मनसुनको ९० दिन : सवा दुई सयको निधन, ५० बेपत्ता
मनसुनजन्य विपद्का घटना र त्यसबाट सिर्जित क्षति पोहोरभन्दा यो वर्ष वृद्धि भएको छ । यो वर्ष अत्यधिक वर्षा भएकाले विपद्का घटना बढेका हुन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज मनसुनको ९० दिने अवस्था प्रतिवेदन सार्वजनिक गर्दै गत जेठ २८ गतेदेखि भदौ २२ गतेसम्म बाढी, पहिरो, चट्याङलगायत घटनाबाट दुई सय २५ जनाको ज्यान गएको जानकारी दिएको छ ।
त्यस्तै, दुई सय ८४ जना घाइते हुँदा हालसम्म ४९ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार मनसुनजन्य विपद्बाट प्रभावित परिवारको संख्या चार हजार ६१४ रहेको छ ।
गत वर्ष यसै अवधिमा मनसुनजन्य घटनाबाट ८५ जनाको मृत्यु भएको थियो । एक सय ३६ जना घाइते हुँदा २९ जना बेपत्ता भएका थिए । यो वर्ष मनसुनजन्य विपद्ले सबैभन्दा धेरै मृत्यु बागमती प्रदेशमा भएको प्राधिकरणको भनाइ छ ।
बागमतीमा विपद्का घटनामा परी हालसम्म ५७ जनाको निधन भएको छ । सबैभन्दा कम मधेश प्रदेशमा पाँच जनाको मृत्यु भएको छ ।
मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोका घटनाबाट एक सय ३५ जनाको ज्यान गएको प्राधिकरणले बताएको छ । सबैभन्दा कम भारी वर्षाबाट एक जनाको निधन भएको हो ।
मुलुकमा गत जेठ २८ गतेदेखि शुरु भएको मनसुन अझै सक्रिय छ । नेपालमा मनसुन सरदर मध्य असोजसम्म रहन्छ ।
प्राधिकरणका अनुसार मनसुनजन्य विपद्का घटनालगत्तै खोज तथा उद्धार कार्यका लागि नेपाल प्रहरीबाट आठ हजार २५२, सशस्त्र प्रहरीबाट पाँच हजार ८१७ र नेपाली सेनाबाट चार हजार ७०८ गरी जम्मा १८ हजार ७७७ जना जनशक्ति खटिएका छन् ।
मनसुन शुरु भएयता प्राधिकरणबाट १६ जिल्लाका विपद् व्यवस्थापन कोषमा दुई करोड ५९ लाख ३६ हजार रुपैयाँ निकासा भएको छ । मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहतस्वरुप १५ हजारदेखि २० हजार रुपैयाँसम्म उपलब्ध गराएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, मृतकको परिवारलाई राहत मापदण्डअनुसार दुई लाख रुपैयाँका दरले वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा रकम पठाइएको बताइएको छ ।
टिप्पणीहरू