नेपाल-चीन सम्बन्ध र सहयोगबारे जेनेभामा चर्चा

नेपाल-चीन सम्बन्ध र सहयोगबारे जेनेभामा चर्चा

अन्तर व्यवस्थापिका संघ (आईपीयू) को महासभामा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुगेको नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ जनकङ्ग्रेसका शिक्षा, विज्ञान, संस्कृति एवं स्वास्थ्य समिति उपाध्यक्ष थ्यान सुइजन नेतृत्वको टोलीबीच आज दिउँसो जेनेभामा भेटवार्ता भएको हो । 

भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यास, अनुभव आदानप्रदान र अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्यका विषयमा छलफल भएको बताइएको छ । उक्त अवसरमा राष्ट्रियसभा अध्यक्ष दाहालले नेपाल–चीन सम्बन्धको ऐतिहासिक आयामबारे चर्चा गर्दै दुवै देश सधैं असल छिमेकीका रुपमा रहने बताउनुभयो । 

उहाँले दुई देशबीच राजनीतिक सम्बन्ध मात्रै नभई जनस्तरमै सामाजिक, सांस्कृतिक सम्बन्ध मजबुत रहेको पनि जनाउनुभयो । सन् २०२२ मा चिनियाँ जनकङ्ग्रेसका तत्कालीन अध्यक्षले नेपाल भ्रमण गरेको स्मरण गर्दै अध्यक्ष दाहालले दुई देशबीचका संसदको सहकार्यले एकअर्काका अनुभव आदानप्रदान हुनुका साथै असल अभ्यास सिक्ने अवसर मिल्ने बताउनुभयो । 

नेपालको विकासमा चीनको सहयोग रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझै सहयोग बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपाल सन् २०२६ मा कम विकसित देशबाट स्तरोन्नति हुने लक्ष्य लिएको छ । यस लक्ष्यलाई दिगो, अपरिवर्तनीय र सहज बनाउन मित्र राष्ट्रहरुको सहयोग र सद्भाव हाम्रो प्राथमिकतामा रहेको छ । यसमा चीनको महत्त्वपूर्ण सहयोग हुनेछ भन्ने हामीलाई विश्वास छ ।’

दुई देशबीच आपसी हितका विषयहरुमा क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा सहकार्य भइरहेको र नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो । सोही क्रममा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख समिति उपाध्यक्ष तियान सुइजनले चिनियाँ राष्ट्रिय जनकङ्ग्रेस र नेपालको संसदसँग विभिन्न क्षेत्रमा सहकार्य र संसदीय मैत्री समूहमार्फत सम्बन्ध विस्तार गर्न तत्पर रहेको बताउनुभयो । 

दुई देशका संसदबीचको सहकार्य, भ्रमण आदानप्रदान र अवलोकनले संसदीय अभ्यास, परम्परा र प्रक्रिया बुझ्न सहज हुने र दुवै देशको सम्बन्ध थप मजबुत बनाउने चिनियाँ नेताको विश्वास छ । चीनले नेपाललाई आफ्नो क्षमताले भ्याएसम्म र सम्भव भएसम्म सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताउँदै उपाध्यक्ष थ्यानले बिआरआईमार्फत सडक, रेल्वेलगायतका पूर्वाधार विकास योजनामा सहयोग गर्न चाहेको जानकारी गराउनुभयो । 

दुवै देशका प्रतिनिधिमण्डलमा सहभागी सांसद तथा प्रतिनिधिहरु भेटवार्तामा सहभागि थिए ।

टिप्पणीहरू