आठ महिनामै फेरिए काठमाडौं महागनरका प्रमुख प्रशासकीय अधिकृत

आठ महिनामै फेरिए काठमाडौं महागनरका प्रमुख प्रशासकीय अधिकृत
सुन्नुहोस्

सरकारले एकैपटक ४० जना सहसचिवको सरुवा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गर्ने निर्णय आज सार्वजनिक भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको  आठ महिनामै सरुवा भएको छ । त्यहाँ उद्योग मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईं लगिएको छ । परियारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ । सोही क्रममा नकपुरधामस्थित मधेश प्रदेशको उद्योग मन्त्रालयका सचिव राजिव पोखरेललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ल्याइएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको पनि सरुवा भएको छ । उनलाई मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । सूचना तथा प्रसारण विभागका महानिर्देशक बलराम रिज्याललाई संघीय मामिला मन्त्रालय लगिएको छ । रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला शिक्षा मन्त्रालय आएकी छन् । 

शिक्षा मन्त्रालयका सुमन घिमिरेले गृह मन्त्रालयको अवसर पाएका छन् । राष्ट्रिय दलित आयोगका सचिव शिवराज चौलागाईलाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई गृह मन्त्रालयमा तानिएको छ । खेलकुद मन्त्रालयका सहसचिव विदूरप्रसाद खनाल, मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयका सचिव केशवराज सुवेदी र लोकसेवा आयोग जलेश्वर कार्यालयका सहसचिव तुलसीनाथ गौतमको बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ । 

गण्डकीको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव पुरुषोत्तम शर्मा लोकसेवा आयोग आएका छन् । गण्डकीकै प्रदेश प्रमुखको कार्यालयका सचिव सेवन्तराज दाहाललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा लगिएको छ । 

अर्थ मन्त्रालयका सहसचिव शम्भुप्रसाद मरासिनीको सरुवा ऊर्जा मन्त्रालयमा भएको छ । त्यहाँका तोयनारायण सुवेदीलाई उपराष्ट्रपतिको कार्यालय लगिएको छ । संघीय मामिला मन्त्रालयका सहसचिव वीरेन्द्रदेव भारतीको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जीतपुर सिमरा उपमहानगरपालिकामा सरुवा भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमनसिंह खत्री राष्ट्रिय दलित आयोग पुगेका छन् । 

यस्तै, सामान्य प्रशासन मन्त्रालयका उमेशकुमार ढकाल, गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सहसचिव प्रकाश पौडेल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालको पनि गृह मन्त्रालयमै सरुवा भएको छ । 

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा सचिवको रुपमा पठाइएको छ । 

सुदूरपश्चिमको भौतिम मन्त्रालयका सचिव सुरतकुमार बमको खानेपानी मन्त्रालयमा सरुवा भएको छ । गण्डकीको ऊर्जा मन्त्रालयका सचिव गणेशराजलाई बस्ती शहरी विकास मन्त्रालय ल्याइएको छ । उनको ठाउँमा शहरी मन्त्रालयका सहसचिव कुमलकुमार अधिकारीलाई लगिएको छ । 

जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक राजन भट्टराईलाई गण्डकीको मन्त्रिपरिषद् कार्यालय पठाइएको छ । सामान्य प्रशासन मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद भण्डारी शिक्षा मन्त्रालय आएका छन् । सहसचिव भीमर्जुन पाण्डेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ । लुम्बिनीको भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत सुपरिटेन्डेट इन्जिनियर माधवप्रसाद भट्टराईले भने शहरी मन्त्रालयमा पुगेका छन् । 

बागमतीको खानेपानी मन्त्रालयका सचिव इन्द्रदेव भट्टलाई ऊर्जा मन्त्रालय ल्याइएको छ । ऊर्जाका सहसचिव मोहनकुमार शाक्यलाई बागमतीको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ । गण्डकीको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव रामचन्द्र कँडेललाई वन तथा वातावरण मन्त्रालय ल्याइएका छन् । उनको ठाउँमा वातावरण मन्त्रालयका सहसचिव जीवनाथ पौडेल आएका छन् ।
 
वन मन्त्रालयका सहसचिव दीर्घनारायण कोइराला भने कर्णालीस्थित मुख्यमन्त्री कार्यालयमा पुगेका छन् । कर्णालीको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव केदार बराल बागमतीको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका छन् । बागमतीको वन मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधान वन तथा वातावरण मन्त्रालय ल्याइएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव रमेशशर्मा पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगिएको छ । उनको ठाउँमा मन्त्रालयका सहसचिव प्रेमशरण श्रेष्ठ आइपुगेका छन् । यस्तै, अर्थ मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

टिप्पणीहरू