जिबी फरार, छविपछिको पालोमा रवि !

जिबी फरार, छविपछिको पालोमा रवि !
सुन्नुहोस्

संसदीय विशेष समितिको अनुसन्धानपछि सहकारीको रकम अपचलनमा कारबाही सिफारिसमा परेकामध्ये जिबी राई, रवि लामिछाने र छविलाल जोशीमध्ये छवि केहीबेर अघि पक्राउ परेका छन् । गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवम् पूर्व डीआईजी जोशीलाई काठमाडौं प्रहरीले पक्रेको छ । 

विभिन्न सहकारी संस्थाको रकम अपचलनमा थप कारबाहीका लागि प्रक्रिया अघि बढाउन संसदीय विशेष छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएपछि जोशी पक्राउ परेका हुन् । जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौं प्रहरीले पक्राउ गरेको जनाइएको छ । 

कारबाही सिफारिस भएकामध्ये गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई फरार छन् । उपाध्यक्ष जोशी पक्राउ परेकाले अब पालो स्वतः रविको रहेको बताइन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछाने सांसद रहेकाले उनलाई पक्रेको जानकारी संविधानतः तत्काल सभामुखलाई दिनुपर्ने हुन्छ । संविधानको धारा १०३ उपधारा ६ बमोजिम संसद अधिवेशन नभएको अवस्थामा सांसदलाई फौजदारी अभियोगमा पक्राउ गर्दा तत्काल सभाका अध्यक्षलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

आज पक्राउ परेका पूर्व डिआईजी जोशीको शंखमूलस्थित घरबाट प्रहरीले गत माघमा पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित कागजात, कम्प्युटर बरामद गरेको थियो । उनकै घरमा जीबीको नेचर हर्ब इन्टरनेसनल प्रालि खोलिएको थियो । सूर्यदर्शनलगायत बुटवल, चितवन, वीरगञ्ज र काठमाडौंका विभिन्न सहकारीबाट बटुलिएको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा लगानीको नाममा जिबी, रवि, छवि र कुमारसहितले ब्रम्हलुट गरेका थिए ।

यसैबीच सहकारी रकम दुरुपयोग गरेको आरोप लागेका काँग्रेस उपसभापति, सांसद तथा पूर्वमन्त्री धनराज गुरुङलाई पनि पक्रेर अनुसन्धान थाल्ने तयारी प्रहरीको रहेको बताइन्छ । उनीमाथि मितेरी सहकारी, ललितपुरको १४ करोड ८१ लाख रुपैयाँ तत्कालीन श्रीमती ज्योति गुरुङसँग मिलेर हिनामिना गरेको आरोप छ । संसदीय छानबिन विशेष समितिले गुरुङमाथि पनि थप अनुसन्धान गर्न सुझाव दिएको छ ।

टिप्पणीहरू