विद्यालयको ढिपीले विद्यार्थीलाई मर्का

विद्यालयको ढिपीले विद्यार्थीलाई मर्का

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्र सञ्चालित विद्यालयहरुले उपमहानगरको निर्देशनलाई अटेर गर्दै आज पनि विद्यालय बन्द गरेका छन् । उपमहानगरले पठनपाठन सुचारु गर्न निर्देशन दिए पनि विद्यालयहरुले मानेनन् । 

‘शिक्षासम्बन्धी ऐन,२०७५’ मा उल्लेखित प्रावधानबमोजिम १० प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिमा अनिवार्य अध्यापन गराउन भन्दै उपमहानगरले आफ्नो नगर क्षेत्रभित्रको विद्यालयहरुलाई पत्र पठाएको थियो । 

तर, विद्यालय र शिक्षणसँग सम्बद्ध संघ संगठनले रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क मात्रै लिई कक्षा सञ्चालन गर्न नसकिने भन्दै विद्यालय बन्द गरेको हो । पछिल्लो ९ दिनदेखि विद्यालय बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन् । 

उपमहानगरले विद्यालय सञ्चालन गर्नेबारे पटकपटक सरोकारवालासँग छलफल गरेको थियो । तैपनि छलफल निष्कर्षविहिन बनेपछि उपमहानगरले आजदेखि विद्यालय खोल्न निर्देशन दिएको थियो ।  

विद्यालय सञ्चालन नगरेमा ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५’ र ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७७’ बमोजिम कारबाही गर्ने चेतावनी दिए पनि अटेर गरिएको हो । 

उपमहानगरका सूचना अधिकारी उमाशंकर मल्लिकका अनुसार अटेर गर्ने विद्यालयमाथि कारबाहीको प्रक्रिया अघि बढिसकेको छ । ‘उपमहानगरले विद्यालय खोल्न पटकपटक आग्रह गरिसकेको छ । आज केहीचाँहि खुलेको थियो । अटेर गर्नेमाथि हामीले कारबाही अघि बढाइसकेका छौं’,उनले भने ।

टिप्पणीहरू