नेताहरुको घरमा कालो ब्यानर टाँग्ने बहुमतको तयारी

नेताहरुको घरमा कालो ब्यानर टाँग्ने बहुमतको तयारी
सुन्नुहोस्

पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दकिशोर पुन ‘पासाङ’को घरमा कालो ब्यानर टाँगेको धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले केन्द्रका अन्य नेताहरुको घरमा पनि कालो तुल झुण्ड्याउने तयारी थालेको छ । बहुमतको बागमती प्रदेश कमिटीले पुनको चन्द्रागिरी नगरपालिका–१, थानकोटस्थित घरमा कालो ब्यानर झुण्ड्याएकाले क्रमशः अन्य नेताको घरमा पनि टाँग्ने बताएको छ । 

कालो ब्यानरमा ‘भ्रष्टाचारविरुद्ध जनएकता अभियान’ लेखिएको छ । जनयुद्धका फौजी कमाण्डर र देशको उपराष्ट्रपति बनेको व्यक्तिको सुविधासम्पन्न बंगला निर्माण गर्ने स्रोत के हो ? भनेर सोधिएको छ । 

नेकपा (बहुमत)का कार्यकर्ताले कालो ब्यानर झुण्डाएपछि पुनले तुल हटाउन सुरक्षाकर्मीलाई निर्देशन दिएको भिडियोमा देख्न सकिन्छ । पूर्वराष्ट्रपति पासाङको उक्त घर तीन वर्षअघि बनाइएको हो ।

नेकपा (बहुमत) ले माओवादीसहित अन्य पार्टीका शीर्ष नेताहरुको घरमा पनि कालो ब्यानर राख्ने जानकारी दिएको छ । २०४६ सालयता मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न दबाबका लागि जनसंघर्ष स्वरुप अभियान थालिएको बहुमतको भनाई छ । उता जनकपुरस्थित गुठीे कार्यालयमा पनि ब्यानर टाँगिएको छ। 

टिप्पणीहरू