२० जनालाई रोजगारी दिने व्यवसायीलाई तीन वर्षसम्म कर छुट

२० जनालाई रोजगारी दिने व्यवसायीलाई तीन वर्षसम्म कर छुट

काठमाडौँ महानगरपालिकाले कम्तिमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई शुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुट दिने घोषणा गरेको छ ।

महानगरको आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र (बालेन) साहले यस्तो घोषणा गरेका हुन् । नीति तथा कार्यक्रममा महानगरबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धी काममा आवश्यक जनशक्तिमध्ये कम्तीमा ३० प्रतिशत श्रम बैंकमार्फत आपूर्ति गरिने पनि उल्लेख गरिएको छ ।  

त्यस्तै, महानगर क्षेत्रका सहकारी संस्थाको कारोबारलाई विद्युतीय प्रणालीमा आबद्ध गरी थप व्यवस्थित गर्ने, सहकारी सूचना केन्द्रको स्थापना गरी बचत संकलन ऋण परिचालन तथा संस्थाको सुशासन कार्यलाई प्रभावकारी बनाउने नीति तथा कार्यक्रममा समावेश छ । 

विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि खेलकुदलाई पूर्वप्राथमिक तहदेखि अनिवार्य गर्ने र सबै स्रोत केन्द्रमा कम्तीमा एक-एक जना मनोपरामर्शदाता र नर्सको व्यवस्था गरिने पनि मेयर साहले जानकारी दिए । पूर्वप्राथमिक तहका कक्षा कम्तीमा दुई तहमा सञ्चालन गर्ने व्यवस्था मिलाउँदै विद्यार्थीले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको क्षमता विकास गर्न सामुदायिक विद्यालयहरुको शैक्षिक र भौतिक गुणस्तर सुधार गर्ने विषय पनि महानगरको आगामी कार्यक्रममा परेको छ । 

मेयर साहले सामुदायिक विद्यालयहरुको दिवा खाजाको लागि ‘डाइट योजना’ सहितको मापदण्ड तथा दुई सयभन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा ‘सेन्टर किचन’ को अवधारणा लागू गर्ने पनि बताएका छन् । सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गैरसरकारी संस्थाबाट उपलब्ध हुने छात्रवृत्तिलाई महानगरको एकद्धार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाउने र अटिजम भएका विद्यार्थीलाई लक्षित गर्दै विशेष विद्यालय स्थापना गर्ने नीति कार्यक्रममा उल्लेख छ । 

विद्यार्थीहरुलाई पढ्दै कमाउँदै अवधारणबमोजिम ‘पाट टाइम’ काम गर्ने गरी रोजगारी सिर्जनाका लागि आवश्यक प्रबन्ध मिलाउने मेयर बालेनको घोषणा छ । उनले महानगरभित्रका सामुदायिक विद्यालयको चलअचल सम्पत्तिलाई शैक्षिक प्रयोजनको लागि मात्रै प्रयोग गर्ने व्यवस्था गरिने पनि बताए । 

संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण प्रयोग गरिने उल्लेख गर्दै बालेनले भने, ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ को परिकल्पनालाई मूर्तरुप दिन संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरिनेछ ।’ महानगरलाई सुरक्षित, समावेशी, सम्पन्न र जीवन्त सहर बनाइने उनको भनाइ छ ।
Write to Editor & Uttam

 

टिप्पणीहरू