निजी क्षेत्रको प्रवद्र्धनमा नीतिगत स्थायित्व जरुरी : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको प्रवद्र्धन र विकासका लागि नीतिगत स्थायित्वमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसन प्रमुख सरवत जाहाँसँग भएको हिजोको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक । सोहीअनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाई हुन्छ ।’ हाल मुलुकका बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको र ब्याजदर समेत घटेपनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको उनको भनाइ छ ।
अध्यक्ष ढकालले बैंकहरुलाई आफ्नै शर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्नुपर्ने उल्लेख गर्दै अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा कमी ल्याउनसक्ने बताए ।
निजी क्षेत्रका सुझावका सरकारले घोषणा गरेको नयाँ पुस्ताका सुधारले समाधानका उपाय निकाल्न सक्ने उनको विश्वास छ । उनले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन सरकारले आठ वटा कानूनमा संशोधन गरेको र द्विपक्षीय लगानी सम्झौताको खाकासमेत तयार पारेको जानकारी गराए ।
यस्तै, उच्च विदेशी विनिमय सञ्चिति, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषलाई नेपालको प्रवद्र्धनमा सहयोग पुर्याउन अध्यक्ष ढकालले आग्रह गरेका छन् । भेटमा मिसन प्रमुख जाहाँले निजी क्षेत्रलाई महत्व दिनुपर्ने विषयमा कोष सदैव सकारात्मक रहेको बताइन् ।
टिप्पणीहरू