सहकारी रकम ठगी गर्दै जलविद्युतमा लगानी

सहकारी रकम ठगी गर्दै जलविद्युतमा लगानी

दोलखा र रामेछाप जिल्लालाई कार्यक्षेत्र बनाएको खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ताको करोडौं रकम सहकारीमा जम्मा नगरी सुटुक्क आफैंले प्रयोग गरिरहेका खबर छ । बचतकर्ता र विद्युत प्रयोगकर्ताहरुले नियमित रुपमा जम्मा गरेका करोडौं रकम सहकारीका पदाधिकारीहरु सबै मिलेर व्यक्तिगत रुपले प्रयोग गरिरहेका हुन् । सहकारीको सञ्चालक तथा संरक्षकका रुपमा पदधारण गरी उल्टै अधिकारको चरम दुरुपयोग गर्नेमा संस्थाका अध्यक्ष शेर बहादुर खड्का, उपाध्यक्ष भुवन केसी, कोषाध्यक्ष धिराज सुवेदी र सह महाप्रबन्धक कुमार फुंयाल रहेका छन् । उनीहरुले सहाकारीको विद्यमान नियम, कानून र प्रावधानहरु बमोजिम संस्थागत रकम र संस्थामा जम्मा गर्नुपर्ने विद्युत महशुल बैंक खातामा दाखिला नगरी व्यक्तिगत रुपले अपचलन गरिरहेका बताइएको छ ।  

सहकारीमा ११ हजार विद्युत प्रयोगकर्ता र ७ हजार शेयर सदस्यहरुले नियमित रुपमा मासिक १५ लाखभन्दा बढी रकम जम्मा गर्दछन् । प्रत्येक पदाधिकारीले मिलेर बचतकर्ताको लाखौंलाख अपचलन गरिरहेका र सबैले अपचलन गरेका रकम करोडभन्दा बढी रहेको श्रोतले उल्लेख गरेको छ । कहीं नभएको जात्रा हाँडिगाउँमा भने झैं वर्षौंदेखि यसरी नै रकम अपचलन गर्दै आएका यी चारैजनाको नाममा सहकारीको संयुक्त खाता खोलिएको छ । सामान्यत संस्थाको खाता अध्यक्ष, सचिव र कोषाध्यक्षमध्ये कुनै दुईको हस्ताक्षरबाट चलाउने गरिन्छ । उनीहरुका करतुतका बारेमा जानकार टाठाबाठा कर्मचारीलाई पनि संस्थाको रेकर्डमा नरहने गरी केही लाख रुपैयाँ चलाउन दिई अनियमितता सार्वजनिक नहोस् भनी मुखबुझो लगाएका छन् । 

सहकारी ऐन बमोजिम साधारण सभा पनि नगर्ने सञ्चालकहरुले तोकिएका प्रावधानका पालना नगरी मनमाफिक सहकारी चलाउने गरेका छन् । बैंक स्टेटमेण्ट र संस्थामा दैनिक, मासिक उठ्ने र जम्मा गरिएको रकमका विवरण र आर्थिक कारोबारको विस्तृत विवरण हेर्नासाथ यहाँ गरिएका अनियमितताहरु सहजै खुल्नेछन् । खिम्ती जलविद्युत आयोजनालाई आधार बनाई स्थापित यस सहकारीको कार्यक्षेत्र दोलखाको तामाकोशी गापाको ५, ६ र ७ वडा, जिरिपानी गापाको ७ र ८ वडा र सेउरिनी गापा रहेका छन् । रामेछापको गोकुलगंगा गाविसका वडाहरु ३, ४, ५ र ६, लिखुतामाकोशी गापाको वडा ६ र मन्थली नपाको ११, १२, १३ र १४ वडा पनि सहकारीको कार्यक्षेत्रमा रहेका छन् । हाल दोलखाको झाँक्रे ६३५ केभी र रामेछापको हलुवा खोला ४०० केभी क्षमताका दुईवटा पावर प्लाण्टबाट उत्पादित विद्युतका प्रयोगकर्ताहरुबाट सहकारीले नियमित विद्युत शुल्क संकलन गरिरहेको छ । 

सहकारीले प्रयोगकर्ताहरुबाट नेपाल विद्युत प्राधिकरणले निर्धारण गरेको भन्दा प्रति युनिट रकम पनि बढी उठाउने गरेको छ । दक्ष र योग्य कर्मचारीलाई हटाएर आफन्त र लाभलाई केन्द्रमा राखी अदक्ष मानिसलाई जागिरमा राख्दा ३ जना मानिस अपांग भएर बसेका छन् ।  महाप्रबन्धकको जिम्मेवारीमा इञ्जिनियर हुनुपर्ने प्रष्ट प्रावधान रहेपनि योग्य इञ्जिनियरलाई निकालेर योग्यता नभएको मानिसलाई जिम्मेवारी दिइएको छ । अहिले विद्युत प्राधिकरण र वैकल्पिक उर्जाले अनियमिततामा मुछिएका पदाधिकारीमार्फत नै १२÷१२ करोड रुपैयाँ लगानी गरी जम्मा २४ करोडभन्दा बढीको नयाँ विद्युत आयोजना सञ्चालन गर्न प्रक्रिया अघि बढाइसकिएको छ । पदाधिकारीहरुको बदमाशी र अनियमितताका बारेमा जानकार जानकार सदस्यहरुले छानवीन गरी कारवाहीको दायरामा ल्याउनुपर्ने सञ्चालकहरुलाई नै फेरी करोडौंको आयोजना जिम्मा लगाउने तयारीप्रति असन्तुष्टी जनाएका छन् । अनियमिततामा संलग्न पदाधिकारीको करतुतका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ ।  

तर संस्थाका कोषाध्यक्ष सुवेदीले ती सबै आरोप निरर्थक भएको बताएका छन् । उनले खिम्ती ग्रामीण विद्युत सहकारी संस्था बचत तथा ऋण सहकारी नभएको बताउँदै भने, ‘संस्थाका आर्थिक गतिविधिलगायत सबै विवरण प्रदेश सहकारी महाशाखामा पठाउने गरिएको र संस्थाको साधारणसभा गत फागुन २८ गते सम्पन्न भइसकेको छ ।’

हाल प्रस्ताव गरिएको परियोजनामा नवीकरणीय ऊर्जा कार्यक्रम, तामाकोशी गाउँपाािलका र गोकुलगंगा गाउँपालिकाको समेत सहभागिता हुने बताइएको छ । तर आफ्नो संस्थाले प्रस्ताव मात्रै गरेको र परियोजनाबारे अन्तिम निर्णय नभइसकेको सुवेदीको भनाई छ । 

त्यस्तै सहकारी संस्थामा ११ हजार विद्युत ग्राहक रहेको र उनीहरुबाट १५ लाख रुपैयाँ आम्दानी हुने गरेको प्राप्त लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । उक्त रकममध्ये २७ जना कर्मचारीको निम्ति झण्डै ११ लाख हुने गरेको छ । उनले भने, ‘त्यति हुँदाहुँदै पनि आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षणमा संस्थाले २ करोड ४८ लाख नाफा गरेको देखिन्छ ।’

उनले संस्थाको रकम अपचलन नभएको बताए । केही रकम कार्यालयको कामको सिलसिलामा कर्मचारी र सञ्चालकको नाममा पेश्कीमा रहेको देखिएको हो । उक्त जानकारी साधारणसभा तथा प्रदेश सहकारी महाशाखामा दिइएको र लेखापरीक्षण प्रतिवेदनमा समेत उल्लेख भएको कोषाध्यक्षले जनआस्थासँगको कुराकानीमा दाबी गरेका छन् ।

उनले संस्थाको वास्तविक अवस्थाबारे पठाएको विवरणमा भनिएको छ :

हाल संस्थाको मुख्य आम्दानी खिम्ती २ मा प्राप्त भएको विद्युत महशुल हो । सो बाट ४० लाखमाथि आम्दानी हुन्छ । ती आम्दानी पनि संस्थाको खातामा एकाउण्ट पेयी जम्मा हुने गरेको छ ।

नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने महशुल समेत हरेक महिना भुक्तानी गर्ने गरिएको छ । मुक्तिनाथ विकास बैंक, एनएमबि बैंक र सहकारी बैंकमा गरेर झण्डै ५ करोड संस्थाको रकम बैंकमा मौज्दात छ । आवश्यकता परेमा बैंकको स्टेटमेन्ट पठाउन तयार छु ।

अख्तियारमा उजुरी परेको भन्ने सम्बन्धमा थाहा नभए पनि सहकारी महाशाखाबाट २०८१ असार ७ गते संस्थाको इमेलमा पत्र आयको छ । १५ दिनमा कागजात पठाउन लेखिएकाले सबै कागजात तोकिएको समयभित्र संस्थाले पठाउने छ ।

टिप्पणीहरू