा अहिले फेरि गर्मीका कारण विद्यालयहरु बन्द गरिएका छन् । 

यता, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का विद्यालयहरु पनि अत्यधिक गर्मीपछि बन्द भएका छन् । वडा शिक्षा समितिको अस्ति बसेको बैठकले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोहीअनुरुप विद्यालय बन्द गरिएको हो । 

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतका विद्यालयहरु आउँदो असार ७ गतेसम्म बन्द छन् । गर्मीका कारण पठनपाठनमा समस्या सिर्जना भएको जनाउँदै उपमहानगरले गत जेठ २० गतेदेखि विद्यालय बन्द गरेको हो । 

यो वर्ष सरदर मितिभन्दा तीन दिनअगावै पूर्वी भेगमा मनसुनको आगमन भएपनि मध्य र पश्चिम भूभागमा अझै गर्मी बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अत्यधिक गर्मीका कारण तराईका अधिकांश पालिकाहरुले विद्यालयमा बिदा दिएका छन् । 

बढ्दो गर्मी र बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने पालिकाहरुको निर्णयले विद्यार्थीको अध्ययनमा प्रत्यक्ष असर पर्ने देखिएको छ । गर्मीबाट बच्ने विकल्प नखोजी विद्यालय बन्द गर्दा विद्यार्थीको पढाइमा असर पर्ने शिक्षाविद्हरु बताउँछन् ।

आम सर्वसाधारण तथा अभिभावकहरु पनि विद्यालय बन्दको सट्टा गर्मीबाट विद्यार्थीलाई बचाउने दीर्घकालीन उपाय खोज्नुपर्ने बताइरहेका छन् । सामाजिक सञ्जालमा समेत विद्यालय बन्द गर्मीको समस्या समाधान नभएको भन्दै आलोचना भइरहेको छ । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको भनाई छ, ‘विद्यालय बन्द समस्याको समाधान होइन । विद्यालयलाई राम्रो पठनपाठनका साथ भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्यो । 

वीरगञ्जमा बिहानी कक्षा

उखरमाउलो गर्मीका कारण विद्यालयहरु बन्द भइरहँदा पर्साको वीरगञ्ज महानगरपालिकाले भने बिहानी कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । सोहीअनुरुप महानगरअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दिउँसोको सट्टा बिहान पठनपाठन भइरहेको छ । 

यसअघि महानगरले अत्यधिक गर्मीपछि विद्यालय बन्द गरेको थियो । तर, विद्यालय बन्द गर्दा विद्यार्थीको पठनपाठनमा धेरै असर परेकाले त्यसलाई मध्यनजर गर्दै बिहानीको समयमा कक्षा सञ्चालन गर्न थालिएको महानगरले जनाएको छ । शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न शिक्षणको समयावधिलाई कम गरी बिहान साढे १० बजेभित्र पठनपाठन सक्नेगरी कक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो । 

बिदा समाधान होइन, विकल्प छन् : शिक्षाविद् 

शिक्षाविद् विद्यानाथ कोइराला गर्मी छल्न विद्यालय बन्द गरिनु त्यसको समाधान नभएको बताउँछन् । भन्छन्, ‘विद्यालयमा बस्दा जति गर्मी हुन्छ, त्यति नै घरमा पनि हुने हो । तर, गर्मीको नाममा विद्यालय बन्द गर्नु ठीक होइन । त्यसको विकल्प खोज्नुपर्छ र छन् पनि ।’

विद्यालयमा खानेपानी, शौचालय र पंखाको उचित व्यवस्थापन गरिएमा राम्रैसँग पठनपाठन गर्न सकिने र विद्यार्थीको स्वास्थ्यमा पनि केही असर नपर्ने उनी बताउँछन् । उनले भने, ‘गर्मी बढ्यो भनेर बिदा दिने होइन, विद्यालयमा आवश्यक भौतिक पूर्वाधारको व्यवस्थापन गरिदिनुपर्छ । खानेपानीको उचित व्यवस्था गरिनुपर्छ । हरेक कक्षा कोठामा पंखा जडान गर्नुपर्छ । यति गरेमा बिदा दिइरहनै पर्दैन ।’

‘कतिपय विद्यालयले आर्थिक अभावका कारण पनि पंखा जडान गर्न सकेका छैनन् । त्यस्तो अवस्थामा अभिभावकको आर्थिक सहयोगबाट पनि व्यवस्थापन गर्न सकिन्छ,’ शिक्षाविद् कोइरालाले थपे, ‘अहिले अभिभावकहरु नै गर्मी बढ्यो भनेर विद्यालय बन्द गर्न माग गर्छन् ।  तर, आफ्ना छोराछोरीको पढाईको निम्ति विद्यालय बन्द गर्न होइन, पूर्वाधार व्यवस्थापनमा अभिभावकहरुले पनि जोड दिनुपर्छ । विद्यालय बिदाको साटो दीर्घकालिन उपाय अवलम्बन गरिनुपर्छ,’ शिक्षाविद् कोइरालाले थपे । 

त्यस्तै, विद्यालय बन्दको विकल्पमा बिहानी कक्षा पनि सञ्चालन गर्न सकिने उनी बताउँछन् । उनले गर्मीका कारण लामो समयसम्म विद्यालय बन्द गरिँदा विद्यार्थीको पढाईमा ठुलो क्षति पर्न जाने उल्लेख गर्दै भने, ‘सम्बन्धित निकायले विद्यालयमा आवश्यक पूर्वाधार जडानमा पहल गर्नुपर्छ ।’

यता, विद्यालय बन्द रहुञ्जेल अभिभावकहरुले आफ्ना बालबालिकाको पढाईमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । ‘बालबालिकालाई सिर्जनशील बनाउनुपर्छ । पढेका कुरा व्यवहारमा लागू गर्न लगाउनुपर्छ । विद्यालयप्रति उनीहरुलाई आकर्षित बनाउनुपर्छ । यसले पढाईप्रतिको लाभपछि विद्यालय बन्द हुन नदिन उनीहरु आफैं तत्पर पनि हुन्छन्,’ शिक्षाविद् कोइरालाले थपे । 

यसरी बचाउने बालबालिकालाई गर्मीबाट  

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन गर्मीमा बालबालिकालाई प्रशस्त पानी खुवाउन अभिभावकहरुले जोड दिनुपर्ने बताउँछन् । विशेषगरी गर्मीमा बालबालिका, वृद्धावृद्ध, गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा ध्यान पुर्याउन आवश्यक छ । 

उनले बालबालिकालाई गर्मीबाट बचाउन पानीसहित झोल पदार्थ (जुस, सर्वत) प्रशस्त मात्रामा खुवाउनुपर्ने, बाहिरी वातावरण वा घाममा खेल्न दिन नहुने बताए । बाहिर निस्कँदा बालबालिकाको अनिवार्य टाउको छोपिदिनुपर्ने र हल्का लुगा लगाइदिनुपर्ने उनको भनाइ छ । 

डा.पुनले गर्मीका कारण बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखापर्ने पनि बताए । गर्मीमा शरीर थकित महशुस हुनुका साथै काम्ने, बर्बराउने, बेहोस तथा बान्ता हुनेजस्ता समस्या देखिन्छ । त्यस्ता समस्या देखिएमा तत्काल स्वास्थ्य संस्था लैजान पनि उनले सुझाएका छन् ।

टिप्पणीहरू