एअर होस्टेसहरुविरुद्ध अख्तियार र मन्त्रालयमा उजुरी

एअर होस्टेसहरुविरुद्ध अख्तियार र मन्त्रालयमा उजुरी

क्याबिन क्रुहरुका कारण नेपाल वायुसेवा निगमले करोडौं क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै कारबाहीको माग गरिएको छ । निगमको संयुक्त ट्रेड युनियनले करारका विमान परिचारिका तथा परिचारकहरुको अराजक शैलीका कारण निगमले करोडौं नोक्सानी भएको व्यहोरा उल्लेख गर्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पर्यटन मन्त्रालयलगायत विभिन्न निकायमा उजुर हालेको छ । 

गत शुक्रबार क्याबिन क्रु समूहले निगमको नियमित उडान तालिकामा रहेको विमानमा सेवा नदिँदा यात्रुले सास्ती र निगमले क्षति भोग्नुपरेको उनीहरुको भनाइ छ । निगमको कर्मचारी सेवा शर्तसम्बन्धी विनियमावली २०५८ मा भएको व्यवस्था विपरितको माग गर्दै उमेर ५० वर्ष कायम गर्न दिइएको दबाबले गलत नजिर कायम भएको संयुक्त ट्रेड युनियनको आरोप छ । 

क्याबिन क्रुहरुको आन्दोलनका कारण चाडपर्व र विपद्को बेला निगमका नियमित उडान रद्ध तथा ढिलाइ हुँदा आर्थिक क्षतिसँगै निगमको प्रतिष्ठामा धक्का लागेकाले कारबाहीको माग गरिएको तिनैको अर्को दावी छ ।

हड्तालका कारण शुक्रबारको काठमाडौं–नारिता–काठमाडौं, काठमाडौं–नयाँ दिल्ली–काठमाडौं र काठमाडौं–मुम्बई–काठमाडौं उडान डिले भएको थियो । त्यस्तै सोही दिन काठमाडौं–दुबई–काठमाडौं उडान रद्द गरिएकाले विमानस्थलमा महँगो खाना,यात्रुहरुलाई होटल व्यवस्थापन,नागरिक उड्डयन प्राधिकरणको हर्जाना तिर्नुपरेको बताइन्छ । उजुरीमा लेखिएको छ, ‘दुबई हुँदै अन्यत्र जाने १२ जना यात्रुको लागि निगमले छुट्टै टिकट खरिद गरेर पठाउनुपरेको छ ।"

शनिबारका दिन पनि हड्तालका कारण निगमको काठमाडौं–दमाम–काठमाडौं, काठमाडौं– दिल्ली–काठमाडौं र काठमाडौं–हङकङ–काठमाडौं ढिलाईका कारण थप खर्च गर्नुपरेको थियो । काठमाडौंका यात्रुलाई विमानस्थलमा खाना खुवाइएको थियो भने, हङकङमा होटलमा राख्नुपरेको थियो ।

त्यस्तै नयाँ दिल्लीबाट अन्यत्र जाने आठ जना यात्रुलाई निगमले टिकटको व्यवस्था गरेको र नागरिक उड्डयन प्राधिकरणलाई हर्जाना तिर्नुपरेकाले उनीहरुमाथि कारबाहीको माग गरिएको बताइन्छ ।

टिप्पणीहरू