बाहिर चर्का कुरा र आदर्श छाँट्ने रविको छानबिनमा टापटिपे जवाफ

बाहिर चर्का कुरा र आदर्श छाँट्ने रविको छानबिनमा टापटिपे जवाफ

गैरसदस्यले सहकारीको ऋण लिन नपाउने विद्यमान कानुनी व्यवस्था आफूलाई थाहा नभएको जवाफ दिएर पन्छिँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेले संसदीय छानबिन विशेष समितिमा पनि त्यस्तै प्रकारको जवाफ दिएको पाइएको छ । 

सहकारी संस्था बचत हिनामिना सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बयानका क्रममा उनी त्यसरी टक्टकिएका हुन् । समितिले आज सार्वजनिक गरेको पूर्ण प्रतिवेदनमा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँगको बयानको अंश पनि समेटिएको छ । उनलाई ५१ वटा प्रश्न सोधिएकोमा अधिकांशमा ‘मलाई जानकारी छैन’ भनी जवाफ दिएका छन् ।   

बयानका क्रममा बुटवलको सुप्रिम सहकारीबाट विपिनकुमार आचार्यको नाममा ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रालिको खातामा ग्लोबल आइएमई बैंकमा रकम दाखिला भएको विषय के हो ? भनेर समितिले प्रश्न गरेको छ । जवाफमा लामिछानेले ‘यसमा मेरो संलग्नता, सहभागिता र जानकारी पनि छैन । अरुको विषयमा मैले बोल्न कसरी मिल्ला ?’ भनी उल्टै प्रतिप्रश्न गरेका छन् । 

त्यस्तै, भूपेन्द्र बाबु राईको नाममा ऋण खडा गरी गोरखा मिडियामा रकम पठाएको सम्बन्धमा पनि उनले ‘यसबारे मलाई जानकारी छैन’ भनी जवाफ दिएका छन् । 

तर, समितिले भने उक्त समयमा शेयर धनीसहित प्रबन्ध निर्देशकसमेत रहेकाले संस्थामा प्राप्त भएको रकमको कानूनी वैधता सम्बन्धमा जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? भन्दै थप प्रश्न गर्दा लामिछानेले हरेक दिन बैंक स्टेटमेन्ट हेरेर साध्य नलाग्ने जवाफ दिएका छन् । 

साथै सुप्रिम सहकारीबाट गोरखा मिडिया नेटवर्कको तोकिएका बैंक खाताको रकमबारे प्रबन्ध निर्देशकलाई कसरी जानकारी भएन ? भन्ने प्रश्नमा पनि उनको जवाफ छ, ‘म यस विषयमा संलग्न छैन उक्त रकम ल्याएको देखिएको भए उक्त प्रक्रियामा मेरो संलग्नता सहभागिता र जानकारी छैन ।’

समितिले सुप्रिम सहकारीबाटै पुष्पराज केसीको नाममा पेस्की जनाई गोरखा मिडियामा रकम ल्याएको सम्बन्धमा पनि लामिछानेसँग सोधखोज गरेको छ । तर, उनले अन्य प्रश्नमा जस्तै थाह नभएको जवाफ दिएका छन् । 

बयानका क्रममा समितिले लामिछाने आफैंले उक्त सहकारीबाट गोरखा मिडियाको खातामा ल्याएको रकमबारे पनि सोधेको छ । २०७७ असोज ११ मा १ करोड, २०७८ बैशाख ५ र ९ गते क्रमशः १ करोड र ३० लाख किन लिएको ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी पैसा लिन मिल्छ ? भन्ने प्रश्नमा उनले पहिले नै यसको जवाफ दिइसकेको भन्दै थप जानकारी नरहेको बताएका छन् । 

हेर्नस् समितिले सोधेका प्रश्न र लामिछानेको जवाफ :

 

 

टिप्पणीहरू