अधिकांशको सहकारीमा कारोबार, व्यापार व्यवसाय चौपट

अधिकांशको सहकारीमा कारोबार, व्यापार व्यवसाय चौपट

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न साना तथा मझौला व्यापारीहरुले माग गरेका छन् । काठमाडौंको न्यूरोड क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका उनीहरुले सहकारीमा देखिएको गम्भीर संकट र विदेश पलायन हुने युवाको बढोत्तरीले व्यापार व्यवसाय फस्टाउन नसकेको तर्फ ध्यान दिन सरकारसँग माग गरेका हुन् । 

राष्ट्रिय व्यापार संघका उपाध्यक्ष वैकुण्ठ दाहालले सहकारी समस्याले होलसेल बजारमा ठुलो नकारात्मक असर पारेको गुनासो गरे । सहकारी समस्या तत्काल समाधान गर्न र बैंक तथा वित्तिय संस्थालाई साना तथा मझौला व्यापार व्यवसायमा कर्जा प्रवाहका लागि प्रोत्साहन गरिदिन सरकारसँग उनले आग्रह गरेका छन् ।

‘सहकारीबाट हाम्रो कारोबार भइरहेकोे थियो । ९० प्रतिशत व्यापारीको कारोबार सहकारीमा छ । तर, अहिले सरकारीमा समस्या आएपछि यसले होलसेल बजारलाई धेरै असर गरेको छ । बैकले पनि ठूला व्यापारीहरुलाई मात्रै सहज ढंगले लोन दिने अवस्था छ । तर, साना र मझौला व्यापारीहरुलाई भने लोन लिन नै कठिन छ । अन्तिममा आएर डकुमेण्ट पुगेन भनेर पनि लोन नदिने अवस्था छ । म बैंकहरुलाई भन्न चाहन्छु कि तपाईहरु ठूला र साना भनेर भेदभाव नगरी लोन प्रवाह गर्नुस् । अर्को कुरा यो सहकारीमा देखिएका समस्या समाधान गरियोस्,’ उपाध्यक्ष दाहालले भने । 

यस्तै, पुस्तक व्यापारीहरु पनि युवा पुस्ता प्लस टु सकिएपछि विदेशिने क्रम बढेकाले व्यापार ठप्प भएको बताउँछन् । खाँडादेवी सेकेण्ड हेण्ड बुक सपका सञ्चालक आशिष खत्रीले गत वर्षको तुलनामा यो वर्ष पुस्तकको व्यापार ५० प्रतिशत बढीले घटेको बताए । 

पढ्ने उमेरका युवाहरु विदेशिने क्रम बढेसँगै पुस्तकको व्यापार पनि घटेको उनको भनाइ छ । उनले भने, ‘पुरानो पुस्तक पनि ५० प्रतिशत भन्दा कम व्यापार हुने गरेको छ पहिलाको तुलनामा । यसैले, अहिलेको व्यापार निराशाजनक नै भन्नुपर्छ ।’

दावा सुज एण्ड फेसन सेन्टरका सञ्चालक छावाछिरिङ लामाको पनि उस्तै बुझाई छ । उनी पनि वैदेशिक रोजगारीमा जानेको संख्या बढेलगत्तै जुत्ताको व्यापार विगतको तुलनामा २५ प्रतिशत बढीले घटेको बताउँछन् । बजारमा ग्राहकको नै अभाव देखिएको उनको ठम्याई छ । 

‘पहिला पहिला यतिखेर बजार प्याक हुन्थ्यो । कस्टम्बरसँग बोल्नका लागि फुर्सद नै हुदैँन्थ्यो । अहिले त रिटेलभन्दा पनि होलसेल बजारको अवस्था नाजुक भइसक्यो । नेपालमा अब जुत्ता लगाउने मान्छे नै छैनन । सबै बाहिर कुद्ने बाहेक अरु कोही छैन । अहिले नेपालमा २५ प्रतिशत पनि जुत्ता लगाउने छ कि छैन भन्ने अवस्था छ,’ उनले भने । 

भूकम्प र कोरोना महामारीपछि खस्किँदै गएको व्यापार व्यवसाय सहकारीले बचत रकम फिर्ता नगर्दा अझै कठिन अवस्थामा पुगेको नमुना फेसन कलेक्सनका नवराज गौतमको ठहर छ । उनी भन्छन्, ‘पहिलाको जस्तो चहलपहल छैन, बजार सुनसान छ । मन्दीका कारण यस्तो भयो भन्छन । भूकम्प, कोभिडपछिबाट नै यस्तै छ । गत वर्षको भन्दा यस वर्षको व्यापार आधी पनि छैन । धेरै कम छ  । मन्दी छ । फाइनान्समा डिपोजिट गरिएको पैसा दिएको छैन पनि भन्छन् । त्यसैले पैसा हुँदैन । समस्या छ ।’

टिप्पणीहरू