सडकदेखि विद्यालयसम्म महिला ट्राफिक इन्सपेक्टरको प्रशंसा

सडकदेखि विद्यालयसम्म महिला ट्राफिक  इन्सपेक्टरको प्रशंसा
सुन्नुहोस्

हुस्सु र कुहिरोले ढाकेको पश्चिम तराईको सडकमा बेला बेला झुल्किने घामको उज्यालोसँगै सडकमा खटिने रञ्जु केसीको टिम कहिले विद्यालय, कहिले सडकमा देखिने गरेको छ । १७ डिग्री तापक्रमको मौसमी प्रतिकूलताको पर्वाह नगरी टाउकोमा सेतो ह्याट, निलो रङको सेतो लाइनिङ भएको पोशाकको काँधमा क्रस खुकुरीको बिल्लासहित उनी दौडिरहेको अवस्थामा भेटिन्छिन् । कठ्याङ्ग्रििँदो जाडोको पर्वाह नगरी उनी बिहानैदेखि साँझसम्म सडक र विद्यालयमा ट्राफिक शिक्षाबारे बताइरहन्छिन् ।

यो हप्ता मात्रै उनले भैरहवाको काशि नोबल एकाडेमी र भैरहवा नमूना उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई दुई दुई घन्टा सडक दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको बारेमा पढाइन् । काशिमा कक्षा ११ का ३० भन्दा बढी विद्यार्थी सहभागि थिए भने भैरहवा उच्च माविमा विज्ञान, आर्टस, कमर्स, शिक्षा संकायका ९४ जना सहभागी भएको बताइन्छ ।

समय मिलाएर विद्यालयमा विभिन्न संघसंस्थाको समन्वयमा हुने ट्राफिक सचेतना सम्बन्धी गोष्ठीमा आफु जाने गरेको उनले जानकारी दिइन् । भनिन, ‘ट्राफिक सचेतना, सडक दुर्घटना न्यूनीकरण बारेमा विद्यार्थीहरुलाई सम्झाउन सके, बुझाउन सके त्यसको असर सडकमा देखिने हुन्छ । यसैले सडकसँगै विद्यालयहरुमा पनि कक्षा लिन थालेको हो ।’

ट्राफिक इन्सपेक्टर रञ्जुको पढाउने शैलीले विद्यार्थीहरु पनि लाभान्वित भएको भैरहवा नमूना उच्च माविका प्राचार्य चुन्नप्रसाद पाण्डेले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यलय रुपन्देहीको कार्यालय प्रमुख समेत रहेकी उनको जिल्लाको ट्राफिक व्यवस्थापन अर्को कार्यभार हो । जिल्लामा पाँच दर्जन बढी सुरक्षाकर्कीको सडकमा खटनपटन गर्छिन् ।

२९ वर्षीया युवती रञ्जुको कार्यशैली पनि गज्जबको छ । सडकमा हिँड्ने पैदल यात्रुहरुसँगको व्यवहार पनि अनुकरणीय छ । उनी मुस्कानसहितको सेवाको पर्यायवाची बनिरहेकी छन् ।

तस्बिरहरुः

टिप्पणीहरू