सहकारी ठगहरुविरुद्ध राजधानीमा नाराबाजी, सुर्खेतमा रविको प्रचारबाजी

सहकारी ठगहरुविरुद्ध राजधानीमा नाराबाजी, सुर्खेतमा रविको प्रचारबाजी
सुन्नुहोस्

सहकारी पीडितहरुले राजधानीमा आज पनि प्रदर्शन गरेका छन् । सरकारले सहकारी पीडित बचतकर्ता महासंघसँग गरेका सम्झौताहरु कार्यान्वयन नभएपछि उनीहरुले प्रदर्शन चर्काउन थालेका हुन् । 

गोर्खा सेभिंग एण्ड क्रेटिड,युवा विकास बहुउद्देश्यीय,गौतमश्री सहकारीलगायत एक दर्जन सहकारीका बचतकर्ताहरु भृकुटीमण्डमा भेला भएपछि नारा लगाउँदै सिंहदरबार नजिक पुगेका छन् ।

सहकारीका सञ्चालकहरुको फोटो टाँसिएको ब्यानरसहित प्रदर्शनमा उत्रिएका पीडितहरुले ‘रगत पसिनाले कमाएको पैसा फिर्ता गर’, ‘हाम्रो बचत फिर्ता दे’, सहकारी ठग मुर्दावाद’ लगायत नारा लगाएका थिए ।

 चार महिनाअघि सरकारले रकम फिर्ता गराउने प्रतिबद्धता जनाए पनि अहिलेसम्म त्यसको कुनै संकेत नदेखिएको पीडितहरुको दाबी छ । गत बैशाखमा तत्कालिन गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितहरुको रकम फिर्ता गराएरै छाड्ने प्रतिबद्धता जनाएका थिए । 

उनले भनेका थिए, ‘भाञ्जाका नाममा, सालीका नाममा, देश, विदेशमा कसको नाममा राखेका छन्, तिनको सम्पत्ति जफत गरेर सहकारीमा जम्मा गर्नेहरूको रकम फिर्ता नगरी राजनीतिबाट विश्राम लिन्नँ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेसँग उनी सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेपछि केही दिनअघि संसदीय विशेष छानबिन समितिले १० घण्टा लामो बयान लिएको थियो । 

उता सुर्खेत पुगेका लामिछानेले भने आगामी ०८४ को आमनिर्वाचनमा कर्णालीको विकास गर्ने आश्वासन दिँदै आफू र आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । पार्टीको कर्णाली प्रदेश भेलामा उनले कर्णालीले कयौं नेतालाई सिंहदरबार पठाए पनि नागरिकले विकासमा महशुस नगरेको दाबी गरे ।

भनेका छन्, ‘कर्णालीको विकासका लागि रास्वपा मात्रै विकल्प हो । राजनीतिमा आँट, तागत र ढंग हुन आवश्यक छ । त्यो आफूमा रहेकाले आगामी निर्वाचनमा पुराना नेताहरु स–सम्मानका साथ बिदा हुने छन् ।’

टिप्पणीहरू