फोन गर्न पर्दा डाँडातिर

फोन गर्न पर्दा डाँडातिर

म्याग्दीको रघुगङ्गा गाउँपालिका ८ कुइनेमङ्गलेका ३५० घरधुरीका बासिन्दा आपतकालीन अवस्थामा फोन गर्नुपर्ने गाउँदेखि माथि डाँडातिर कुद्नुपर्ने बाध्यतामा छन् । ‘गाउँ पुरै सम्पर्कविहिनजस्तै छ, टावर राख्नका लागि गाउँपालिका वडा सबै मिलेर प्राधिकरणलाई भनेकै छौँ । हुन्छ, हुन्छ भन्छ अहिलेसम्म गरेको छैन ।’ वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो ।

रघुगङ्गामात्रै होइन म्याग्दीका अरु स्थानीय तह पनि सञ्चारसुविधा विहिन छन् । कुइनेमङ्गले, चिमखोला, धवलागिरि गाउँपालिकाले सञ्चारसुविधाका लागि प्राधिकरणा पटक पटक निवेदन दिएका भएपनि यहाँका बासिन्दा वर्षौदेखि मोबाईल फोन सम्पर्कविहिन भएर बसेका छन् । ‘घरि घरि एनसेलले काम गर्छ । नत्र एनटिसिको त पटक्कै टिप्दैन । कि रुख चढ्न पर्छ कि डाँडामा कुद्नुपर्छ ।’ वडाध्यक्ष छन्त्यालले भन्नुभयो ।

यी गाउँपालिकाका दुर्गम वडाहरुमा सडक सुविधा पनि पुगेको छैन । पुगेको सडक हिँउदमा चल्छ बर्खामा चल्दैन । गाउँमा लघुजलविद्युतबाट विजुली पुगेपनि फोनका कारण स्वास्थ्य उपचार सार्वजनिक सेवा प्रवाह लगायतका कार्य प्रभावित भएका छन् ।

टेलिफोनका लागि मन्त्री थममाया थापाले पहिल्यैदेखि चासो दिएको भएपनि काम नभएको स्थानीय जनप्रतिनिधिहरुको भनाई छ ।
एक लाख १३ हजार जनसङ्ख्या भएको म्याग्दीमा ९० हजार ३१७ थान सिम वितरण गरिएको तथ्याङ्क नेपाल टेलिकमसँग छ । तर सिम लिएका सर्वसाधारण फोन गर्ने सुविधाबाट भने बञ्चित छन् । म्याग्दीमा टेलिकमका २६ मोबाइल, पाँच ल्याण्डलाइन र चार वाइम्यास गरेर ३५ वटा बिटिएस टावर रहेको प्राधिकरणले जनाएको छ ।

टिप्पणीहरू