अरुको कुरै नसुनी प्रधानमन्त्री फुत्त बाहिर
पार्टीका बैठक मात्र होइन,सार्वजनिक कार्यक्रम र संसद बैठकमा समेत आफ्नो भाषण टुंग्याएर हिंडिहाल्ने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वभाव नै हो । आफ्ना भनाई सुनाउने तर अरुका कुरा सुन्न रुची नराख्ने उहाँले आज संसदमा पनि त्यस्तै शैली दोहोर्याउनुभएको छ ।
प्रतिनिधिसभामा आफैँले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल चलिरहँदा ओली बैठकबाट बाहिरिनुभयो । आज बैठकको शुरुमा आकस्मिक समय छुट्याईएको थियो । केही सांसदले बोलेपछि विश्वासको मतसम्बन्धी प्रस्तावको कार्यसूची अघि बढ्यो ।
सभामुख देवराज घिमिरेले समय दिएपछि प्रधानमन्त्री ओलीले प्रस्ताव पेश गर्नुभयो र सोसम्बन्धी छलफल शुरु भयो । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले सांसद गोकर्ण विष्टले क्रमश: धारणा राखे । त्यतिञ्जेल बैठकमा रहनुभएका ओली माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको पालो आएपछि निस्कनुभयो ।
त्यतिञ्जेल बैठकमा रहनुभएका ओली माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको पालो आएपछि निस्कनुभयो ।
प्रधानमन्त्री ओलीले संसद बैठकलाई महत्व नदिएपछि पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रश्न उठाए । लिङ्गदेनले घुमाउरो व्यंग गर्नुभयो, 'प्रधानमन्त्रीजीले कतैबाट सुनिराख्नु भएकै होला,बधाई दिन चाहन्छु ।'
ओली चौथोचोटी प्रधानमन्त्री बनेकोमा बधाई दिंदै आफ्नो सम्बोधन शुरु गर्नुभएका पूर्वप्रधानमन्त्री नेपालले भने खुलेरै असन्तुष्टि जनाउनुभयो ।
'मैले प्रधानमन्त्रीजीलाई देखिरहेको छैन, विश्वासको निम्ति मत मागिरहनुभएको छ, र यो हलबाट उहाँ बेपत्ता हुनुहुन्छ', उहाँले भन्नुभयो, 'उहाँले सदनलाई महत्व नदिएको जस्तो लाग्यो। उहाँको निम्ति आज सबैभन्दा महत्वपूर्ण कुरो भनेको सदनमा पूरा समय उपस्थिति आवश्यक थियो । सबैका बिचार र धारणा सुन्ने धैर्यता राख्नुपर्थ्यो ।'
अरुका कुरा सहन नसक्ने भएकाले ओली बैठकबाट निस्किएको हुनसक्ने अध्यक्ष नेपालको अनुमान छ ।
टिप्पणीहरू