को-को बन्दैछन् लुम्बिनीमा नयाँ मन्त्री ?
लुम्बिनी प्रदेशमा नेपाली काँग्रेस र एमाले गठबन्धनले नयाँ सरकार गठनको निम्ति आज प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेश गर्दैछन् । माओवादी संसदीय दलका नेता जोखबहादुर महराले हिजो प्रदेससभा बैठकमा मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको छ ।
संविधानको धारा १६८ उपधारा २ अनुसार दुई वा सो भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई दावी पेश गर्न आज साँझ साढे बजेसम्मको समय दिइएको छ । आज काँग्रेस–एमाले गठबन्धनले एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्रीमा नियुक्तीको लागि प्रदेश प्रमुखसमक्ष दाबीको तयारी गरेका छन् ।
८७ सदस्य रहेको लुम्बिनीमा एमालेका २९ र काँग्रेसका २७ सदस्य छन् । सरकार गठनको निम्ति ४४ जना भए पुग्छ । ठूला दुई दलको लिखित प्रस्तावमा एमालेका नेता गिरीलाई मुख्यमन्त्री बनाउन लोसपाका ३, जसपा यादव समूहका १, जसपा राई समूहका २, नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसदले पनि समर्थन गर्ने भएका छन् ।
दुई तिहाई अर्थात् ६६ जना सांसदको समर्थनमा गिरीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताइएको छ । विगतमा एमाले-माओवादी समर्थनमा १०७ दिन मात्रै मुख्यमन्त्री बनेका गिरी लुम्बिनी प्रदेशमा सबै राजनीतिक दलका नेताबीच तुलनात्मक रुपमा शालिन र इमान्दार नेताको रुपमा चिनिन्छन् ।
"काँग्रेस नेता खाण र माओवादी नेता सुदर्शन बरालसँग बैठक गरेको समयमा केहीबेर बाहिर गएर आउँछु भनी निस्केपछि बुटवल पुगेर पोखरेल नेतृत्वको सरकारलाई समर्थन गरेका थिए ।"
गिरी नेतृत्वको मन्त्रिपरिषदमा एमालेले अर्घाखाँचीका चेतनारायण आचार्य,रुपन्देहीका तुलसीप्रसाद चौधरी, गुल्मीका दिनेश पन्थी र कपिलवस्तुका विष्णु पन्थीलाई मन्त्री बनाउने तयारी थालेको छ । काँग्रेसले प्रमुख सचेतक जन्मजय तिमल्सेनाको नेतृत्वमा रुपन्देहीका अब्दुल रज्जाक र प्युठानका रोज राणालाई मन्त्री बनाउने सम्भावना प्रबल छ ।
आर्थिक मितव्ययितामा विशेष ध्यान दिने गरेका गिरीले आफ्नो मन्त्रिमण्डल बढीमा नौ सदस्य मात्रै बनाउने तयारी गरेका छन् । काँग्रेस र एमालेबाट मुख्यमन्त्रीसहित आठ र अन्य दलबाट एक जना गरी नौ सदस्यीय बनाउने योजना गिरीको रहेको बताइन्छ । विगतमा जम्बो मन्त्रिमण्डल बनाएका माओवादी मुख्यमन्त्री कुलप्रसाद के.सी र जोखबहादुुर महरा एवम् काँग्रेसका डिल्ली चौधरीको चर्को आलोचना भएको थियो । त्यसैले यस पटक सानो आकारको मन्त्रिमण्डल बनाउन लागिएको गिरी निकटस्थ एक जना नेताले बताए ।
दुई ठूला दलका धेरै जना भए झैँ लोसपाबाट भैरहवाका सन्तोष पाण्डेले पनि मन्त्रीका लागि ठूलै कसरत गरेका छन् । विगतमा सरकार बनाउन र ढाल्न महत्वपूर्ण भूमिका खेलेका पाण्डे यसपटक भने भूमिकाविहीन देखिए । तर लोसपाका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला र काँग्रेस नेता बालकृष्ण खाणको पहलमा मन्त्री बन्ने तयारीमा रहेको पाण्डे निकटस्थहरुको दाबी छ । पाण्डेले विगतमा शंकर पोखरेल नेतृत्वको सरकार जोगाउन ठूलो सहयोग गरेका थिए ।
त्यतिबेला भैरहवाको होटल मौर्यमा काँग्रेस नेता खाण र माओवादी नेता सुदर्शन बरालसँग बैठक गरेको समयमा केहीबेर बाहिर गएर आउँछु भनी निस्केपछि बुटवल पुगेर पोखरेल नेतृत्वको सरकारलाई समर्थन गरेका थिए । तर उनी आबद्ध पार्टी एमालेको विपक्षमा थियो ।
त्यतिबेला मोटो रकममा चलखेल गरेको आरोप लागेका उनलाई काँग्रेसले अझै विश्वास गरेको छैन भने एमाले पनि टाढिँदै गएको देखिन्छ । पाण्डेलाई भारत उत्तर प्रदेशको शैलीमा राजनीति गर्ने नेता भन्ने गरिएको छ ।
डिल्ली चौधरी मुख्यमन्त्री हुँदा पाण्डेले आन्तरिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर गृहमन्त्री बनेपछि पत्रकारलाई उधारो पुरस्कार बाँडेका थिए । सोही पुरस्कार वापतको रकम महरा मुख्यमन्त्री भएपछि अन्य शीर्षकबाट शोधभर्ना गरेर व्यवस्थापन गरिएको थियो ।
मन्त्रीबाट हटेपछि केही महिनादेखि उनले काँग्रेस नेता खाणलाई भैरहवा विमानस्थलमा रिसिभ देखि निरन्तर भेटघाट गर्दैमा बित्ने गरेको काँग्रेसजनको भनाइ छ ।
टिप्पणीहरू