त्यो माओवादी र यो माओवादी

त्यो माओवादी र यो माओवादी
सुन्नुहोस्

दश वर्षे जनयुद्ध गरेर ०६३ सालमा शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा (माओवादी केन्द्र) का केही नेताको यतिबेलासम्म आइपुग्दा राम्रैसँग बर्गोत्थान भएको त छ तर पार्टीको जनविश्वास भने गिरेको छ । ०६३ अघिको माओवादी पार्टी ‘चेन अफ कमाण्ड’मा आधारित थियो, अनुशासन थियो । अहिले चेन चुँडालिएको छ, कमाण्ड कमाण्डरबिनाको मोर्चाझैँ बनेको छ । 

तर, अहिले पार्टी उँभो होइन, उँधो गतिमा छ । नेता तथा कार्यकर्ता शहरभोगी, सुखभोगी, जागिरभोगी, गुटगत मानसिकताभोगी, दलाली, चाकरी, चाप्लुसीभोगी, नातावाद कृपावादभोगी, दलालभोगी, कमिशनभोगी, छलछाम, झुटभोगी, हुँदा यो पार्टी हिजो पञ्चायती शासनकालको भन्दा पनि डुङडुङ्ती गनाउने भएको छ । साँच्चै भन्नुपर्दा माओवादी पार्टी माओको सिद्धान्तमा अब झिँगाको टाउको जति पनि बाँकी छैन भन्दा पनि हुन्छ । पार्टीको नाम माओवादी राख्दैमा ऊ राम्रो, जनमुखी हुनेभए सबै बुद्धिबहादुरहरू बौद्धिक र वीरबहादुरहरू किन निडर हुँदैनन् ? यो त नाम एउटा र काम अर्कैजस्तो भएको छ । जनतालाई झुक्याउने र सत्ताको खेलमा अर्काको बैसाखी टेकेर गोल हान्न खोज्ने तर त्यो भद्रगोलमा परिणत हुने देखिँदै गएको छ । 

रूपान्तरण अभियानबारे

गत वर्ष माओवादीले जनतासँग पार्टीको निकट सम्बन्ध स्थापना गर्ने, जनतासँग जोडिने भन्दै नेता र कार्यकर्तामा रूपान्तरणको आवश्यकता महसुस गर्दै चार महिने कार्यक्रम सञ्चालन गर्‍यो । प्रज्ञा भवनमा सम्पन्न केन्द्रीय समिति बैठकले यो कार्यक्रम तय गरेको थियो । शहर बजारमा बसेर, मीठो मसिनोमा भुलेर, शरीरमा बोसो भरिएका र महँगा जिम हलमा ‘एक्सरसाइज’ गरेर बोसो पगाल्न थालेका केही थान नेता गाउँ पुगे र जनताको काम, दैनिक सुख–दुःख, समस्या, पीडा, श्रम आदिबारे जानकारी लिने काम गरे । कतिपय ‘कामचोर’ नेताले त जिल्ला सदरमुकाम पुगी होटलमा बसेर जनतासँगै श्रममा जोडिएको बहाना गर्दै फोटो खिचेर सामाजिक सञ्जालमा रंग्याउँदै उपल्लो तहका नेतालाई मख्ख पार्नसमेत भ्याए ।

कतिपय बिचौलियाले उक्त अभियान प्रचारको जिम्मा लिएर केही उपकरण (महँगा क्यामेरा, ल्यापटप, फेसबुक पेज बुस्टिङ, अनलाइन सञ्चालन, आइसिटी) खरिद गरेको फर्जी बिल पार्टीमा बुझाई रकम असुल्न भ्याए । अझै तिनैले माओवादी सिद्धान्तबारे, सुशासनबारे, भ्रष्टाचारबिरुद्धबारे गफ दिँदै हिँडेको र अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री प्रचण्ड र उनको सचिवालयका केही कर्मचारीलाई गुमराहमा (भुलभुलैया) पार्ने काम पनि गरे । यसले गर्दा उक्त रूपान्तरण अभियान देखाउने दाँत मात्र भएको धेरै इमान्दार र स्वाभिमानी कार्यकर्ताले अझै चिया–चौतरीमा गफ गरेको भेटिन्छ/सुनिन्छ । उनीहरू भन्न थालेका छन्, ‘रूपान्तरण अभियानले पार्टी रूपान्तरण होइन, केही नेताको खल्ती रूपान्तरण गर्ने कामचाहिँ राम्रैसँग भएछ ।’ 

गिर्दाे साख

गत शुक्रबार प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत पाउन सकेनन् । उनको सरकार ढलेर संसदमा सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बनेका छन् । विश्वासको मतका लागि भएको मत विभाजनमा प्रचण्डले ६३ मत मात्रै पाए । ०७९ पुस १० गते प्रचण्ड पहिलोपटक एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । उनले ०७९ पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला उपस्थित २७० सांसदमध्ये प्रचण्डले २६८ मत प्राप्त गरेका थिए ।

त्यसपछि ०७९ फागुन दोस्रो साता सत्ता सहयात्रीहरू परिवर्तन गरे । सहयात्री फेरबदल भएपछि दोस्रो पटक ०७९ चैत ६ गते विश्वासको मत लिए । त्यतिबेला १७२ सांसदको समर्थन पाए । त्यसपछि उनले फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिए । त्यतिबेला १५७ सांसदले पक्षमा मतदान गरेका थिए । चौथोपटक २०८१ चैत ७ गते विश्वासको मत लिए । त्यतिबेला उपस्थित सांसदमध्ये १५८ जना मतदान प्रक्रियामा सरिक भए । जसमध्ये पक्षमा १५७ मत परेको थियो ।

कहिल्यै बिर्सन नसक्ने अंक ६३

माओवादीका लागि कहिलै बिर्सन नसक्ने अंक ६३ रह्यो । शान्ति प्रक्रियामा आउँदा ०६३ मा माओवादी भुइँमान्छेको सपना थियो, आदर्श थियो । सडकको बाघ थियो । यसपटक ६३ मत दिएर माओवादीलाई दह्रो झापड दिए । केही महिनाअघि १५७ मत ल्याएकालाई ६३ मै खुम्च्याइदिए । ०६३ सालमा माओवादीसँग बहुसंख्यक जनता थिए । सुदृढ पार्टी थियो । त्यतिबेला राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा स्थापित नेताहरू, जसले पुष्पकमल दाहाललाई (प्रचण्ड) बनाउन वैचारिक, राजनीतिक, संगठन र संघर्षबाट विशिष्ट योगदान दिएका थिए, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल, सिपी गजुरेलसहितका हजारौं नेता तथा कार्यकर्ता एउटै पार्टीमा थिए । सुनकाण्डसहित कुनै घोटालामा नमुछिएकाले नैतिक शक्ति थियो । तिनले अपिल गर्दा हजारौं, लाखौं सडकमा उत्रिन्थे ।

आज ६३ बाट माओवादी लखेटिँदा अपमान र पराजयको, निराशा र उपेक्षाको नम्बर भएको छ । त्यतिबेला माओवादीसँग कोही प्रधानमन्त्री भएका व्यक्ति थिएनन् र मन्त्री पनि थिएनन् । अहिले भूपू प्रम, मन्त्रीको भीड छ तर तिनका अपिलले जनता सडकमा आउँदैनन् । त्यो बलवान ०६३ बाट यो अपमानको ६३ सम्म आउँदा धेरै नेता तथा कार्यकर्ताको वर्गाेत्थान भएको छ तर जनविश्वास गुमेको छ । सबैभन्दा चिन्ताको कुरा भुइँमान्छेको भरोसा धर्मराएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू