बिहे गरेर देश छाड्न खोज्दाखोज्दै...
नेपाली युवतीसँग ‘कोर्ट म्यारिज’ गरी चीन लैजाने क्रम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले कडाइ गरेको छ । पछिल्लो पाँच महिनामा त्यसरी कागजी विवाह गरेर चिनियाँ युवासँग जान खोज्दाखोज्दै ६ सय युवतीलाई विमानस्थलबाटै फर्काइएको छ ।
अध्यागमन कार्यालयका अनुसार शुरुमा चिनियाँ युवाले रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, गोरखालगायत जिल्लाका जनजाति युवतीलाई आफ्नो मायाजालमा पारी बाबुआमालाई समेत प्रलोभनमा पार्ने गरेको भेटिएको छ । पर्यटक भिसामा नेपाल आउने त्यस्ता युवालाई बिचौलियामार्फत युवतीका परिवारको सम्पर्कमा पुर्याउने र उनीहरूको कमजोर आर्थिक अवस्थालाई दुरूपयोग गरेर अनेक प्रलोभनमा विवाहका लागि राजी गराउने गरेको प्रहरीसँग प्रमाण छ ।
यसरी नै त्यस्ता युवतीहरूलाई चीन पुर्याउन कागजी विवाह गर्ने र लगेर गैरकानुनी धन्दामा लगाउने खतराको आशंकामा सतर्कता अपनाएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले बताए । अदालतबाट विवाहको प्रमाणपत्र पाउँदा पाउँदै पनि अध्यागमन अधिकारीहरूले सो विवाहमा खोट भेटेपछि यस्तो स्थिति बनेको हो । पटक–पटक त्यस्ता युवतीलाई विमानस्थलबाट फर्काइएको पन्थी बताउँछन् ।
चिनियाँहरूले बिचौलियाको सहयोगमा प्रहरी र स्थानीय तहबाट समेत कागजात बनाई अदालतबाट बकाइदा विवाहको प्रमाणपत्र लिने गरेको अध्यागमनको बुझाइ छ । यसमा अदालतले समेत विवेक नपु¥याएको अवस्था छ ।
यता, नेपाली युवतीहरू चीनमा अलपत्र पर्ने र अध्यागमन कार्यालयले समेत कडाइ गर्ने भएपछि काठमाडौँस्थित चिनियाँ दूतावासले ‘एनओसी’ दिन बन्द गरेको छ । तर, यसअघि नै एनओसी लिइसकेका करिब २ सय जनालाई भने अध्यागमनको अन्तर्वार्ताका क्रममा शंका लागेर फर्काइएको छ ।
मानव तस्करीमा संलग्नहरूले चीनबाटै सामाजिक सञ्जाल विच्याट र इमोमार्फत नेपालमा बिचौलियासँग सम्पर्क गराउने, ठमेल, महाराजगञ्ज, दरबारमार्गलगायतका चिनियाँ रेष्टुरेण्टलाई युवती खोज्ने माध्यम बनाउने र १५ दिनमै विवाह गराइदिने गरिएका प्रमाणहरु जनआस्थाले फेला पारेको छ ।
‘चिनियाँ दुलाहाले नेपाली भाषा नबुझ्ने अनि नेपाली युवतीलाई चिनियाँ भाषा नआउने अवस्थामा कसरी माया साटासाट हुन्छ र दुवै विवाहका लागि तयार हुन्छन् ?’ अध्यागमन अधिकारीहरूको आशंका छ ।
चीन पुगेपछि युवतीहरू अलपत्र परेमा उद्धारका लागि कोसँग, कसरी गुहार माग्ने ?’ यसका साथै अनेकखाले मानवअधिकार हनन हुने चिन्ताले एनओसी प्राप्त गरेकाहरुलाई पनि रोकेको अध्यागमन अधिकृतहरू बताउँछन् ।
अध्यागमन अधिकृतलाई आशंका लागेमा जसलाई पनि रोक्न सक्ने अधिकार छ । यो सन्दर्भमा पनि त्यही अधिकार प्रयोग गरिएको हो । अध्यागमन विभागका निर्देशक प्रेम दाहालले भने, ‘युवतीले चिनियाँ भाषा सिकेको हुनुपर्यो । अनि बैबाहिक जोडी कम्तिमा ९ महिना नेपाल बसेको हुनुपर्छ । यो दुबै नभएको अवस्थामा रोक्नुको विकल्प छैन ।’
कागजीमात्र नभई वास्तविक विवाह गरिएको भए ९ महिनासम्ममा युवती गर्भवती हुने र जोडीमा परिपक्वता आउनसक्ने विश्वासमा अध्यागमनले त्यस्तो मापदण्ड तोकेको बताइन्छ । विमानस्थलस्थित अध्यागमनका एक अधिकृतले हालैको एउटा घटना स्मरण गर्दै एकजना युवतीलाई ‘नक्कली गर्भवती’ बनाएरसमेत लैजान प्रयास गरिएको बताए ।
त्यो जोडीले एक महिनाको गर्भवती भनी भिडियो एक्सरे रिपोर्टसमेत बुझाएको थियो । तर, उक्त रिपोर्ट नक्कली ठहरिएपछि उनीहरूलाई फर्काइयो । जबर्जस्ती जान खोज्ने एउटै जोडीलाई १० पटकसम्म फर्काउनुपरेको अवस्थासमेत छ । युवतीका बाबु–आमा, दाजुभाइ, परिवारका सदस्यहरूले अध्यागमनका कर्मचारीलाई प्रलोभनसमेत दिने गरेको पाइन्छ ।
‘फेक’ भनिएको यस्ता विवाह गराउन वकिलहरू समेत प्रयोग हुने गरेको अध्यागमनको बुझाइ छ । यसै सन्दर्भमा अधिवक्ता अल्पना भण्डारीले आफूले विवाह गराएका जोडी विमानस्थलमा नरोकिएको बताइन् । विवाह गरेर चीन लगिएकी युवतीलाई बेश्यावृत्तिमा लगाइने र अलपत्र पार्ने गरेको समाचारकै आधारमा रोकिएको हुनसक्ने अनुमानसहित वास्तविकता बुझेर मात्र रोक्नुपर्ने उनको तर्क छ ।
यसैबीच त्रिभुवन विमानस्थलबाट फर्काइएका युवतीहरूलाई बिचौलियामार्फत रसुवागढी नाका हुँदै लैजाने प्रयास भैरहेको जानकारी जनआस्थालाई प्राप्त भएको छ । केही दिनअघि बंगलादेशी युवतीसँग कागजी विवाह गरेका तीनजना चिनियाँलाई जोडीसहित रसुवागढी नाकाबाट फर्काइएको थियो ।
स्मरणीय छ, चिनियाँ युवाहरूले पहिले पाकिस्तानी युवतीलाई पनि अदालती बिहे गरी लैजाने गरेका थिए । तर, पाकिस्तानी अध्यागमनले पनि कडाई गरेपछि तिनको आँखा नेपाली र बंगलादेशी युवतीमाथि परेको छ ।
टिप्पणीहरू