विद्यार्थी धामीझाँक्री बन्ने,गुरुहरु रमिता हेर्ने

विद्यालय सिकाइको केन्द्र हो । दैनिक पठनपाठन,सहपाठी सिकाइ, अतिरिक्त क्रियाकलाप विद्यालयमा हुने गर्दछ । तर,अछामका विद्यालयमा भने अलग्गै दृश्य देखिएको छ । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ । 

त्यो भिडियो अछामकै एउटा विद्यालयको हो । ढकारी गाउँपालिका वडा नम्बर १,रिमामा रहेको विश्वज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी धामी–झाँक्री बनेको भिडियोले दुर्गमका विद्यालयहरुको अवस्था र शिक्षकहरुको अन्धविश्वासी सोच छर्लङ्ग पारेको छ । 

भिडियोमा दुई छात्र र एक छात्रा एकै ठाउँमा गोलो घेरा बनाएर बसेको देखिन्छ । दुई छात्र धामी–झाँक्रीझैं मन्त्र फुकिरहेका छन् । उनीहरु मन्त्र फुक्दै बुरुकबुरुक उफ्रिन्छन् । ती छात्राको टाउकोमा हान्छन्,भुताल्छन् । उनीहरुले थालमा अक्षतापाती पनि लिएका हुन्छन् । 

त्यसले ती छात्राको अनुहारमा हिर्काउँछन् । यता,पछाडिबाट एक जना शिक्षकले भन्छन्,‘लौ त यो परमेश्वर महाराज प्रभु । यो स्कूलमा अब हामीले देउता या देउकी पढाउने हो । यो दिनका दिन यस्ता घटनाहरु विगतमा हुन्थे,दोहोरिएका थिएनन् । फेरि यस्ता घटना हुन थालेका छन् ।’

‘यस्तो टिचरले पढाएको विद्यार्थी कस्ता होलान्, कस्तो अन्धविश्वास । टिचरजस्तो मान्छेले अन्धविश्वासी कुरा गर्ने ? अलिकति समयमै उपचार गर्दा राम्रो होला ।’

अन्य शिक्षकहरुले चाँहि चोखो पानी ल्याएर उनीहरुमाथि छर्किन भन्छन् । एउटा शिक्षकले पानी ल्याएर छात्रको हातमा दिन्छन् । छात्रले त्यो पानी छात्राको मुखमा छ्याप्छन् । त्यसपछि उनीहरुले ‘छाड–छाड’ भनेको भिडियोमा सुन्न सकिन्छ । अन्धविश्वासलाई निरुत्साहन गर्न भूमिका खेल्नुपर्ने शिक्षक नै रमिता हेर्नमा मस्तमगन भएपछि धेरै विरोध भएको छ । 

उक्त भिडियोमाथि सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लागेको छ । अधिकांशले रमिता हेर्नुभन्दा विद्यार्थीहरुको उपचारमा जोड दिन त्यहाँका शिक्षकहरुलाई सुझाव दिएका छन् । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘यस्तो टिचरले पढाएको विद्यार्थी कस्ता होलान्, कस्तो अन्धविश्वास । टिचरजस्तो मान्छेले अन्धविश्वासी कुरा गर्ने ? अलिकति समयमै उपचार गर्दा राम्रो होला ।’

त्यस्तै, अर्कोले भनेका छन्,‘यो मानसिक रोग हो । बेलैमा उपचार गरौं ।’ लेखिएको छ,‘हैन समाज र समाजका मान्छेको सोच कता जाँदैछ ।’

टिप्पणीहरू