कर्मचारीहरुद्वारा संसदका महासचिवको कार्यकक्ष घेराउ

सुविधा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएका संघीय संसद सचिवालयका कर्मचारीहरुले संसद महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गरेका छन् । बिहानैदेखि हातमा कालोपट्टी बाँधेर संसद भवन परिसरमा धर्ना दिएका उनीहरुले मध्यान्ह महासचिव पाण्डेको कार्यकक्ष घेरेका हुन् ।

संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । संसद सचिवालयका कर्मचारीहरु ११ बुँदे मागसहित केही दिनदेखि आन्दोलनरत छन् । 

सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसहित राजनीतिक दलका प्रमुख सचेतकहरुले हिजो उनीहरुसँग छलफल गर्नुभएको थियो । आज अर्थमन्त्री वर्षमान पुनसँग छलफल गर्ने बताइएको छ । 

गत शनिबार दिउँसो सभामुखले संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलका प्रमुख सचेतकहरुसँग पनि कर्मचारीको आन्दोलन र मागबारे छलफल गर्नुभएको थियो ।

टिप्पणीहरू