राजीनामा नदिने, सँसद सामना गर्ने तयारी
नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने तयारीमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मतको सामना गर्ने भएका छन् ।
काँग्रेस र एमालेले पटक-पटक गरेको मार्ग प्रशस्तीको आग्रह अस्वीकार गर्दै आएका उनी विश्वासको मत लिने निधोमा पुगेका हुन् । आज प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
‘मेरो नेतृत्वमा गठित सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी केही राजनीतिक दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हुँदा संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मिति २०८१ साउन १८ गते शुक्रवारका दिन विश्वासको मत लिने भएको हुँदा सोअनुसार प्रदेश सभा वैठक व्यवस्थापन गरिदिनुहोला !', मुख्यमन्त्रीले पठाएको पत्रमा उल्लेख छ ।
शुक्रबार दिनको ४ बजे बैठक आह्वान गर्नका लागि प्राप्त पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएको सभामुख भीमबहादुर भण्डारीले बताए ।
केन्द्रमा जस्तै सुदूरपश्चिममा पनि कांग्रेस र एमालेको गठबन्धन बनेको छ । मुख्यमन्त्री साेडारीलाई नेकपा माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिकाे रञ्जिता पक्षका एक गरी जम्मा १५ जना सांसदको समर्थन छ । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन चाहिन्छ ।
टिप्पणीहरू