रास्वपाको निर्णयमाथि ढकालको चुनौती, निर्वाचन आयोगमा पत्र दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पूर्ण जिम्मेवारीबाट हटाइएका डा. मुकुल ढकालले आफूमाथिको कारबाहीविरुद्ध निर्वाचन आयोग गुहारेका छन् ।
रास्वपाले गरेको कारवाहीको निर्णय अवैधाननिक रहेको दाबी गर्दै उनले आज आयोगमा निवेदन दिएका हुन् । प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गरि लेखिएको पत्रमा कारवाहीसम्बन्धी निर्णयको औपचारिक जानकारीसमेत आफूलाई प्राप्त नभएको उल्लेख गर्दै विवरण अद्यावधिक नगर्न आग्रह गरिएको छ ।
'असार २५ २०८१ मा मैले सञ्चार माध्यमबाट मलाई पार्टी महामन्त्री, पार्टी प्रवक्ता एवं केन्द्रीय समितिको सदस्यबाट पद मुक्त गरिएको जानकारी पाएँ । यद्यपि मैले पदमुक्तबारेमा पार्टीबाट कुनै पनि पत्र प्राप्त गरेको छैन', पत्रमा लेखिएको छ, 'यस सम्बन्धमा त्यस प्रकारको निर्णय भएको रहेछ भने त्यो अवैधानिक रहेको र त्यस अवैधानिक निर्णयलाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम तीस दिनभित्र अद्यावधिक गर्नका लागि त्यस आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अद्यावधिक नगर्नका लागि यो पत्र माननीयज्यूसमक्ष पेश गरेको छु ।'
डा. ढकालले आफूमाथिको कारवाही अवैधानिक हुनुका पाँच वटा कारणसमेत खुलाएका छन् । जसमा कारवाहीको निर्णय गर्नुअघि सफाइको मौका दिन पाउने रास्वपाको विधान पालना नभएको, लोकतान्त्रिक मूल्य, मान्यताको बर्खिलाप रहेको, महासचिवको अनुमतिमा बैठक बोलाउने विधानको व्यवस्था विपरित एकलौटी बैठक बसाएको, पार्टीमा फरक मत राख्न पाउने संविधान र राजनीतिक दल सम्बन्धी कानुन कुल्चिएकाले कारवाही विधिसम्मत नभएको जिकिर गरिएको छ ।
ढकाललाई रास्वपा केन्द्रीय समितिको बैठकले असार २५ गते पदबाट हटाउने निर्णय गरेको थियो ।
टिप्पणीहरू