पद पाएर फेरिएको यी नारीको लत
‘युद्ध बन्द गर ! यो रोनाधोना, चिच्याहट सहन सकिन ।’ साम्राज्ञी चिसीको यो आदेश सुनेर युद्धको नेतृत्व गरिरहेका सेनापति दोङ फुसियान एकछिन अलमलमा परे । उनले विश्वासै गर्न सकेनन् कि महारानीबाट यस्तो आदेश पनि हुन सक्ला । उनले केही नबोलिकन पहाडको टाकुरामा उभिएर तलतिर हेरे – पेकिङ (आजको बेइजिङ) शहरमा पूरै आगो दन्किरहेको थियो ।
१९ औं शताब्दीसम्म चिनियाँ भूभाग थुप्रै मुलुकले बाँडेर लिइसकेका थिए । तिनीहरूले चिनियाँ जनतामाथि शासन र व्यापार त गरे गरे, साथसाथै इसाइ धर्म पनि फैलाउन थाले । सन् १८९४ सम्म १ हजार ३ सय इसाइ मिशनरी र ४ सय पादरी चीन प्रवेश गरिसकेका थिए । आफ्नो संस्कृति नष्ट हुँदै जानु र किसानको हातबाट जमिन खोसिनुमा इसाइ चर्चहरू बढी जिम्मेवार भएको चिनियाँ जनताले महसुस गर्न थाले । चिनियाँ सरकार यी सबै हुन नदिन असक्षम थियो । त्यसैले साम्राज्यवाद र इसाइकरणविरुद्ध जनता ‘ई– हो चुआ’ नामक संगठनमा आबद्ध हुन थाले ।
ई–हो चुआको अर्थ असल कार्यको लागि सद्भावनापूर्ण मुठ्ठीहरू हो । यसमा आबद्ध बहुसंख्यक चिनियाँ बक्सिङ र मार्शल आर्टसका खेलाडी थिए, तसर्थ जब उनीहरूले सन् १८९८ मा विद्रोह गरे पश्चिमाहरूले उक्त विद्रोहलाई बक्सर विद्रोहको नाम दिए । उक्त विद्रोह दबाउन पश्चिमा शक्तिले हजारौं महिलामाथि बलात्कार गरे, घरहरू जलाए, मान्छे मारे । शुरुमा साम्राज्ञी चिसीको सरकार विद्रोहप्रति मौन बस्यो । तर, सन् १९०० को जुनमा विद्रोहलाई सहयोग गर्न थाल्यो । अमेरिका, बेलायत, जर्मनी, इटली, फ्रान्स, रुस, जापान, अष्ट्रो–हंगेरी, नेदरल्याण्ड, स्पेन र बेल्जियमको संयुक्त सेनासामु विद्रोह टिक्न सकेन ।
साम्राज्ञी चिसीको हिंसा रोक्ने उपर्युक्त आदेश उनमा दया जागेर दिइएको अवश्य थिएन । यो कुरो एकछिनपछि नै देखियो । उनी शयनकक्षबाट ‘फ्रेश’ भएर जब निस्किन्, लगत्तै अर्को आदेश जारी गरिन्– ‘टाउको सञ्चो भयो । अब फेरि युद्ध जारी राख । याद गर, एक जना इसाइ पनि नबचोस् । उनीहरूलाई पनि बाँकी नराख, जसले धर्म परिवर्तनमार्फत देशप्रतिको गद्दारी गरे ।’ चिसीको उक्त आदेशपछि सैनिकहरु गल्लीगल्ली, चोकचोकमा गीत गाउँदै हिँडे– ‘कोही नबचुन्, प्रत्येक टाउकोबापत एउटा स्वर्ण मुद्रा इनाममा पाइनेछ । टाउको ल्याऊ, मुद्रा लैजाऊ । मार अनि कमाऊ ।’
चिनियाँको यो परिवर्तित रूप देखेर पश्चिमाहरू छक्क परे किनभने ती महिला हिंस्रक बनेर उनीहरूमाथि जाइलाग्न थालेका थिए, जो सुत्दा पनि सिरानीको छेउमा महारानी भिक्टोरियाको फोटो राखेर सुत्थे, जसले सयौं पटक पादरीसँग बसेर चिया पिइसकेका थिए । चिनियाँहरू पादरीलगायत विदेशीमाथि जाइलागे । यसक्रममा करिब १ लाखको ज्यान गयो । ३ सयजति विदेशी, हजारौं चिनियाँ इसाइ, र सर्वसाधारण मारिए । यो विद्रोह असफलतामा टुंगिएको कारण चीन र राजतन्त्र निकै कमजोर बन्यो । नतिजास्वरुप सन् १९११ मा सम्पन्न क्रान्तिले राजतन्त्र फाल्यो । सन् १९१२ मा डा. सनयात सेनको नेतृत्वमा गणतान्त्रिक सरकार गठन भयो । त्यसो त चिसीको मृत्यु सन् १९०८ मै भइसकेको थियो । उनीपछि २ वर्षका पुयी सम्राट् घोषित भए । सन् १९१२ मा राजतन्त्र फालिंदा उनी मात्र ६ वर्षका थिए ।
इतिहासमा चिसीलाई ड्रागन लेडीको रूपमा प्रस्तुत गरिएको पाइन्छ । अनुदार, सुधारविरोधी र भएका सुधारलाई पनि समाप्त पार्ने र धुर्त, षड्यन्त्रकारी र घृणित शासक भएकैले उनलाई यसो भनिएको हो । उनको जन्म शाही खानदानमा भएको थिएन । अल्पसंख्यक मान्चु जनजातिकी थिइन् । बेइजिङमा जन्मेकी उनको एउटी बहिनी र एक जना भाइ थिए । तात्कालीन सम्राट् सियाङफेङका ३ वटी साम्राज्ञीसहित १८ वटी रानी थिए । यसबाहेक उनको दरबारमा छुट्टै जनानाघर थियो । भनिन्छ, उक्त घरमा हजारौँ हिजडासहित करिब ३ हजार स्त्री थिए ।
सम्राट् छानीछानीकन उनीहरूसँग सुत्थे । चिसी जब १६ वर्षको भइन्, सम्राट्काे नजरमा परिन् र अन्य युवतीसरह जनानाघरको ‘शोभा’ बन्न् पुगिन् । उनलाई पढ्न लेख्न आउँदैन थियो । ५ फुट मात्र अग्ली थिइन् । अन्न त्यति खाँदैनथिन् । प्रायः दूध, दही र फलफूल खान्थिन् । अनुहारमा बाक्लो पाउडर दलेर बस्थिन् । त्यसैले जनानाघरमा उनलाई तल्लोस्तरको दासी मानिन्थ्यो । पढ्न, लेख्न जान्ने दासीलाई शाही पुस्तकालयको पुस्तक पढ्न दिइन्थ्यो भने शिक्षक पनि उपलब्ध गराइन्थ्यो । चिसी अनपढ भए पनि चलाख थिइन् । उनले सम्राट््की एक जना पत्नी लिसित मित्रता गाँसिन् । तर ३ वर्ष बित्दा पनि लिले सम्राट्लाई सन्तान सुख दिन सकिनन् । लिको मिल्ने साथी भएकै कारण त्यसपछि सम्राट्ले चिसीलाई पत्नीको रूपमा छाने ।
२१ वर्षको उमेरमा सन् १८५६ मा चिसी पहिलोपटक आमा बनिन् । सम्राट््को लागि छोरो जन्माइदिएपछि दरबारमा उनको शान ह्वात्तै बढ्यो । विस्तारै सम्राट्को काममा सहयोग गर्न थालिन् । सियानफेङ एक जना कमजोर र नशामा लठ्ठ परिरहने सम्राट् थिए । सन् १८६१ मा मात्र ३१ वर्ष हुँदा अचानक उनको मृत्यु भयो । ५ वर्षको छोरो तोङचीलाई गद्दीमा बसालेर चिसीले उनको नाउँमा शासन चलाउन थालिन् । त्यसबखत उनको उमेर २६ थियो । जब छोरो १७ वर्षको भयो, उनले राजमाताको भूमिका त्यागिन् । २ वर्षपछि १९ वर्षकै उमेरमा सम्राट् तोङसीको पनि मृत्यु भयो र ४ वर्षका बालक ग्वाङसुको नाउँमा शासन चलाउन थालिन् । त्यसबखत उत्तरी चीनमा पटकपटक विद्रोह भइरहेको थियो । त्यसै बखत ब्रिटेन र फ्रान्सको संयुक्त सेनाले चीनमाथि आक्रमण ग¥यो । सम्राट् र महारानी डराएर चेहोलतर्फ लागे । चिसीले आक्रमणकारी सबैको टाउको छिनाइदिने आदेश जारी गरिन् । चिनियाँ सेनाले जब उक्त आदेश पालना गर्न थाले, विदेशी सेना ज्यान बचाउँदै भागे ।
यसपछिका ५ वर्ष गृहयुद्धमै बित्यो । फ्रान्सिसी, ब्रिटिश र चिनियाँ सेना आपसमा लड्न थाले । यो गृहयुद्धमा करिब २ करोडको ज्यान गयो । यस अवधिमा चिसीले सम्राट्का भाइ राजकुमार कंगसित आवश्यक सल्लाह लिन्थिन् । तर, जब उनलाई लाग्यो कि अब कसैको सल्लाहको आवश्यकता रहेन, तब कंगबाट छुट्कारा पाउने एउटा उपाय सोचिन् । एकपटक कंग सल्लाह दिँदै थिए, ‘अचानक चिसी चिच्याउँदै मद्दत माग्न थालिन् । जब सैनिक कोठाभित्र पसे चिसीले दुव्र्यवहारको आरोप लागाइन् र राजद्रोह गरेको सजायँस्वरूप जेल पठाइदिइन् । उनी विलाशी थिइन्, राज्यकोषको दुरूपयोग गर्दै फजुल खर्च गर्थिन् । र, खर्चको पुर्ताल गर्न जनतामाथि अनेकथरी करको बोझ लाद्थिन् । धनराशी लिएर सरकारी ओहदालाई पनि बिक्रीको साधन बनाउँथिन् ।
राजकुमार तङ चेह १५ वर्ष पुगेर गद्दीमा बसेपछि आफ्नो प्रभुत्व समाप्त हुने डर भयो । उनले अनेक नराम्रो बानी बसाल्न लगाइन् । अफिम तान्ने, केटीसँग लसपस हुने र समलैंगिक सम्बन्ध बनाउनेसम्म । सानैमा रक्स्याहा र ऐøयासी बने । बिहे जेठी युवतीसँग भयो । नवपत्नीले लोग्नेलाई नराम्रो बानीबाट छुट्कारा दिलाउन ठूलो प्रयास गरिन् तर तङलाई गुप्त रोग लागिसकेको थियो । निधन यसै रोगबाट भयो । यसपछि चिसीले मन्त्रिमण्डलको आपातकालीन बैठक डाकिन् । र, राजकाजका लागि एक जना पुरुष पनि जीवित नभएकाले आफ्नै बहिनीको छोरोलाई सम्राट् घोषित गर्ने प्रस्ताव राखिन् । लगत्तै बालक कुआङ सुलाई धर्मपुत्र बनाइन् र ३ वर्षको बालकलाई आधारात सम्राट् घोषित गरिदिइन् ।
चिसीको यो षड्यन्त्र सहन नसकी तङकी पत्नीले आत्महत्या गरिन् । कुआङ राजमाता चिसीदेखि निकै डराउँथे । तर, महारानी निउहु रुसँग भने खुशी हुन्थे । यसैकारण चिसीले निउहु रुको पनि हत्या गर्न लगाइन् । सन् १८८७ मा बालिग बने र स्वतन्त्र तवरले शासन गर्न थाले । आफ्नोसामु डराएर भिजेको मुसोजस्तो बन्ने कुआङ एक सफल सम्राट् बनेको देखेर चिसी अचम्ममा परिन् । आफ्नो अधिनबाट सम्राट् बाहिर गएपछि मतभेद बढ्यो । चिसी राजकाजमा हस्तक्षेप गर्थिन् जुन कुआङलाई मन पर्दैनथ्यो । यो आन्तरिक द्वन्द्वमा ५५ वर्ष पुगिसकेकी चिसीको जित भयो । पागलदेखि अनेकौं आरोप लगाएर सम्राट्लाई नै कैद गर्न सफल भइन् ।
यसबीच, पश्चिमी मुलुकले चीनको राजनीतिमा हस्तक्षेप गर्न थालेपछि चिसीमा पागलपन सवार भयो र गुण्डाहरूमार्फत मुलुकमा दंगफसाद र हत्या आतंक मच्चाउन लगाइन् । तर, फ्रान्स र ब्रिटेनको सेनाले सैन्य हस्तक्षेप नै गरेपछि सम्राट्लाई च्यापेर बयलगाडामा बसी बेइजिङबाट भागिन् । भाग्नेक्रममा निकै कष्ट भोगिन्, भोकको सामना गरिन् । विदेशी फौजसित सम्झौताको प्रस्ताव राखिन् । र, अज्ञातवासबाट निस्किइन् । सन् १९०७ आइपुग्दा नपुग्दै चिसी र सम्राट् एकैपटक बिरामी परे । सन् १९०८ को नोभेम्बरमा सम्राट कुआङका र अर्को २४ घण्टामा चिसीको पनि मृत्यु भयो । यसपछि बल्ल सम्राट् बनेका पुयी चीनका अन्तिम सम्राट् हुन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू