धितोपत्र बोर्डमा जान खोज्ने सबै ‘खत्तम’ ?

धितोपत्र बोर्डमा जान खोज्ने सबै ‘खत्तम’ ?

नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तिका लागि छानिएका पाँचै जना उम्मेदवार काम नलाग्ने आरोप लगाइएको छ । नियुक्तिमा ठूलै आर्थिक चलखेल हुन लागेको जनाउँदै अख्तियारमा उजुरीसमेत परेको छ । 

बोर्ड अध्यक्ष नियुक्ति र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणमा पाँच अर्ब रुपैयाँ भ्रष्टाचार हुन लागेको भन्दै  अख्तियार गुहारिएको हो । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स लिएको समूहले प्रतिकित्ता पाँच सय रुपैयाँसम्म शेयरका लागि रकम असुली गरिरहेको उजुरीकर्ताको आरोप छ । 

उजुरकर्ताले अध्यक्ष छनौट समितिमा योग्यता नपुगेका व्यक्तिलाई व्यवसायिक स्वार्थसहित समावेश गरेको आरोप लगाएका छन् । समिति सदस्य उदय निरौलाको विज्ञता र क्षमतामाथि प्रश्न उठाउँदै उनको प्रत्यक्ष सम्बन्ध हिमालयन स्टक एक्सचेञ्जका लागि आवेदन दिएको बिचौलिया दिपक भट्ट  समूहसँग रहेको उजुरीमा दाबी छ ।

सी–०७९२६८ नम्बरमा दर्ता भएको उजुरीपत्रमा भनिएको छ,‘अध्यक्ष नियुक्तिका लागि गठित  समितिका उदय निरौला सामान्य शेयर कारोबारी मात्रै हुन् र उनको प्रत्यक्ष सम्बन्ध हिमालयन स्टक एक्सचेञ्जका लागि आवेदन दिने समूहसँग रहेको देखिन्छ ।’

त्यस्तै,बोर्ड अध्यक्ष बन्ने दौडमा रहेका अधिकांश प्रतिस्पर्धी विवादास्पद छन् भनिएको छ । अध्यक्षका लागि सबैभन्दा बढी कसरत गरिरहेका सन्तोषनारायण श्रेष्ठ हिमालयन स्टक एक्सचेञ्जको मुख्य लगानीकर्ता दिपक भट्टको व्यवसायिक साझेदार भएको ठोकुवा छ । श्रेष्ठको लगानी रहेको कम्पनीलाई नेपाल आयल निगमले इन्धन चोरीको आरोपमा यसअघि कारबाही गरेको बताइन्छ ।

जलविद्युत क्षेत्रमा समेत हात हालेका श्रेष्ठको व्यवसायिक पृष्ठभूमि, विवादास्पद व्यक्तिहरुसँग सहकार्य,शैक्षिक योग्यता र अनुभवको अभावजस्ता कारणले गर्दा बोर्डको अध्यक्ष बन्न अयोग्य रहेको उजुरीकर्ताको जिकिर छ । आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको आफन्तको रुपमा चिनाउने डा. नवराज अधिकारीको अध्यक्षका लागि बार्गेनिङ्ग र अर्का प्रतिस्पर्धी मुक्तिनाथ श्रेष्ठमाथि तत्कालीन अध्यक्ष रमेश हमालसँग मिलेमतोमा प्रिमियम आईपिओमा अनियमितता गरेको आरोप छ ।

नेपाल स्टक एक्सचेञ्जका सिइओ कृष्ण कार्कीको नेतृत्व क्षमतामाथि नै प्रश्न उठाइएको छ । अर्का उम्मेदवार चिरञ्जिवी चापागाईंको पनि आलोचना गर्दै अख्तियार गुहारिएको छ ।

टिप्पणीहरू