सुत्केरीको ज्यान गएपछि शिर मेमोरियल अस्पताल र आफन्तबीच सहमति

सुत्केरीको ज्यान गएपछि शिर मेमोरियल अस्पताल र आफन्तबीच सहमति

काभ्रेपलाञ्चोकको बनेपास्थित शिर मेमोरियल अस्पतालमा प्रसूतिलगत्तै सुत्केरीको ज्यान गएको घटनामा मृतकका आफन्त र अस्पताल प्रशासनबीच पाँच बुँदे सहमति भएको छ । 

बनेपा नगरपालिका–३, बस्ने ईश्वरी सुन्दास गत बुधबार प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् । शुक्रबार राति उनले छोरा जन्माइन् । तर, अत्यधिक रक्तश्रावका कारण अस्पतालमा उनको पाठेघरको शल्यक्रिया गरिएको बताइएको छ । 

शल्यक्रियापछि सुत्केरीको निधन भएपछि उपचारमा लापरबाही भएको जनाउँदै आक्रोशित आफन्तले हिजो अस्पतालमा तोडफोड गरेका थिए । आज अस्पतालका प्रतिनिधि र मृतकका आफन्तबीच भएको छलफलमा सहमति जुटेको हो ।

सहमतिमा अस्पतालले नवजात शिशुको डिस्चार्ज नभएसम्मको सबै खर्च मिनाहा गर्ने उल्लेख छ । त्यस्तै, नवजात शिशुसहित ईश्वरीका अर्का एक सन्तानलाई कुनै रोग लागेमा २२ वर्षको उमेरसम्म अस्पतालले निःशुल्क उपचार गर्ने भनिएको छ ।

मृतकका श्रीमान विकास सुन्दास वा निजले सिफारिस गरेको कुनै एक व्यक्तिलाई अस्पतालमा उपलब्ध हुनसक्ने सेवामध्ये योग्यता र क्षमताअनुसारको रोजगारीको व्यवस्था मिलाउने भनिएको छ ।

दुई शिशुको शिक्षाका लागि स्थानीय शैक्षिक संस्थाहरुमा हुनेसम्मको सहुलियतका लागि अस्पताल तथा स्थानीय तहबाट आवश्यक सिफारिस गर्ने र अस्पतालले मृतकको अन्तिम दाहसंस्कारको व्यवस्था मिलाउने सहमति भएको  छ । 

सहमतिपत्रमा मृतकका श्रीमान विकास, जेठाजु अर्जुन सुन्दाससहित अस्पतालकी प्रमुख चिकित्सा अधिकृत डा.एन्जिला बस्नेत, प्रमुख वित्त अधिकृत सूर्यप्रभा शाक्यलगायतले हस्ताक्षर गरेका छन् ।

टिप्पणीहरू