मंसिर १६ गते ४१ पदमा उपनिर्वाचन

मंसिर १६ गते ४१ पदमा उपनिर्वाचन

स्थानीय तहमा रिक्त पदाधिकारी चयनका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि विविध कारणले रिक्त भएका जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।  

निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी ३० वडाध्यक्ष पद अहिले रिक्त छ । त्यस्तै गाउँपालिकाका उपाध्यक्ष ५, अध्यक्ष २, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक खालि छ । ओखलढुंगा र कैलालीमा जिल्ला समन्वय समिति प्रमुख पद रिक्त छन् ।

नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुनेछ भन्ने व्यवस्था छ । उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले साउन २९ गते मतदाता नामावलीमा नाम दर्ता आह्वान गरेको थियो । उपचुनावको मिति घोषणा भएसँगै नामदर्ता स्थगित भैसकेको छ । 

अन्तिम मतदाता नामावली स्वीकृत गरि प्रकाशन गरेको मितिसम्ममा कुनै जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पद कुनै कारणले रिक्त भएमा मङ्सिर १६ मै उपनिर्वाचन हुनेछ । सरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिको उपाध्यक्ष भुपेन्द्रा बुढा र वडा नम्बर २ का वडाध्यक्ष जसबहादुर श्रीपालीको सवारी दुर्घटनामा निधन भएकाले त्यहाँ पनि सोही मितिमा उपनिर्वाचन हुने सम्भवना छ । 

कोशी प्रदेशका सात जिल्लामा रिक्त विभिन्न ८ पदमा उपचुनाव हुनेछ । ओखलढुंगाको जिसस प्रमुख र मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षसहित झापाको कन्काई नगरपालिका वडा नम्बर ६, तेर्हथुमको लालीगुराँस नगरपालिका– ८, सुनसरीको गढी गाउँपालिका–६, ओखलढुंगाको मोलुङ गाउँपालिका–५, उदयपुरको बेलका नगरपालिका–९ र त्रियुगा–१२ मा वडाध्यक्षको उपचुनाव हुनेछ । 

मधेश प्रदेशको सप्तरी, महोत्तरी, धनुषा र रौतहटका विभिन्न स्थानीय तहमा ६ सिट रिक्त छ । जसअनुसार रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ७, राजपुर नगरपालिका वडा नम्बर ६ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा वडाध्यक्षको लागि उपचुनाव हुनेछ । 

  
त्यस्तै, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४, धनुषाको धनुषाधाम नगरपालिका–१ र महत्तरीको रामगोपाल नगरपालिका–२ मा पनि वडाध्यक्ष पुनः निर्वाचित हुनेछन् ।  

बागमतीका दोलखा, काठमाडौँ, नुवाकोट र मकवानपुरका ७ पद रिक्त छ । काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख र दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि उपनिर्वाचन हुनेछ । त्यस्तै, कीर्तिपुर नगरपालिका वडा नम्बर १ र ४, काठमाडौँ महानगरपालिका वडा नम्बर १६, नुवाकोटको ककनी गाउँपालिका–२ र मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा उपचुनावबाट वडाध्यक्षको रिक्त पदपूर्ति गरिनेछ । 

एउटा मात्र पद रिक्त रहेको गण्डकी प्रदेशमा गोरखाको गोरखा नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षका लागि उपचुनाव हुनेछ । लुम्बिनी प्रदेशमा गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १, रोल्पाको रुन्टीगढी गाउँपालिका–४ र बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा रिक्त वडाध्यक्षमा उपनिर्वाचन हुनेछ । 

त्यसैगरी, कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा ८ पदाधिकारी खालि छन् । दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षसहित दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३, कालिकोटको तिलगुफा नगरपालिका–४,जाजरकोटको कुसे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ र रुकुम–पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा रिक्त वडाध्यक्ष उपचुनावमार्फत चुनिनेछन् । 

सुदूरपश्चिमका बाजुरा, बझाङ, डोटी, दार्चुला, कैलाली र कन्चनपरका विभिन्न स्थानीय तहमा रिक्त ६ पदका लागि उपचुनाव हुँदैछ । जसमा कैलाली जिल्ला समन्वय समिति प्रमुख र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष तथा बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४, डोल्पाको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रहेका छन् ।         

उपचुनाव हुने ४१ पदाधिकारीमध्ये सबैभन्दा धेरै नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधित्व गर्नेहरु छन् । २०७९ मंसिरको स्थानीय निर्वाचनमा कांग्रेसबाट निर्वाचित २५ पद रिक्त छ । जसमा ओखलढुंगा र कैलालीका जिल्ला समन्वय समिति प्रमुखसहित कीर्तिपुर नगरपालिका प्रमुख, ग्रामथान गाउँपालिका र महाबु गाउँपालिका अध्यक्ष छन् । त्यस्तै, नलगाढ नगरपालिका उपप्रमुख, गौरीशंकर गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षसहित रिक्त १५ वडाध्यक्ष गत चुनावमा काँग्रेसबाट निर्वाचित भएका थिए । 

त्यस्तै, २०७९ को चुनावमा एमालेबाट निर्वाचित प्रमुख तथा उपप्रमुख पद रिक्त छैन । एमालेले जितेका ७ वडाध्यक्ष मात्र खाली भएका छन् । माओवादी केन्द्रबाट निर्वाचित दुई उपाध्यक्षसहित ८ पद रिक्त छ । 

यस्तो छ, उपनिर्वाचन कार्यतालिका 

निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । उपनिर्वाचनलाई व्यवस्थित रुपले सञ्चालन गर्न आयोग र मातहतका कार्यालयहरुले सम्पादन गर्ने कार्यलाई समयबद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरेको आयोगले जनाएको छ । 

स्वीकृत कार्यतालिकाअनुसार उपनिर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको सूचना यही असोज ९ गते प्रकाशन गरिने छ । असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ता गरिनुपर्नेछ । 

असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयार पार्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्ने तालिका छ । 

यस्तै, कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गरिने आयोगले जनाएको छ । कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदान गर्नेलगायतका ६२ वटा क्रियाकलापसहित निर्वाचन कार्यतालिका स्वीकृत भएको आयोगको भनाइ छ ।

टिप्पणीहरू