हस्तलिखित कागज गरेर मिलिजुली सरकार चलाउने सहमति
प्रधानमन्त्रीमा आलोपालो गर्ने केन्द्रको सहमति पछ्याउँदै नेपाली कांग्रेस र नेकपा (एमाले)बीच लुम्बिनी प्रदेशमा पनि सरकारको नेतृत्व पालैपालो गर्ने सहमति भएको छ ।
नेपाली काँग्रेसको समर्थनमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट आज दुबैतर्फका शीर्ष नेता बसेर आधा-आधा कार्यकाल मुख्यमन्त्री बाँड्ने लिखित सहमति गरेका हुन् । सरकार संचालन र जिम्मेवारी बाँडफाँट मिलाउन उच्चस्तरीय संयन्त्र गठन गर्नसमेत दुई दल सहमत भएका छन् ।
हस्तलिखित तीन बुँदे सहमतिको दोस्रो नम्बरमा सरकारको नेतृत्व आलोपालो गर्ने र पहिलो चरण एमालेले खाने उल्लेख छ । त्यस्तै, मन्त्रिमण्डल गठन, जिम्मेवारी बाँडफाँट तथा नीतिगत र कार्यसम्पादनमा एकीकृत धारणा बनाउन उच्चस्तरीय संयन्त्र निर्माण गर्ने जनाइएको छ ।
नीतिगत सोच तथा प्रारुप तयार पार्न दुई दलका प्रमुख नेतालाई जिम्मेवारी दिइएको छ भने कार्य सम्पादनका लागि दुबैतर्फका तीन-तीन जना रहेको छ सदस्यीय 'कार्य सम्पादन समिति' गठन गरिएको छ । समितिमा भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, तुलसीप्रसाद चौधरी, जन्मजय तिमिल्सिना, धनेन्द्र कार्की र बैद्यनाथ कलवार रहेका छन् ।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीलाई पछि पार्दै उपनेता चेतनारायण हिजो मुख्यमन्त्री नियुक्त भएका थिए । दलका नेताले सरकारको नेतृत्व गर्ने संसदीय अभ्यास र परम्पराविपरित केन्द्रको निर्देशनमा उपनेतालाई मुख्यमन्त्री बनाइएपछि एमालेमा चर्को विवाद छ ।
दलको नेताबाट राजीनामा दिएका लीला आजको बैठकमा उपस्थित भएनन् ।
टिप्पणीहरू