बाइडेनले स्वीकारे, ट्रम्पको धारणा झन् उग्र
अमेरिकी राष्ट्रपति जो बाइडेनले डेमोक्रेटिक पार्टी र अमेरिकाको बागडोरको जिम्मेवारी आगामी दिनमा उपराष्ट्रपति कमला ह्यारिसले सम्हाल्ने बताएका छन् । उनले ह्यारिसलाई राष्ट्रपति निर्वाचनमा अग्रिम शुभकामना दिँदै अमेरिकी लोकतन्त्रको रक्षा गर्न आग्रह गरेका हुन् ।
गएराति डेमोक्रेटिक पार्टीको नेसनल कन्भेन्सनको उद्घाटन गर्दै उनले उक्त धारणा राखेका हुन् । छोरी एश्ली बाइडेनलाई कार्यकर्तामाझ परिचय गराउँदै उनले आँशु खसालेका थिए । छोरीले आँशु पुछिदिइन् भने कार्यक्रममा ‘हामी बाइडेनलाई माया गर्छाै’ लेखिएको प्लेकार्ड बोकेर हजारौं कार्यकर्ता र समर्थक उपस्थित थिए ।
त्यसतर्फ हात हल्लाउँदै बाइडेनले भने, ‘म पनि तपाईंहरुलाई माया गर्छु ।’ आधा शताब्दी लामो राजनीतिक करिअरबाट बिदा लिएपछि छुट्टी मनाउन क्यालिफोर्निया जाने बाइडेनको योजना छ । उनले भने, ‘म बुढो भएँ, ८१ वर्षको । सायद म बिदा मनाउन क्यालिफोर्निया जान्छु ।’
उता दोस्रो पटक राष्ट्रपति बन्ने दौडधुपमा रहेका डोनाल्ड ट्रम्पले गत महिना कानमा गोली लागेपछि लोकतन्त्रको निम्ति मर्न तयार रहेको बताउँदै आएका छन् । उनले आफू आगामी निर्वाचनमा विजयी भएमा विश्वका सर्वाधिक धनी एलन मस्कलाई सल्लाहकार बनाउने घोषणा गरेका छन् । उनले भनेका छन्, ‘मस्कले चाहेमा म तयार छु । उनी निकै सिर्जनात्मक छन्, उनको आइडियाले नै अहिले विश्व नेतृत्व गरिरहेको छ ।’
यद्दपि, मस्कले भने राजनीतिप्रति खासै चासो नभएको धारणा राख्दै आएका छन् । उनी आफ्नै व्यवसाय र प्रविधिको विकासमा तल्लिन देखिन्छन् । मस्क स्पेसएक्स कम्पनीमार्फत् चन्द्रमामा पर्यटक लैजाने र मानव बस्ती बसाउने सुरसारमा छन् ।
टिप्पणीहरू