सेनाद्वारा भारततिर भगाइएकी "लोकपृय" प्रधानमन्त्री

सेनाद्वारा भारततिर भगाइएकी "लोकपृय" प्रधानमन्त्री

सारा विपक्षीलाई दबाएर लगातार तेस्रोचोटि अत्यधिक बहुमतसहित प्रधानमन्त्री जितेकी र सयौंको हताहतीपछि देश छोडेर भागेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतको शरणमा पुगेकी छन् । गत महिना शुरु भएको विद्यार्थी आन्दोलन चर्कंदै जाँदा उनको सत्ता मात्र ढलेन, देशसमेत छोड्न बाध्य हुनुपर्यो । 

आन्दोलनकारीहरु प्रधानमन्त्रीको सरकारी निवासमा छिरेपछि १५ वर्षयता लगातार सत्ताको बागडोर सम्हाल्दै आएकी हसिनाको देशवासीलाई सम्बोधन गर्ने इच्छासमेत पूरा भएन । देश छोड्नुअघि राजीनामा दिएर राष्ट्रको नाममा सँबोधन गर्ने चाहना थियो । तर, आरक्षण कोटाको विरोधमा उर्लिएको विद्यार्थी जुलुश यति भयानक भयो कि उनी भर्खरै नियुक्त काकाका ज्वाईं  सेनापति वकर उज जमानको सहयोगसहित हतारमा सैनिक हेलिकोप्टर चढेर भारततर्फ लाग्नुपर्यो । 

विभिन्न सञ्चार माध्यमहरुकाअनुसार हिजो सैन्य कारवाहीमा ९१ जनाले ज्यान गुमाएपछि आन्दोलन थप चर्किएको थियो । आज बिहानैदेखि आन्दोलनकारीहरुले प्रधानमन्त्री निवास गणभवन घेरेका थिए । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिए पनि ठूलो संख्यामा रहेका आन्दोलनकारीले अन्धाधुन्द ढुंगा प्रहार गरेका थिए । आन्दोलनकारीको संख्या यति धेरै थियो कि सुरक्षा संयन्त्रले नियन्त्रणमा लिन सकेन । 

सैन्य शक्तिको हिसाबले विश्वको ३७ औँ स्थानमा पर्ने बंगलादेशको सेना 'टेकओभर' को मनस्थितिमा रहेको बताइन्छ । बंगलादेशमा थल,जल र वायु सेना छन् । एक लाख ६३ हजार थल सेना छ । उनीहरुसँग ३६ वटा तोपखाना र ३२२ वटा ट्यांक रहेको छ । त्यस्तै, ६७ वटा मल्टिपल रकेट लन्चर पनि छन् ।

हुलका हुल आन्दोलनकारी प्रधानमन्त्री निवासभित्र छिरेर ढुंगामुढा गर्न थालेपछि अत्तालिएकी हसिनाले दिउँसो करिब २ बजेतिर सेना प्रमुख जनरल वकर-उज-जमानलाई राजीनामा दिने जानकारी गराउँदै देश छाड्न चाहेको खबर सुनाइन् । सेना प्रमुख जमानले पनि हसिनाको सुरक्षाको लागि अन्यत्रै जानुपर्ने कुरामा सहमति जनाएका थिए । 

वास्तवमा ढाका छाड्नुअघि हसिनाले सेनाप्रमुखसँग राष्ट्रलाई सम्बोधन गर्न चाहेको इच्छा व्यक्त गरेकी थिइन् । तर, निवास बाहिर झन् थपिँदै गएको आन्दोलनकारीकाे गतिविधिले त्यो सम्भव भएन । त्यसपछि उनले सेना प्रमुख जमानलाई नै आफ्नोतर्फबाट जनतालाई सँबोधन गरिदिन आग्रह गर्दै हेलिकोप्टर चढेको सञ्चार माध्यमहरुले जनाएका छन् । ठीक साढे दुई बजे गणभवनको मैदानबाट उनी भारततर्फ उडेकी हुन् । 

हसिनाले ढाका छाडेको एक घण्टामै सेना प्रमुख जमानले सञ्चारमाध्यममार्फत सँबोधन गर्दै राजीनामा पुष्टि गरे । र,सेनाकै नेतृत्वमा अन्तरिम सरकार गठन हुने जानकारी गराए । उनले भनेका छन्, 'हामीलाई विश्वास गर्नुहोस्,मौका दिनुहोस्, आन्दोलनमा मारिएकाहरुमाथि अनुसन्धान गरेर न्याय गर्नेछौँ । थप क्षति हुन नदिन हाम्रै नेतृत्वमा अन्तरिम सरकारको गठन हुनेछ । त्यसको लागि राजनीतिक दलहरुसँग संवाद शुरु भइसकेको छ । म आन्दोलनकारीहरुलाई संयमित हुन आग्रह गर्न चाहन्छु ।'

सेना प्रमुखको यो सँबोधनपछि नयाँ सरकारबारे विभिन्न अड्कलबाजी शुरु भैसकेको छ । सेनाले आफैँ अगाडि सरेर सरकारको नेतृत्व गर्छ वा राजनीतिक दलहरुबीच सहमति जुटाएर बाहिरबाट सहयोग गर्छ भन्ने स्पष्ट भैसकेको छैन । 

बंगलादेशको राष्ट्रिय राजनीतिमा चार वटा मुख्य दल छन् । हसिना नेतृत्वको बंगलादेश अवामी लिग सबैभन्दा ठूलो दल हो । त्यस्तै बंगलादेश नेश्नलिस्ट पार्टी,जातीय पार्टी (इर्सद) र कम्युनिष्ट पार्टी अफ बंगलादेश सक्रिय छन् । यदि सेनाले नै सरकारको नेतृत्व गरे राजनीतिक दलहरु आक्रामक हुनसक्ने अन्तराष्ट्रिय मिडियाहरुले टिप्पणी गरेका छन् । 

सेना प्रमुखको आशय भने आफ्नै नेतृत्वमा सरकारलाई अघि बढाउने देखिन्छ । सैन्य शक्तिको हिसाबले विश्वको ३७ औँ स्थानमा पर्ने बंगलादेशको सेना 'टेकओभर' को मनस्थितिमा रहेको बताइन्छ । बंगलादेशमा थल,जल र वायु सेना छन् । एक लाख ६३ हजार थल सेना छ । उनीहरुसँग ३६ वटा तोपखाना र ३२२ वटा ट्यांक रहेको छ । त्यस्तै, ६७ वटा मल्टिपल रकेट लन्चर पनि छन् । 

बंगलादेशी वायु सेना पनि सशक्त नै मानिन्छ । ऊसँग २१० युनिटको एयर क्राफ्ट,३६ वटा फाइटर जेट र ७३ वटा हेलिकोप्टर छन् । वायुसेनामा करिब २८ हजार सेना सक्रिय रहेको बताइन्छ । जल सेनासँग ७ वटा फ्रिगेट र दुई वटा सबमरिन (पनडुब्बी) रहेको बताइएको छ ।

टिप्पणीहरू