अस्ताए बालगायक सचिन, बाबुमाथि अनेक आशंका
मौलिक लवज, तिखो स्वर र चाखलाग्दो संवादका कारण चर्चित थिए- बालगायक सचिन परियार । निमोनिया र मस्तिष्कमा पानी जम्ने समस्याबाट ग्रसित उनले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा आज बिहान प्राण त्यागे ।
मेडिकल साइन्सको दृष्टिबाट हेर्दा रोगकै कारण सचिनको निधन भएको हो भन्नेमा सन्देह छैन । तर, यतिबेला उनको निधनमा बाबु तेजेन्द्र परियारलाई जोडेर सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ ।
युट्युब र टिकटकबाट एकाएक उदाएका सचिन एक प्रकारले सेलिब्रेटी बनेका थिए । तर, १३ वर्षको कलिलो उमेरमै उनले संसारबाट बिदा लिए । उनको निधनपछि सामाजिक सञ्जालमा विभिन्नखाले टिकाटिप्पणी भैरहेको छ । पारिवारको हेरचाह, स्याहार सुसार र समयमै उपचार नपाएका कारण सचिनको मृत्यु भएको धेरैको बुझाई छ ।
उनको उपचारका लागि देश तथा विदेशबाट जम्मा भएको लाखौँ रकम दोहोरी साँझ र नाइट क्लबमा उडाएको आरोप बाबु तेजेन्द्रमाथि लागेको छ । आरोप पुष्टि हुने केही आधारहरु पनि छन् ।
विद्यालयबाट निकाल्नु
आजभन्दा पाँच वर्षअघि पहिलोपल्ट सामाजिक सञ्जालमा देखिएका थिए, सचिन । एक युटुबरले उनले गाएको गीत र संवादको भिडियो सार्वजनिक गरेपछि उनी एकाएक चर्चामा आए । त्यसपछि अरू युटुबरहरू पनि पछि लाग्न थाले र रातारात भाइरल भए ।
भाइरल भएपछि केही युटुबरले सचिनलाई काठमाडौँ ल्याएका थिए । दुई चार वटा गीत पनि रेकर्ड गराइदिए । म्युजिक भिडियो खेलाए । यहीक्रममा सचिनले महानायक राजेश हमालसँग स्क्रिन शेयर गर्ने मौकासमेत पाए । उनको ‘के छ हजुर ?’ भन्ने मिठास प्रश्नमा महानायक हमाल लठ्ठ परेको भिडियो अहिले पनि समाजिक सञ्जालमा देख्न सकिन्छ ।
खैर, जे भए पनि सचिनले जीवनको लय पाइरहेका थिए । काठमाडौँ आएको केही महिनामै उनले एक विद्यालयमा निशुल्क पढ्ने अवसर पाए/दिलाइयो । विडम्बना !, ठिक त्यहीबेला बाबु तेजेन्द्र ‘खलनायक’ बनेर आए ।
बाबुलाई ‘खलनायक’ भन्न मिल्छ ? यो प्रश्न धेरैको मनमा उठ्न सक्छ । तर यसको जवाफ सिधा छ- ‘मेरो छोरोलाई म आफै पढाउँछु, अरुको सहयोग चाहिंदैन’ भन्दै उनले सचिनलाई विद्यालयबाट निकाल्नु पहिलो गल्ति थियो ।
अझै सुक्ष्म रुपमा केलाउने हो भने, त्यतिबेला तेजेन्द्रले सही नियत राखेर छोरालाई विद्यालयबाट निकालेका थिएनन् । सचिनलाई आम्दानीको स्रोत बनाउनु उनको मुख्य उद्धेश्य रहेछ भन्ने कुरा समयक्रमसँगै क्रमश: सावित हुँदै गयो ।
तेजेन्द्र बेरोजगार थिए । झगडा गरेर माइत हिँडेकी श्रीमतीको वास्ता थिएन । जहाँबाट दुई चार पैसा आउने देखिन्छ, उतै लाग्थे उनी । तर, जब छोरो सचिन भाइरल बने, उनको दिमागमा खुरापाती चल्न थाल्यो । छोरोको लोकप्रियता बेचेर सजिलै पैसा कमाउने ‘सर्टकट’ बाटो अपनाए ।
सचिनलाई कहिले मेला-महोत्सवमा पुर्याए त, कहिले दोहारी साँझमा । र, त्यहाँबाट आम्दानी भएको पैसा मोजमस्तीमा उडाए ।
दाताहरुको पैसामा रक्सी पार्टी
कम्जोर स्वास्थ्य अवस्था अनि बढ्दो उमेरका बालक सचिनलाई पोषणयुक्त खाना आवश्यक थियो । तर, बाबुबाट उनले त्यसप्रकारको खाना र हेरचाह पाएनन् । पुस-माघको जाडोमा समेत एकसरो पातलो कपडामा देखिन्थे । उनको खाना प्राय: चाउचाउ हुन्थ्यो । जबकि उनकै आम्दानीले पोषणयुक्त खाना र मौसम अनुकूल कपडा लगाउन पर्याप्त हुने स्थिति थियो । दुखद कुरा, नाबालक छोराले कमाएको पैसा तेजेन्द्रले रक्सी र युवतीमा उडाए ।
सचिन गत वर्ष चैतमा गम्भीर विरामी परेका थिए । सामखुशीस्थित ग्रिनसिटी अस्पतालमा भर्ना गरिएका उनको उपचारको लागि देश-विदेशबाट दाताहरुले लाखौँ रकम सहयोग गरेका थिए । निकट स्रोतका अनुसार त्यतिबेला झण्डै १७ लाख जम्मा भएको थियो । र, ग्रिनसिटी हस्पिटलमा करिब साढे तीन लाख बिल आएको बताइन्छ ।
तेजेन्द्रले चाहेको भए उतिबेला बाँकी रहेको पैसाले बाबुछोराको नयाँ जीवन शुरु गर्न सक्थे । तर, उनले रक्सी खाएर युटुबरहरुलाई अन्तर्वार्ता दिँदै हिँडे । सचिन हस्पिटलबाट डिस्चार्ज भएपछि बचेको पैसा दोहोरी साँझको मोजमस्तीमा उडाएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
सचिन साताअघि महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा भर्ना हुँदा पनि तेजेन्द्रले सामाजिक सञ्जालबाट पैसा नभएको पीडा सुनाएका थिए । तर, अघिल्लो पटक सहयोग गरेर पछुलो मानेका दाताहरुले यसपटक भने चासो देखाएनन् । यद्यपि, अस्पताल व्यवस्थापनले सचिनको नि:शुल्क उपचार गर्ने विश्वास दिलाएको थियो । विडम्बना !, उनी उपचारकै क्रममै संसारबाट बिदा भएका छन् ।
शुभचिन्तकहरु आक्रोशित
सचिनको निधनमा शुभचिन्तकहरु जति दु:खी छन्, त्यो भन्दा धेरै तेजेन्द्रप्रति आक्रोशित ! उनकै लापरवाहीको कारण सचिनले ज्यान गुमाउनुपरेको कैलाश सुवेदी बताउँछन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यस्तो बुबा कसैलाई नपरोस्, उसले चाहेको भए आफ्नो र छोरोको भविष्य उज्यालो बनाउन सक्थ्यो । तर यति बुझ्ने दिमाग कहाँ थियो र ।’
मिरा रसाईलीले पनि तेजेन्द्रप्रति आक्रोश पोखेकी छन् । सचिनमाथि बाल शोषणसमेत भएको उल्लेख गर्दै भनेकी छन्, ‘सचिनले आज यो संसार छोड्नुको एक मात्र कारण कलौटे हो । छाेराे हप्काउने, थर्काउने अनि आफूलाई रक्सी र केटीसँग मोज गर्ने । उतिबेला हामीले गरेको सहयोग रकम सदुपयोग गरेको भए आजको दृश्य अर्कै हुन्थ्यो ।’
यदि भगवान छन् भने तेजेन्द्रले कहिल्यै क्षमा नपाउने सुशिला बस्नेतको तर्क छ । ‘बाबुको आत्माले स्वर्गमा बास पाओस् भन्ने कामना गर्छु । र यदि भगवान छन् भने उनका बुबाले कहिल्यै क्षमा पाउने छैनन् । यस्तो बुबा कसैलाई नपरोस्’, उनी भन्छिन् ।
टिप्पणीहरू