तपाईंले खाने पानीको परीक्षण भइरहेको छ त ?
भरतपुरमा केही दिनअघि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा पुग्दा पानी परीक्षण प्रयोगशालामा शक्तिखोरका एकजना भेटिए । कालिका नगरपालिका निवासी सुवास भण्डारी खानेपानीको नमूना लिएर परीक्षणका लागि आएका थिए । भण्डारी कालिकाका कुखुरापालन व्यवसायी हुन् । एक पटकमा चार–पाँच हजार ब्रोइलर कुखुरा पाल्दा पछिल्लो पटक एकैलटमा ६–७ सय कुखुरा मरेको उनले बताए । भेटेरिनरीमा परीक्षण गराउँदा इकोलाइको कारण कुखुरा मरेको पाइएपछि खानेपानी परीक्षण गराउन ल्याएको उनले जनाए ।
मानिस वा पशुपक्षीको दिसाजन्य फोहोर कुनै स्रोत वा माध्यमबाट खानेपानीमा मिसिन गएमा त्यो पानी पिउने मानिस र पशुपक्षीसमेत इकोलाइको शिकार हुन सक्छन् । जानकारी रहोस्, ८० प्रतिशतभन्दा बढी सरुवा रोग मानिसलाई खानेपानीकै माध्यमबाट लाग्नसक्ने विज्ञहरु बताउँछन् ।
यहाँ दिनहुँजसो खानेपानीको नमूना परीक्षणका लागि आउने गरेको प्रयोगशाला प्रमुख योगेन्द्र नारायण देवले बताए । गत मंसिरमामात्रै खानेपानीको ३८ वटा नमूना परीक्षण गरिएको जानकारी उनले दिए । पुषमा पनि हालसम्म १५ वटा नमूना परीक्षण भइसकेको छ ।
भरतपुरस्थित पानी परीक्षण प्रयोगशालामा चितवनको माडीदेखि छिमेकको नवलपरासीबाटसमेत परीक्षणका लागि आउने गरेका छन् । धेरैजसो खानेपानी आयोजनाबाट, व्यक्तिगत रुपमा, सरकारी कार्यालय, हस्पिटल, कुखुराफार्म, स्वास्थ्यचौकी, सेना–प्रहरीका ब्यारेक एवम् स्कूल÷कलेजहरुबाट खानेपानीको नमूना परीक्षणका लागि आउने गरेको देवले बताए । कार्यालयको तर्फबाट पनि बेलाबेलामा विभिन्न ठाउँमा पुगेर खानेपानीको शुद्धता परीक्षण हुँदै आएको जनाइएको छ । खानेपानीमा हानिकारक इकोलाइको मात्रा पाइएमा ब्लिचिङ पाउडर हालेर क्लोरिनेसन गर्ने गरिएको केमिष्ट योगेन्द्र बताउँछन् ।
हालैमात्र प्रयोगशालाको तर्फबाट फिल्डमै गएर भण्डाराछेउको खानेपानी परीक्षण गरिएको थियो । भण्डारा– ४, ५ र ६ नम्बर वडाको चौधरी गाउँमा २०–२५ घरको नमूना परीक्षण गर्दा खानेपानीमा इकोलाइको मात्रा निकै बढी पाइएको उनले बताए । ‘खानेपानीको ट्युबवेलहरु नालाकै छेउमा रहेको, कुखुरा–हाँसहरुको दिसापिसाब पनि भएको र गन्ध पनि आइरहेको थियो’, उनले भने । त्यहाँ भण्डारा दोस्रो खानेपानी योजनाबाट सुरक्षित खानेपानी वितरण भइरहेपनि ती घरहरुमा सरकारी लगानीको सदुपयोग नभएको उनको भनाइ छ ।
सरसफाइ र पानी अभिन्न अंग भएको उनी बताउँछन् । खानेपानीको स्रोतको नियमित सरसफाइदेखि लिएर धारा र ट्युबवेल वरपर सँधैं सफा राख्नुपर्ने, फोहोर पानी जम्न दिन नहुने, टुटी पनि बेलाबेलामा सफाइ गरिरहनुपर्ने र पानी राख्ने भाँडो पनि सफा हुनुपर्ने योगेन्द्र सुझाउँछन् । प्रदूषित पानीको प्रयोगबाट झाडापखाला, आउँ, हैजा, टाइफाइड, जन्डिसदेखि लिएर विभिन्न जटिल र प्राणघातक समस्या हुने गरेको छ ।
अचेल उत्पादन बढाउन खेतीबालीमा अत्यधिक मात्रामा रासायनिक मल र विषादीहरु प्रयोग गर्ने गरेको पाइन्छ । खेतबारीमा प्रयोग हुने रसायनको असर खानेपानीमा समेत पर्नसक्ने विज्ञको भनाइ छ । ‘खेतबारीमा युरिया मलको ज्यादा प्रयोगले सतहमुनिको पानीमा नाइटे«ड, अमोनिया जस्ता प्यारामिटर बढ्न जान्छ, पानीमा नाइट्रेडको मात्रा बढेको छ भने खेतबारीमा प्रयोग गरिने रासायनिक मलकै कारण हुनसक्छ’, योगेन्द्र भन्छन्, ‘यसले रगतमा अक्सिजनको मात्रा घटाएर मानिसलाई विभिन्न रोगको संक्रमण हुनसक्छ । अमोनिया क्यान्सरको कारण हो ।’ खानेपानीमा हुनसक्ने आर्सेनिक नामको हेभी मेटलले पनि मानिसलाई छालाको समस्या एवम् पत्थरीदेखि लिएर क्यान्सरसम्म हुन सक्ने, पानीमा धेरै क्याल्सियम (चुना) छ भनेपनि पत्थरी, छालाको समस्या, कपाल झर्ने समस्या हुनसक्ने उनले बताए ।
खानेपानी हाम्रो जिन्दगीको अभिन्न स्रोत हो । यसको हरेक घुट्की पिउँदा शुद्धताको सुनिश्चित हुनुपर्ने बताउँदै भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जय बराल भन्छन्, ‘स्रोत सफा भएपनि कहिलेकाहीँ पाइपमा हुने लिकेज÷सिपेज अनि धारामा हुने फोहोरको कारणले पानी प्रदूषित हुनसक्छ ।’ यो सम्भावनालाई मध्यनजर गर्दै मासिक रुपमा ३० वटा ग्राहकको रेन्डम सेम्पल लिई हाम्रो आफ्नै प्रयोगशालामा परीक्षण गरी पानीको शुद्धताको सुनिश्चित गर्ने गरेका छौं’, उनले भने ।
भरतपुर खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत ४६ वटा वेलबाट दैनिक रुपमा पानी उत्पादन गरी वितरण गरिँदै आएको छ । वेल निर्माणकै अवस्थामा पानीको शुद्धताको सुनिश्चितता भएपछि मात्रै उक्त ठाउँमा वेल निर्माण गर्ने गरिएको जानकारी गराउँदै प्रत्येक वेलको पानीका सूचकहरुको बोर्डले हरेक वर्ष परीक्षण गर्दै आएको पनि कार्यकारी निर्देशकले बताएका छन् ।
अहिले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट भरतपुरमा खानेपानीका चारवटा नयाँ योजना सुरु गर्ने तरखर पनि भइरहेको बुझिन्छ । गौरीगञ्ज, शुक्रनगर, गुञ्जनगर र बेलचोकमा खानेपानी आयोजना सञ्चालनको लागि अध्ययन सकेर अर्थ मन्त्रालयमा फाइल पुगिसकेको र स्रोत सहमति पर्खेर बसेको आयोजना प्रमुख सुन्दर सुवेदीले जानकारी गराएका छन् । कार्यविधिअनुरुप यही पुष मसान्तसम्म स्रोत सहमति भइसक्नुपर्ने प्रावधान छ । खानेपानी पु¥याउनेमात्र भन्दा पनि सबै ठाउँमा नियमित रुपमा गुणस्तरीय पानी वितरण गर्ने आफूहरुको लक्ष्य रहेको आयोजना प्रमुखले बताएका छन् । अहिले रत्ननगर नगरपालिकाको ७०–८० प्रतिशत भूभागमा २४ सै घन्टा पानी वितरण भइरहेको अवस्थामा माथि उल्लेखित आयोजनाहरु सञ्चालनपछि यहाँ पनि चौबीसैघन्टा गुणस्तरीय खानेपानी वितरण हुने उनले बताए ।
टिप्पणीहरू