सचिवपछि अब फेरिने डिजीहरुको पालो

सचिवपछि अब फेरिने डिजीहरुको पालो

सरकार फेरिएसँगै प्रधानमन्त्री कार्यालय मातहतका विभाग र अर्थ मन्त्रालयअन्तर्गतका निकायहरुमा कर्मचारी प्रशासनको नेतृत्व पनि परिवर्तन हुने भएको छ । प्रधानमन्त्री कार्यालय मातहत सम्पत्ति शुद्धिकरण विभाग र राजश्व अनुसन्धान विभागका महानिर्देशकसँगै अर्थका विभिन्न निकायमा नयाँ गठबन्धन सरकारको रुचिअनुसार कर्मचारी सेट गर्न लागिएको छ । 

पावरफुल मिनिस्ट्री भनिने अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग, आन्तरिक राजस्व विभाग,ठूला करदाता कार्यालय,उच्चस्तरीय कर कार्यालयको नेतृत्व फेर्ने सरकारको तयारीसंगै त्यहाँको चिफ बन्न सहसचिवहरुको दौडधुप शुरु भैसकेको छ । करिब आधा दर्जन सहसचिव त्यस्तो दौडमा रहेको बुझिन्छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्ना विश्वासपात्रलाई ती अड्डाको जिम्मेवारी दिने सुरसार गरेपछि एमालेका केही नेता आफू नजिकका सहसचिवको पक्षमा भित्रभित्र पैरवी गर्न थालेका छन् । प्रशासनतर्फका सहसचिव भन्दा पनि राजश्व समूहकै अनुभवी व्यक्तिलाई जिम्मेवारी दिने सोच सरकारी पक्षको रहेको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जनआस्थालाई बताएको छ । 

बुझिएअनुसार सहसचिवहरु सुमन दाहाल,मदन दाहाल,दीर्घ मैनाली, सेवन्तक पोखरेल,तीर्थ चिलुवाल,चण्डी घिमिरे,बलराम रिजाल र राजेश्वर ज्ञवालीलगायत महानिर्देशक बन्ने दौडमा छन् । भन्सार विभागको महानिर्देशक रहिसकेका सुमन हाल संघीय मामिला तथा सामान्य प्रशासनमा कार्यरत छन् । 

राजश्व अनुसन्धानको महानिर्देशक भैसकेका मदन श्रम तथा रोजगार मन्त्रालयमा छन् । उनीसँग अर्थ मन्त्रालयको बजेट महाशाखामा काम गरेको अनुभव छ । दाहाल दाजुभाइले आन्तरिक राजश्व विभाग ताकेको चर्चा छ । 

आन्तरिक राजश्व विभागको महानिर्देशकका रुपमा काम गरिसकेका दीर्घ अहिले अर्थ मन्त्रालयअन्तर्गतको निकायमा कार्यरत छन् । उनलाई भन्सार विभागको महानिर्देशक बनाउने पक्कापक्की भएको कर्मचारीवृत्तमा गांइगुइ छ । 

पहिला भन्सार विभागको उपमहानिर्देशक रहेका सेमन्तक हाल आन्तरिक राजश्व विभागको उपमहानिर्देशक छन् । त्यस्तै, अर्थका क्याडर तीर्थ चिलुवाल मकवानपुरको प्रमुख जिल्ला अधिकारी छन् । यसअघि उनी वाणिज्य तथा आपूर्ति विभागको महानिर्देशक थिए । सेमन्तक र तीर्थले राजश्व विभागमा जाने आकांक्षा देखाएको बताइन्छ । 

यता,उध्योग तथा आपूर्ति मन्त्रालयमा रहेका चण्डी घिमिरे र ठूला करदाता कार्यालयको चिफ भैसकेका बलराम रिजाल पनि अर्थकै क्याडर हुन् । बजेट निर्माण प्रक्रियामा अब्बल ठानिएका बलरामले एनसेललाई कर तिराउन महत्वपूर्ण भूमिका खेलेका थिए । महानिर्देशक आकांक्षीको सूचीमा सहसचिव राजेश्वर ज्ञवालीको पनि नाम छ । 

अर्थमन्त्री पौडेल र प्रधानमन्त्री ओलीले अनुभवी मानिएका यी सहसचिव मध्येबाटै टिप्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतबाट थाहा भएको छ । तर, प्रधानमन्त्री कार्यालयअन्तर्गतका दुई महत्वपूर्ण निकाय राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागमा भने सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि आश गरेको छ । दुईमध्ये कुनै एक आफूले पाउनुपर्ने अडानमा रहेको कांग्रेसको कोटाबाट राजेश्वरले बाजी मार्ने सम्भावना छ ।

टिप्पणीहरू