वडालाई एक करोड सुनेपछि नीति कार्यक्रम वाह, बजेट स्वाहा

वडालाई एक करोड सुनेपछि नीति कार्यक्रम वाह, बजेट स्वाहा

प्रतिवडा एक करोड रुपैयाँ बजेट विनियोजन नगरे नगरसभा नै बहिष्कार गर्ने धम्की वडा अध्यक्षहरुले दिएपछि अन्ततः सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी वर्षका लागि घाटा बजेट प्रस्तुत गर्दै नीति तथा कार्यक्रम पास गरेको छ ।

हरेक वर्ष आफूहरुले भनेको बजेट रकम विनियोजन नगरेको भन्दै नगरसभा बहिष्कार गर्दै आएका वडाध्यक्षहरुले यसपटक भने आफ्नो मागबमोजिम वडास्तरीय योजनाका लागि एक करोड पाउने भएका हुन् । गत वर्ष प्रतिवडा ८५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । 

आफूहरुलाई एक करोड नै चाहिने माग राख्दै आएका वडाध्यक्षहरुले मागको सुनुवाई नभएको अवस्थामा उपप्रमुख सीता थापाले नीति तथा कार्यक्रम प्रस्तुतिका लागि उठ्ने बितिक्कै गत वर्ष उनीहरुले नारा लगाएका थिए । तर यस पटक भने ललिपप पाएका केटाकेटी जस्तै वडाध्यक्षहरु फूरुङ्ग मात्र भएनन् । शान्तपूर्वक मेचमा बसेर उपप्रमुख सीता थापाले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेट सुनेर ताली पड्काएर पास गरेका हुन्।

यता १४ वडा रहेको चौतारा साँगाचोकगढीभित्र वडाध्यक्षहरुको मागबमोजिम  एक करोडको बजेट विनियोजन गरेपछि १९ करोड ११ लाख बराबरको घाटा बजेट नगरले प्रस्तुत गरेको छ भने आन्तरिक स्रोतको मुख्य हिस्सा ठानिएको दहतरबहत्तरको ठेक्का नलाग्दा बजेटको सिलिङ अझ खुम्चिएको देखिन्छ ।

उपप्रमुख थापाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय र व्यय विवरणमा आयतर्फ कूल १ अर्ब २४ करोड, २० लाख ४७ हजार १ सय चार रुपैयाँ रहेको छ भने व्ययतर्फ जम्मा १ अर्ब २६ करोड ११ लाख ६१ हजार ६ सय ६१ छ । अघिल्ला मेयर अमानसिं तामाङको कार्यकालमा प्रतिवडा ६५ लाख विनियोजन गरिएको थियो तर हालका मेयर कृष्णप्रसाद सापकोटाले आब २०७८/०८९ मा ६५ लाखबाट ७५ लाख र ०७९/८० मा ८५ लाख पुर्याएका थिए । 

यो वर्ष भने वडाध्यक्षहरुले एक करोड नै चाहिने हठ देखाएपछि मेयर सापकोटाले पनि मन फुकाएर विनियोजन गरिदिएको बताइन्छ । त्यसो त वडामा गएको बजेट पूर्णरुपमा सदुपयोग हुन नसकेको स्थानीयको आरोप छ । वडाध्यक्षहरुले गत वर्षदेखि मनोमानी ढंगले बजेट विनियोजन गराएको आरोप छ । 

यसअघिको कार्यकालमा गाउँबस्तीमा गएर वडाले योजनाहरु तर्जुमा गर्ने गरेता पनि गत वर्षबाट भने वडाध्यक्षहरुले विना योजना आफ्नै मनोमौजी तरिकाबाट विनियोजन गर्ने गरेका छन् । आफूलाई भोट आएको गाउँबस्तीमा मात्र बजेट खन्याउने चलन बढ्दो छ । उपभोक्ता समितिमा आफ्नै झोले छान्ने र योजना दिने काम वडाबाट हुने गरेको छ । 

आफ्ना मान्छे नपरेमा योजना सम्झौता र भुक्तानीका लागि पनि कतिपय वडाध्यक्षहरुले सिफारिस नै नदिने गरेको उपभोक्ता समितिका पदाधिकारीहरुले आरोप लगाउने गरेका छन् । स्थानीय तह भ्रष्टाचारको केन्द्रविन्दु भएको भन्ने आरोप लागिरहेको बेला वडालाई नै आवश्यकताभन्दा बढी योजनाको नाममा बजेट विनियोजन गर्न थालेपछि झन् भ्रष्टाचार बढ्ने स्थानीयहरुको दाबी छ ।

यस्तो छ नीति तथा कार्यक्रम

गत आर्थिक वर्षको प्रगति विवरण र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जम्माजम्मी २० पेजको छ । जसमा गत वर्षको प्रगति विवरण आठ पेजभित्र अटाएका छन् भने आगामी वर्षको नीति तथा कार्यक्रम १२ पेजमा टुँगिएको छ । आठ १२ मा परेको यो नीति तथा कार्यक्रम तयारीका लागि मेयर सापकोटाले निकै मेहनत गरेका थिए । उनले यसबीच नीति कार्यक्रमका लागि विज्ञहरुसँग परामर्श मात्र गरेनन्, सर्वदलीय बैठक बोलाएका थिए । 

तर, वाह भन्ने कार्यक्रम नआएको टिकाटिप्पणी हुन थालेको छ । विषयगत शाखाहरुसँगको लामो परामर्श, दलहरुसँग विमर्श, वडाध्यक्षहरुसँग छलफल र विज्ञहरुसँगको सरसल्लाह लिएपछि यसपटकको नीति तथा कार्यक्रम राम्रो आउला भन्ने आशा स्थानीयको थियो । तर ‘उही नाम्लो उही कुम्लो’ भने जस्तै नीति तथा कार्यक्रम खासै जम्न नसकेको बताइन्छ । 

दलहरुसँगको परामर्शमा दलका प्रतिनिधिहरु नीति कार्यक्रमका लागि उचित योजना र भिजन दिनुको साटो कर्मचारी नियुक्ति जस्ता झिनामसिना एजेण्डामा अल्झेका थिए भने वडाध्यक्षहरु एक करोडमै सीमित भएका थिए । त्यसैले नीति तथा कार्यक्रम खासै नयाँ हुन नसकेको स्थानीयको आरोप छ । तर अहिले पनि कृषि, पशु, उद्यम र रोजगारीलाई अधिकतमभन्दा अधिकतम प्राथमिता दिइएको उल्लेख छ ।

नगरले एक वडा, एक उत्पादन नीति अवलम्बन गर्ने, एक घर एक कृषि कार्यक्रम सञ्चालन गर्ने, कृषिमा व्यवसायिकता र यान्त्रिकीकरण गर्दै उत्पादनमार्फत् स्वरोजगारी वृद्धि गर्ने जति धेरै उत्पादन, त्यति धेरै अनुदान भन्ने नारालाई कार्यान्वयन गर्दै अनुदानमार्फत किसानलाई प्रोत्साहन गर्ने, कृषि एम्बुलेन्सको व्यवस्था तथा तरकारी संकलन केन्द्र स्थापना, बजारीकरण र कोल्डस्टोर विस्तार गर्नेलगायतका नीतिहरु लिएको छ । त्यस्तै पकेट क्षेत्र विस्तार, बगरको जमिनमा खर्बुजा खेतीको विस्तार गर्ने, कृषि बिमा कार्यक्रम कार्यान्यन गर्ने, वैदेशिक रोजगारबाट फर्केकालाई सीपअनुसार स्वःरोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने, तालिमप्राप्त जनशक्तिको अद्यावधिक गर्दै उत्पादन र रोजगारमा जोड्ने जस्ता नीतिहरु उल्लेख छ ।

त्यस्तै नगरलाई पर्यटकीय हबको रुपमा विकास गर्न नगर पर्यटन बोर्ड गठन गर्ने, पर्यटकीय स्थलहरुको पहिचान र संरक्षण गर्दै प्रचारप्रसारमा तीब्रता दिने, साहसिक पर्यटनलाई टेवा दिने, होमस्टे, प्राचीन साँस्कृतिक अध्यययन केन्द्र, बन्देउलाई ट्रान्जिट सिटीको रुपमा विकास गर्ने, कोशेली घर निर्माण गर्ने, सुनकोसी करिडोरलाई हरियाली पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लगायतका नीतिहरु पनि समावेश गरिएको छ ।

नगरले शिक्षा, स्वास्थ्य, पूर्वाधारलाई पनि प्राथमिकतामा राखेको छ । यद्यपि अधिकाँश कार्यक्रम भने विगतकै दोहोरिएको छ । यसअघि कार्यान्वयनमा आएर पनि सफल नभएका का कतिपय योजनालाई नगरले पुनः कार्यान्वयन गर्ने नीति लिएको छ । यसअघिका योजनाहरु किन सफल भएन भन्ने विषयमा अध्ययन नगरी झन् विस्तार गर्न खोज्दा कतै नगरको लगानी बालुवामा पानी भने जस्तै त हुने होइन ? प्रश्न उठ्न थालेको छ।

टिप्पणीहरू