सुन काण्डमा हुण्डी कारोबार, डिजिटल वालेटको संलग्नता

सुन काण्डमा हुण्डी कारोबार, डिजिटल वालेटको संलग्नता

नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले डिजिटल भुक्तानीको संस्कारले दैनिकी सहज भए पनि यसको विश्वास जोगाइराख्न मुख्य चुनौती रहेको बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले डिजिटिल वालेटको कारण अवैध कारोबार बढ्दै गएको उल्लेख गरिन् ।

‘नेपाल राष्ट्र बैंकले २०८१ जेठ २१ गते सूचना जारी गरेर सजिलो–पे र पे–वेलको सम्पूर्ण बैंक खाताहरु रोक्का गर्यो, यी वालेटहरुले गरेको हुण्डी कारोबारको सम्बन्ध राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते बरामद गरेको ६० किलो ७ सय १६ ग्राम अवैध सुनसँग जोडिएको छ’, उनले भनिन्, ‘यी कम्पनीमार्फत् अवैध सुनको रकम भुक्तानी गरेको भेटियो ।’ 

सांसद घर्तीले वालेट कम्पनीहरुबाट अवैध रुपमा अर्बौ रुपैयाँको कारोबार भएकोतर्फ सरकारको ध्यानाकर्षण समेत गराएकी छन् । ‘यी कम्पनीले स्थापनाकालदेखि १ खर्ब २३ अर्ब ११ करोड रुपैयाँको कारोबार गरेका थिए, त्यसमध्ये ९६ अर्ब रुपैयाँ बराबरको रकम भौचर डिपोजिटबाट भएको देखियो, वालेट कम्पनीहरूले युटिलिटी पेमेन्ट नगरी अर्बौं रुपैयाँ अवैध रहेको हुण्डी कारोबार गरेको देखिएको छ’, उनले थपिन् । 

नेपालमा रहेका वालेट कम्पनीको प्रभावकारी नियमन र नियमित अनुगमन गर्नुपर्ने सांसद घर्तीको माग छ ।

टिप्पणीहरू