बानियाँलाई ‘ब्याक फायर’, सँधै भावी मुख्यमन्त्रीमा सीमित

बानियाँलाई ‘ब्याक फायर’, सँधै भावी मुख्यमन्त्रीमा सीमित
सुन्नुहोस्

रमेश बन्जारा

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ विगत सात वर्ष यता भावी मुख्यमन्त्रीको रुपमा चिनिँदै आएका छन् । मुलुक संघीय गणतन्त्रमा गएपछि २०७४ को निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा विजयी बानियाँ तत्कालीन समयमा नेपाली काँग्रेस मकवानपुर सभापति थिए । 

त्यतिबेला बानियाँ प्रदेश सभामा काँग्रेस ससदीय दलको नेता निर्विरोध चयन भएका थिए । २०७४ को निर्वाचनयता सदन र सडकमा बानियाँको प्रभाव थियो । उक्त निर्वाचनमा आफूलाई बागमती प्रदेशको मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरे । तर, उक्त कार्यकालमा उनी मुख्यमन्त्री बन्न सकेनन् । बरु काँग्रेसको १४ औ महाधिवेशनबाट बागमती प्रदेश सभापति भए । 

प्रदेश सभापति निर्वाचित भएपछि बानियाँ आफ्ना हरेक रणनीतिमा असफल हुँदै गए । २०७९ को आमनिर्वाचनमा उनी विवादित बने । निर्वाचनमा काँग्रेस केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र मकवानपुरका नेता निवर्तमान हेटौंडा नगर सभापति आनन्दराम पराजुलीलाई पराजय गराउन सक्रिय भएको आरोप उनीमाथि लागिरह्यो । 

२०७९ को चुनावपछि काँग्रेस बागमती प्रदेश ससदीय दलको नेतामा समेत पछारिए । यसअघि एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र माओवादीका शालिकराम जमरकट्टेल मुख्यमन्त्री बने । बानियाँले अनेक उपाय रचेपनि काँग्रेसका बहादुर सिंह लामा नयाँ मुख्यमन्त्री बनिसकेका छन् । 

बानियाँलाई केन्द्रीय नेतृत्वले स्वीकार नगरेपछि उनले आफू निकटलाई मुख्यमन्त्रीमा अघि सारे । तर यो पटक उनीसँगै उनले चाहेका भनिएका उम्मेदवारसमेत भित्ते मुख्यमन्त्रीमा सीमित भएका हुन् । 

प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले यसअघि मुख्यमन्त्रीमा बानियाँको विकल्प नभएको बताएका थिए । उनै महर्जनलाई मन्त्री बनाउन बानियाँ अन्तिम समयसम्म प्रयासमा जुटे । महर्जनपछि उनले अघि सारेका प्रभात तामाङ्गलाई समेत नेतृत्वले ‘हुँदैन’ भनेपछि बानियाँ थप कमजोर बनेको काँग्रेसीहरुको बुझाइ छ ।
 

टिप्पणीहरू