नेपाल भ्रमणमा रहेको विदेशी सैन्य टोली सिंहदरबारमा
नेपाल भ्रमणमा हिजो बिहान काठमाडौं आएको भारतीय राष्ट्रिय सैन्य कलेजको टोलीले गृह र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेको छ । उक्त कलेजमा अध्ययनरत छ देशका सैनिक अधिकारीहरुको नेतृत्व गर्दै आएका भारतीय जल सेनाका रियर एडमिरल सन्दिप सिंह सन्धुको टोलीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेको छ ।
मन्त्री लेखकसँग भेटका लागि टोली दिउँसो साढे २ बजे गृह मन्त्रालय पुगेर ३ बजे फर्केको हो । त्यसअघि उक्त टोलीले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेको थियो ।
मन्त्री डा. राणासँग भेटका लागि सन्धु नेतृत्वको टोली मध्यान्ह सवा १२ बजे त्यहाँ पुगेर पौने १ बजे सिंहदरबारबाट बाहिरिएको बताइन्छ । नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेज (एनडिसी) मा सञ्चालित एनडिसी कोर्सअन्तर्गत ‘रणनीतिक छिमेक अध्ययन भ्रमण’का लागि २१ सदस्यीय टोली हिजो बिहान काठमाडौं आएको हो ।
टोलीका सदस्यमध्ये ११ जना श्रीमतीसहित भिस्तारा एयरको उडानमा दिल्लीबाट आएका हुन् । जसमा भारत, अमेरिका, अष्ट्रेलिया, कजाकस्तान, भुटान र ओमानका सैनिक अधिकारीहरु सहभागी छन् । बिहीबारसम्म नेपाल भ्रमणमा रहने टोलीको मुकाम होटल सोल्टी तोकिएको छ ।
उनीहरुको नेपाली सेनाका उच्च अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
टिप्पणीहरू