प्रचण्डको बानी, उनलाई नै हानी

प्रचण्डको बानी, उनलाई नै हानी

सत्ता र शक्तिमा हुँदा शत्रु र मित्रको ख्याल नगर्ने, हातमा बन्दुक हुँदा जथाभावी पड्काउँदै हिँड्ने अनि आफू कमजोर हुनासाथ हारगुहार गर्दै हिँड्ने बानी माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा देखिएको छ ।

अन्य राजनीतिक दलसँग मिलेर बलियो शत्रुुविरुद्ध मोर्चा कस्दै परास्त गर्नु अलग्गै कुरा हो तर आफू बलियो हुँदा कसैलाई बाँकी नराख्ने प्रवृत्ति हावी भएपछि अहिले माओवादीकेन्द्र एकलकाँटे अवस्थामा पुग्न लागेको देखिँदैछ । कहिले नेपाली कांग्रेस, कहिले एमाले, कहिले एकीकृत समाजवादी त कहिले जसपासँगको सहकार्य अनि समाजवादी मोर्चामा पहिले हुँदा र अहिलेको रबैया हेर्दा यो कुरा प्रष्ट हुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

उनले आफूअनुकूल हुँदाका बखत कुनै दललाई पनि खुइल्याउन बाँकी राखेनन् भने प्रतिकूल हुँदा समाजवादी मोर्चा, प्रजातान्त्रिक गठबन्धन र वामपन्थी एकतालगायत विभिन्न फन्डा झिक्ने गरेका छन् । कहिले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेर समाजवादी मोर्चा बनाऔँ भन्दै फकाउने, कहिले माधवकुमार नेपाल, विप्लव र उपेन्द्र यादवको साथ लिएर समाजवादी मोर्चालाई सशक्त र सुदृढ बनाऔं भन्नेजस्ता अनेकन क्रियाकलापमार्फत् राजनीतिको केन्द्रविन्दुमा रहने प्रयास जारी राखेको देखिन्छ । नाम समाजवादी मोर्चाको राख्ने तर मोर्चाको सामीप्य भने कहिले पनि नखोज्ने चरित्र देखिएको वामपन्थी विश्लेषकहरूको दाबी छ । प्रचण्डले सत्ता साझेदार उपेन्द्र यादवको जनता समाजवादी पार्टीलाई फुटाउन खेलेको भूमिकाले यस कुरालाई सावित गरेको छ । 

अहिले आफ्नै पार्टीभित्र जनार्दन शर्मासँग सिंगौरी खेल्न व्यस्त दाहालले विगतमा अन्तरपार्टी संघर्षमा उत्रिएका मोहन बैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल, कृष्ण महरा र विप्लवलगायतलाई पाखा लगाएको उदाहरण छ । उता, एमालेमा भीम रावलजस्ता नेता छँदैछन् । एमाले नछोड्ने, नेतृत्वसँग पंगा मात्रै लिइरहने काम उनीबाट भैरहेकै छ । त्यसो त एसका महासचिव घनश्याम भुसालले पनि संसदीय निर्वाचनमा स्वतन्त्र नभई कलम चिह्न लिएर उठेको भए सहज जित हासिल गर्ने, एस राष्ट्रिय पार्टी बन्ने, जसकारण ४–५ वटा समानुपातिक सिट बढ्ने स्थिति थियो । तर, भुसालले एसमा प्रवेश गर्नेबित्तिकै महासचिव र महाधिवेशनमा अध्यक्षको दावा ठोकिदिए । उनी बेलैमा एसमा प्रवेश गरेका भए सकारात्मक लहर आउँथ्यो भन्नेहरू प्रशस्तै छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू