ललितपुरमा थप छ शव फेला, मृतक संख्या ४० पुग्यो

ललितपुरमा थप छ शव फेला, मृतक संख्या ४० पुग्यो

अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ललितपुरमा मृत्यु भएकाको संख्या ४० पुगेको छ । आज थप छ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । 

हालसम्म पाटन अस्पताल ल्याइएका २० मध्ये १७ शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको छ । अझै १० जना बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आज महाँकाल गाउँपालिका–२, मानिखेल लक्ष्यबासका ९ वर्षीय आयुष स्याङ्तान, महाँकाल–२, ठोस्ने खोलाका ४० वर्षीया राममाया स्याङ्तान, उनका छोरा १४ वर्षीय अजय स्याङ्तान, छोरा ११ वर्षीय सुवास स्याङ्तान र छोरी ९ वर्षीया सलिना स्याङ्तानको शव फेला परेको हो । ठोस्ने खोलाका चारैजना एकै परिवारका सदस्य हुन् ।

महाँकाल–३, गोटीखेलका इश्वर तिमल्सिना, उनकी आमा र श्रीमती गोमा बेपत्ता छन् । त्यस्तै रौतहट घर भइ ललितपुर महानगरपालिका–१४, नखिपोट कान्तिपुर कोलोनीमा बस्दै आएका ५ वर्षीय सेतु साह, ओखलढुंगाका ४० वर्षीय देवराज कार्की, रौतहटको गौर गाउँपालिका–६ का ३२ वर्षीय विकाउ साह बेपत्ता छन् ।

बेपत्ता रहेका अन्यमा गोदावरी नगरपालिका–६, आनन्दवन अस्पतालमा कार्यरत ३० वर्षीय विवेक सिंह, बागमती गाउँपालिका–१, घुसेलका ५० वर्षीय केशव न्यौपाने, महाँकाल–२ की १२ वर्षीया सञ्जिता स्याङ्तान, ३५ वर्षीय छविलाल स्याङ्तान र उनी भाउजू हुन् ।
 

टिप्पणीहरू