लुम्बिनी पारी, चाइनिज लसुनको तस्करी

लुम्बिनी पारी, चाइनिज लसुनको तस्करी
सुन्नुहोस्

भारतसँग सीमा जोडिएका विभिन्न क्षेत्रमा लसुन तस्करी मौलाएको छ । भारतमा चिनियाँ लसुन मँहगिएपछि सीमावर्ती क्षेत्रमा तस्करी बढेको हो । 

भारतले तेस्रो मुलुकबाट लसुन आयातमा प्रतिबन्ध लगाएको छ । जसका कारण लसुनको भाउ आकाशिएपछि नेपाली तस्करसँग मिलेर त्यहाँका व्यापारीले अवैध ढंगबाट संगठित कारोबार गरिरहेका छन् । मुख्यत: नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेलगायतका जिल्लाबाट लसुन तस्करी गरेर भारत पठाउन तस्करहरु सक्रिय रहेको बताइन्छ । 

नेपालमा चिनियाँ लसुनको भाउ प्रतिकिलो २७० रुपैयाँ छ । भारतीय लसुन ४५० रुपैयाँ किलोसम्म पर्छ । किलोमै १३० रुपैयाँ नाफा हुने भएपछि सीमा क्षेत्रमा लसुन तस्करहरुको सरगर्मी बढेको हो । 

विशेषगरी रुपन्देहीको कक्रहवा नाका, मर्चवार, नवलपरासीको भुजहा, बसैया, धरमपुरलगायतका क्षेत्रबाट लसुनको तस्करी भइरहेको छ । सीमा नजिकैका बजारमा व्यापारीहरुले लसुन गोदाम बनाएर तस्करी गरिरहेको स्रोतको भनाइ छ। 

स्रोतका अनुसार राति त्यहाँबाट दशगजा पारी लसुन पुर्याइन्छ । प्रकाश यादव भन्ने व्यक्तिले कक्रहवा नाकाबाट लसुन निकासी गरिरहेका छन् । रातको मौका छोपेर उनले लसुन पारी पुर्याउँछन् । 

‘मोग्लहवामा गोदाम बनाएर राखिएको छ । रातिको समयमा मर्चवारी क्षेत्र र कक्रहवाबाट उनीहरुले लसुन तस्करी गर्ने गरेका छन्’,स्रोतले भन्यो । तस्करहरुले कक्रहवास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट किनारबाटै लसुन झार्ने र पारी पठाउने गरेको बताइन्छ । 

तर, त्यहाँ रहेका सशस्त्र प्रहरीले भने तस्करीबारे कुनै जानकारी नभएको बताए । सशस्त्र प्रहरी निरीक्षक विवेक नेपालले तस्करीबारे अनभिज्ञता प्रकट गरे । उनले आफूलाई सो विषयमा केही थाहा नभएको दाबी गरे । सोही क्षेत्रबाट लसुन तस्करी भइरहेको भिडियो जनआस्थाले फेला पारेको छ । 

रातको समयमा लसुन गाडीबाट दशगजामा झारेर लैजाँदै गरेको भिडियोमा देखिन्छ । कक्रहवा र मर्चवारी क्षेत्रबाट सुरक्षाकर्मीको सेटिङ्गमा दैनिक दुई क्विन्टल लसुन निकासी भइरहेको स्रोत बताउँछ । राजश्व अनुसन्धान कार्यालय, बुटवलले गत भदौ २५ गते भारत लैजान तयारी अवस्थामा राखेको १११ क्विन्टल लसुन बसैयाबाट नियन्त्रणमा लिएको थियो। 

सशस्त्र प्रहरीकै मिलेमतोमा त्यहाँ तस्करी भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दुई जना कर्मचारीलाई छड्के अनुगमन गर्न पठाएका थिए । सो क्रममा उनीहरुले कक्रहवाबाट दुई लाख २९ हजारको कपडासहित तीन लाख ८५ हजार बराबरको सामान नियन्त्रणमा लिएर सशस्त्र प्रहरीको जिम्मा लगाएको बताइएको छ ।
 

टिप्पणीहरू