ओरालो लाग्दा खोइ आत्मालोचना ?

ओरालो लाग्दा खोइ आत्मालोचना ?

बाघबाट आफू बाच्छो हुँदा पनि चाल नपाउने माओवादी र ३२ सिटे जादुमय नम्बरले यसपटक भने सिल्टिमुर खायो । मंगले आफ्नै ढंगले. भन्ने उखानलाई चरितार्थ गर्दै जाँदा अन्ततः म्याजिक नम्बर बाघको गर्जन हुन सकेन, बिरालोको म्याउँ म्याउँमै सीमित भयो र सत्ताको शिखरबाट गल्र्यामगुर्लम्म बेशीमा झर्‍यो । यो पक्कै पनि सत्तामुखी माओवादीका निम्ति दुखद क्षण बन्यो ।

२०५२ सालबाट २०६२ सालसम्म जंगलको बाघ भएर रजगज गरेको माओवादी २०६४ सालको आम निर्वाचनमार्फत पनि आफूलाई नेपाली राजनीतिको जंगलमा बाघकै रूपमा उभ्याउन सफल भयो । पहिलो संविधानसभाको चुनावमार्फत १२० सिटसहीत पहिलो पार्टी बनेको माओवादी २०७० को चुनावमा भने सुलुत्तै चिप्लिएर तेस्रो दलमा खुम्चन पुग्यो । त्यसपछिको चुनावी यात्रा माओवादीका लागि सधैं दुखद रह्यो । बाघ बन्दै आएको माओवादी बाच्छोकै गति र नियति झेल्दै ओरालोतर्फ उन्मुख भयो । बाछो न हो, त्यसमाथि ओरालो लाग्दै गरेको बाछो । हरिणले नखेद्ने त कुरै भएन । त्यो खेदाई र पेलाई यसपटक भने छताछुल्ल भयो र माओवादीको यात्रा सरकारबाट सडकमा आयो ।

त्यसो त २०६४ सालको संविधानसभा चुनावमा माओवादी पहिलो दल बन्नुमा खासगरी दुईवटा कारण प्रमुख थियो । एउटा कारण त्रास र अर्को कारण आश । भर्खरै युद्धमोर्चाबाट शान्तिको शिविरमा आएका माओवादीसँग जनताको ऊबेला एक किसिमको त्रास थियो नै । भोलि चुनाव जितेनन् भने फेरि जंगलमा फर्कन्छन् र देश अहिंसाको आगोमा दनदनी बल्ने छ भन्ने त्रासले माओवादीको भकारीमा भोट खन्याउदिए । कहीँ न कहीँ जनतामा एकप्रकारको डर थियो ऊबेला । कतै आफूले भोट नदिंदा सुइँको पाएर ‘किन भोट नहालेको’ भनी भाटा हान्लान् कि भन्ने सन्त्रासले पनि माओवादीलाई पहिलो दल बन्न सहयोग पुर्‍यायो । अर्को कांग्रेस–एमालेको राजनीतिक फोहोरी खेलले वाक्क दिक्क भएका जनता माओवादीलाई हेर्न चाहन्थे । दश वर्ष जनयुद्ध लडेको दल, केही न केही त अवश्य गर्लान् कि भन्ने ठूलो आशाले पनि माओवादीलाई रुख जरा, सूर्य चन्द्रले मात्र हैनन् हिजो माओवादीबाट प्रताडित भएकाहरूले पनि आँखा चिम्लेर भोट हालिदिए । जसको कारण माओवादीलाई ठूलो दल बन्नबाट कसैले रोक्न सकेन । तर विडम्बना, यो सफलतालाई माओवादीले संरक्षण गर्न सकेन ।

अठार वर्षको अन्तरालमा प्रत्यक्षतर्फ १२० बाट १८ सीटमा झर्दा पनि माओवादी र यसको नेतृत्वले आत्मअनूभूति गर्न सकेको छैन ।

प्राप्त उपलव्धीको रक्षा गर्दै थप उपलव्धी हासिल गर्नेतर्फ उसले न त सोच्न सक्यो, न केही गर्न नै सक्यो । जनतातर्फ मुख देखाउनुको साटो दम्भको दैलोमा उभिएर सत्तातिर मुख फर्काई सत्ताकै सोमरसमा धुत भएर बस्न थाल्यो । एकप्रकारले जनतासँगको सम्वन्धलाई स्वाह गर्दै सत्ताको संभोगमा आल्हादित हुन थाल्यो । उसले बिर्सँदै गयो ती झुपडीहरू, ती निमुखाहरू जसले दश वर्षको महायज्ञमा माओवादीलाई साथ र सहयोग गरेका थिए । बिर्सँदै गयो ती पूर्व जनमुक्ति सेनाहरूलाई –जसले युद्धको महयज्ञमा आफू समिधा बन्दै, जल्दै क्रान्तिको आगो बालेका थिए । सहीद र बेपत्ता परिवारको संसर्गबाट सम्वन्ध विच्छेद गर्दै सिनो बनेर डुङडुङति गन्हाउँदासमेत आफू सिनोसँग साँटिएको उसले भेउ नै पाउन सकेन । अझ उदेक लाग्दो कुरा त आफू सानो हुँदै गएकोमा माओवादीले न त आत्मआलोचना गर्दै सच्चिने बाटो रोज्यो न सशक्त प्रतिपक्ष बनेर जनताको मूल एजेण्डामा संसदीय युद्ध लड्ने कल्पना नै गर्न सक्यो । जति जति सरकारमा गयो, त्यति त्यति आफ्नो दल ख्याउटे बन्दै गरेको यथार्थतालाई चटक्क बिर्सँदै गयो । परिणामहरू प्रतिकूल भइरहँदा पनि आत्मसमीक्षाका लागि आँट गर्न सकेन, न कि सशक्त प्रतिपक्षको भूमिकाबाट कुनै दिन म अग्लो पहाड भएर ठिङ्ग उभिन सक्छु भन्ने हिम्मत नै गर्न सक्यो । बरु सत्ताकै माखेसाङ्लोमा रुमल्लिरह्यो ।

कुहिरोको कागजस्तै दिशाविहीन भएर पखेटा फट्फटाइरह्यो । सत्ताको लागि जस्तोसुकै हर्कत गर्न र जोसँग पनि गठबन्धन गर्न मरिहत्ये गरिरह्यो । जुन माओवादीका लागि प्रत्युपादक सावित हुँदै गयो । सानो मान्छेको ठूलो स्वर गर्दै सत्ताको सर्वोच्चतामा आफूलाई स्थापित गर्न कहिले दायाँ त कहिले बायाँ कदम चाल्दा सिंगो पार्टीकै सन्तुलन गुम्यो । गुम्यो आफ्ना जब्बर नीति, विचार र सिद्धान्तहरू । दर्शनका दस्तावेजहरू ब्यवहारतः दोग्ला बन्न थाले । क्रमशः पार्टीभित्र व्याप्त (थ्रिसि) को अवधारणा अर्थात कमाण्ड, कन्ट्रोल र कम्युनिकेशन एकादेशको कथा बन्न थाल्यो । जसले न त नेतालाई कार्यकर्ताको चासो भयो, न त कार्यकर्ताले नेताबारे थाहा हुने अवसर ।

यसबीच बैदेशिक शक्तिकेन्द्रको साजिस वा आन्तरिक शक्तिको खिचातानीका कारण बैद्य बाबुराम, विप्लवजस्ता महारथीहरूले माओवादीको युद्धमोर्चा छाडेर आफ्नै मोर्चा कस्न थाले । परिणामतः माओवादी बाहिरबाट हेर्दा सग्लो र राम्रो तर भित्रभित्र कुहिएको फर्सी जस्तै भयो । सेना समायोजनपछि बाँकी अयोग्य लडाकू र अर्धसैन्य दस्ता वाइसिएललाई गतिशील बनाएर उत्पादनमा लगाउन नसक्नुले पनि माओवादीले ठूलै मूल्य चुकाउनु पर्‍यो । खासमा यसको विघटनसँगै माओवादीको यात्रा ओरालो लागेको घाम जत्तिक्कै छर्लङ्ग छ । ६३ सालबाट यता १८ वर्षको इतिहासमा माओवादी नेतृत्वको ४ पटक सरकार बन्यो र १४ वर्ष त सरकारमा रह्यो तर जनतालाई डेलिभरी दिन नसक्दा जनता आफै माओवादीबाट दिक्क भए र साइजमा राखे । जनताले जुन साइजमा माओवादीलाई राखे माओवादीले त्यसको मर्मलाई बुझ्नसम्म पनि यत्न गरेन । बरु उल्टै पार्टीभित्र व्यक्तिवाद, परिवारवाद र अवसरवाद हावी हुँदै गयो । यसलाई नियन्त्रण र निर्मूल गर्न माओवादीले न त कुनै विधि बनाउन सक्यो, न कुनै नीति नै । जसले गर्दा जसको शक्ति उसको भक्तिको भजनकीर्तिनले माओवादीको रणनीतिक विचारधारामा विकास र गति लिन सकेन । फलत : इस्पात जस्ता नेता, कार्यकर्ता स्खलनको बाटो नै बाटो हिँड्दा माओवादी पार्टी आफैमा बर्बराउने र हराउने सिवाय केही हुन सकेन ।

अठार वर्षको अन्तरालमा प्रत्यक्षतर्फ १२० बाट १८ सीटमा झर्दा पनि माओवादी र यसको नेतृत्वले आत्मअनूभूति गर्न सकेको छैन । हामी कहाँ कसरी चुक्यौं ? ओरालो यात्राको अन्तर्य के हो ? भन्नेतर्फ अध्ययन र आत्मआलोचना गर्नु त कता हो कता ‘आत्था’ सम्म पनि नभन्ने प्रवृत्तिले कुनै दिन माओवादी इतिहासमा नै त सीमित हुने होइन ? भन्ने प्रश्न उब्जेको छ । अस्ति भर्खर कांग्रेस र एमालेले गर्धन मिलाएपछि यतिखेर माओवादी सत्ताबाट फेरि एकपटक च्यूत भएको छ । जनताबाट अनि सरकारबाट सकिँदै सकिँदै जान लाग्दा पनि माओवादीभित्र चेत नआउनु उड्दा उड्दैको चङ्गा चैट हुनुको संकेत हो । बरु ‘पख् तेरो सरकार ढाल्छु’ भन्दै अझै जालसाजीको तानावाना बुन्ने प्रयत्न गरिरहेको र गरिरहनेछ । आफू सर्वशक्तिमान बन्ने ध्याउनामा माओवादी नेतृत्वले न त आफूबाट बिच्केका बैद्य, बाबुराम, विप्लव र बादलहरूलाई समेट्ने कोशिश गरेको छ । न त नयाँ नयाँ एजेण्डासहीत जनताकहाँ जाने नयाँ योजना नै बनाउन सकेको छ । 

हो, पक्कै पनि माओवादीले भूईँको टिप्न खोज्दा खल्तिको झर्दै र रित्तिँदै गएको चालसम्म पनि पाउन सकेको छैन । भुईँकै टिप्दा पनि टिपिएकालाई सम्मान र संरक्षण गर्न नसक्दा खल्तिमा राखेकाहरू पनि भुइँतिर फर्कन थालेका छन् । एकातिर आफ्नालाई आफ्ना बनाउन नसक्नु र अर्कोतिर अरुलाई आफ्ना बनाउन खोज्नु अनि बनेकाहरूलाई उचित सम्मान गर्न नसक्नु, टिकाइ राख्न नसक्नु नै माओवादीका लागि आत्मघाति सिद्ध हुँदै आएको छ । ओरालो लागेर उठ्नै नसक्ने गरी बजारिँदा पनि माओवादीले पूर्व माओवादीहरूलाई माओवादीभित्र नै अटाउन सक्ने योजना, नीति र कार्यक्रम ल्याउनुको साटो उल्टै कहिले एमालेसँगको पार्टी एकीकरण र त कहिले समाजवादी मोर्चासँग श्वास सापटी लिएर कृत्रिम सास बाँचेको अभिनय गर्न खोज्नुले माओवादी पतनको प्रारम्भ भएको हो । कृत्रिम सासले केही बेर बचाउला, केही क्षणका लागि जीवनलाई गति देला । तर फेरि पनि कृत्रिम त कृत्रिम नै हो । जुन कुरा एमाले र माओवादी एकीकरणबाट जन्मेको नेकपाले पुष्टि गरिसकेको छ ।

जतिखेर माओवादीलाई पनि मै हुँ भन्ने मैमत्ता जागेको थियो तर कृत्रिम सास भरेर जीवन पाएको त्यो जीवन क्षणभंगुरमै ध्वस्त भयो । मोर्चासोर्चा बनाएर आफूलाई जीवन्त छु, शक्तिमान् र शाश्वत छु भन्ने विश्वास यदि माओवादीले साँचेको छ भने त्यो झन कालान्तरमा पिसाबको न्यानोपनभन्दा अरु केही होइन भन्ने यथार्थता ठस्स गन्हाएर चिसो अनुभूति भइसकेपछि प्रमाणित हुनेछ । यस्ता मोर्चा र सोर्चाहरू खासगरी बाँदरको पुच्छर लौरो न हतियार जस्तै हुनेछ । भलै यस्ता खाले संरचनाले आफू बलियो भयो भन्ने त लाग्छ नै तर यो भ्रमभन्दा केही हैन भन्ने सत्य माओवादीले बुझ्न जरुरी छ । सबैभन्दा पहिला त माओवादीले यी र यस्ता कृत्रिम सास फेरेर फूर्ति लगाउनुभन्दा पनि आफूबाट उछिट्टिएका र बिच्किएका पूर्व माओवादीहरूलाई एकताको सूत्रमा बाँध्दै गोलबन्द गर्नु सक्नुपर्छ र माओवादीको जीवनका लागि यो नै दीर्घकालिन र प्राकृतिक सास हुनेछ । जसले पार्टी जीवन गतिशील र उर्जामय बनाउन मद्दत गर्नेछ । टुटफुटबाट कोही उँभो लागेको इतिहास कतै छैन । कार्यकर्ताको सही व्यवस्थापन र परिचालन विना पनि पार्टीलाई उँभो लान्छु भन्ने सोच दिवास्वप्न सिवाय अरु केही नहुन सक्छ । ती कार्यकर्ता, ती समर्थक र शुभेच्छुकहरू चाहे पूर्व जनमुक्ति सेना हुन्, चाहे अयोग्य लडाकू हुन् वा चाहे शहीद बेपत्ताका परिवार र घाइते अपाङ्ग हुन् सबैलाई सही संवोधन र पार्टी पुनर्निर्माण गर्दै यो महान अभियानमा सामेल गर्न सक्नुपर्छ ।

कसैले ललाइफकाई गर्‍यो भनेर सरकारमा जानुभन्दा पनि दह्रो प्रतिपक्षको भूमिकामा अनुवन्धित हुँदै राष्ट्र र जनताको सर्वोपरी हितका लागि नयाँ नीति र कार्यक्रमसहीत संसदमा मात्र हैन जनताको आँगनमा पनि प्रस्तुत हुन सक्नुपर्छ । सरकारमा रहँदा गरिएका राम्रा कामको प्रचारप्रसारलाई तीव्र बनाउन सक्नुपर्छ । सञ्चारको सशक्तता र सामाजिक सञ्जालको सबलतालाई ध्यानमा राखी सोहीअनुरूप नेता, कार्यकर्ता चल्न सक्नुपर्छ । एक तह र तप्कालाई लागेको छ माओवादी अब सकियो भनेर । घाट पुर्‍याएको मान्छे त जीवित भएर फर्केको दृष्टान्त छ भने यो त एउटा पार्टी न हो – बस् जनताको मन जित्न सक्नुपर्छ, नेतृत्वले मेरो गोरुको बाह्रै टक्का भन्ने भावना छाड्न सक्नुपर्छ । क्रमशः पार्टी आफै बन्नेछ । हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु बुद्धिमत्ता हुनेछ । हो, माओवादीमा यतिखेर अनिकाल लागेको छ, त्यो हो जनमतको अनिकाल ।

तर गएको निर्वाचनमा माओवादीले जति भोट समानुपातिकमा पाएको छ, ती भोट भनेको सही भोट हुन् । टुटफुट, नैराश्यता र गुटउपगुटको बाबजुद पनि माओवादीले पाएको त्यो शुद्ध मत हो र यो नै माओवादीको बीउ मत पनि हो । जनमतको अनिकाल शुरु भएको संगीन घडीमा माओवादीले अब त्यही बीउ मतको सही सदुपयोग, परिचालन र संवोधन गर्न सक्नुपर्छ । त्यसो भएको खण्डमा नेपाली राजनीतिमा माओवादी पुनरागमनको संभावनालाई नकार्न सकिँदैन । हो, यी कुराहरू माओवादीका नेतृत्वलाई थाहा नभएको पनि होइन, न त नेता र कार्यकर्ता बेखबर छन् । फेरि पनि बुझेर बुझ पचाइको परिणाम अहिले माओवादीले झेल्दै छ र भनिरहनु पर्दैैन यसरी नै बुझ पचाउँदै जाने हो भने एकदिन पार्टी एकादेशको कथामा लेखिनेछ, पढिनेछ र देखिनेछ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू