पूर्व राजालाई भुटानले नै बोलायो कि भारतले लगायो ?
अहिले नेपालमा राजनीतिक दलका नेताहरु एउटा प्रश्न एक अर्कालाई सोधिरहेका छन्– भुटानले किन बहालवाला राष्ट्राध्यक्षलाई भन्दा बढी महत्व दिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोलायो र त्यस प्रकारको आतिथ्यता देखायो ? उनी थिम्पुको मात्र निमन्त्रणामा त्यता गएका हुन् वा भुटानी राजाले भारतले दिएको कार्यादेश पूरा गर्ने सिलसिलामा यस प्रकारको गतिविधि भएको हो ?
समाचार स्रोत भन्छ, ‘ज्ञानेन्द्रलाई भुटान नरेशले बोलाएको निकै अगाडि नै हो । तर कसैले आखिर केही नगरिदिने रहेछ भन्ने निश्कर्षमा पुगेका उनले त्यतातिर जान इच्छा देखाइरहेका थिएनन् । पछिल्लोपटक विशेष सन्देश आयो र भुटानको मात्रै निमन्त्रणा मान्न नभएर अर्कै प्रयोजनका लागि त्यता जानुपर्ने भनियो । त्यसैले शाहवंशको इतिहासमै पहिलो पटक घटस्थापनादेखि दशमीसम्म नवरात्रको बेला राजाहरूले मुलुक नछाड्ने परम्परालाई तोड्दै उनी पाहुना बनेर त्यसतर्फ लागेका हुन् ।’
यता, रक्षा र परराष्ट्र मामिलामा दिल्ली आश्रित भुटानी राजाले ज्ञानेन्द्र शाहलाई उच्च तहको राजकीय सम्मान दिइरहँदा समकक्षी नरेन्द्र मोदीले भने न्युयोर्कको संक्षिप्त भेटका क्रममा समेत प्रधानमन्त्री ओलीलाई खासै महत्व नदिएको बताइन्छ । सो भेटमा सँगै रहेका एक समाचार स्रोतका अनुसार वार्तालाप नेपालका लागि खासै उपलब्धिमुलक रहेन । मोदीले खासै रेस्पोन्स नै गरेनन् । प्रधानमन्त्री केपी ओलीले राखेका धेरैजसो विषयमा उनले विदेशमन्त्री यस. जयशंकरतर्फ फर्कँदै जवाफ दिएका थिए, ‘जयशंकर, यु ह्याभ टु लुक अबाउट इट’ (जयशंकर, तिमीले यो विषयलाई हेर्नु) । मोदीको व्यवहार र भागभंगिमाबाट उनी केपी ओली र अहिलेको नेपाली राजनीतिक घटनाक्रमसँग अत्यन्तै असन्तुष्ट रहेको देखिन्थ्यो । सोही स्रोतका अनुसार, ओलीले कुनै पनि विषयमा कुरा राख्न खोज्दा मोदीले हार्दिकतापूर्ण प्रष्ट जवाफ आएन । आफूले अगाडि बढाउने हरेक विषयमा ओलीले उनको ध्यानाकर्षण गर्न खोजे तर तिनको जवाफ मोदीले दिएनन् । पुरापुर उदासिन र बेवास्तापूर्ण वातावरण उनको व्यवहारबाट सिर्जना भएको थियो । यहाँसम्म कि त्यसबीच कुनै बेला सामान्य मुस्कानसमेत मोदीको अनुहारमा देखिएन ।
पुष्पकमल दाहाल दिल्लीबाट फर्कनासाथ फेरिएको गठबन्धन भारतलाई मन परिरहेको छैन र उसले यसमा तत्काल तलमाथि गर्नसक्ने अवस्था पनि देखिन्न । यसैकारण भारत, चीनको कार्ड पालैपालो देखाउँदै सत्तामा रम्न रुचाउनेहरुलाई तर्साउन हिन्दूत्वका प्रतिक पूर्व राजाको भुटान भ्रमणमार्फत् मोदीले काउण्टर कार्ड खेलेको त होइन ? भन्ने प्रश्न यसबीच उठिरहेको छ ।
त्यसो त भारतले आरजु देउवालाई निकै ठूलो महत्व दिएर सत्कार गरेको बाह्य रूपमा देखिए पनि भित्रबाट भने स्थिति ठ्याक्क त्यस्तो हैन भन्ने विश्लेषकहरूको बुझाइ छ । उनीहरू भन्छन्, ‘नेपाली कांग्रेसबाहेक भारतसँग अन्य कुनै विकल्प नरहेका कारण उनीहरूले बाध्यतावश आरजुलाई आफ्नो बनाउन प्रयत्न गरेका हुन् । शेखर कोइरालाले पार्टी कब्जा गर्न सकेनन् । अन्य कुनै शक्ति नेपाली कांग्रेसभित्र छैन जसलाई प्रयोग गर्न सकियोस् ।’ त्यसैले आरजु उनीहरूको रोजाइमा परेको विश्लेषण गरिन्छ । भारतीय संस्थापन पक्ष निकट एक व्यक्तिका अनुसार आरजुप्रति पनि उनीहरूको पूर्ण भरोसा छैन ।
उता, हालैका अलग अलग भ्रमणमा वर्षमान पुन र विष्णु पौडेलमार्फत चीनले चाहिँ नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरू कहिले पनि मिल्न नसक्ने अवस्थामा नपुग्नु है भन्ने सन्देश दिएको बताइन्छ । रवि लामिछानेलाई तुरुन्तै समातेर कारबाही प्रक्रिया अगाडि बढाउन नसक्नुको पछाडिचाहिँ अदालतको त्यसपछि कदम कस्तो हुन्छ भन्ने अनिश्चितता रहेको समाचारस्रोत बताउँछ । यदि अदालतले चाहेको भए रवि लामिछानेलाई पासपोर्ट काण्डमै जेल चलान गर्न सक्थ्यो । तर, त्यसो भएन । अहिले सहकारी काण्डमा उनलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाउँदा अदालत तगारो भयो भने त्यसपछि रविको रूप थाम्न नसक्ने गरी उग्र बन्छ भन्ने सरकारको निश्कर्ष रहेको स्रोतले जानकारी दिएको छ । रवि लामिछानेलाई कसरी कारबाही गर्ने र कुन ढंगले अगाडि बढ्ने भन्ने विषयमा अदालतसँग सरकारले विस्तृत तहमा कुरा गरिरहेको तर अहिलेसम्म सरकारले चाहेबमोजिम अगाडि बढ्ने संकेत नदेखाएका कारण यो प्रक्रिया त्यत्तिकै रहेको समाचार स्रोत बताउँछ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू