गेष्टहाउसमा क्यासिनो, नियामक निकाय मौन !

गेष्टहाउसमा क्यासिनो, नियामक निकाय मौन !

भैरहवाको एउटा गेष्ट हाउसमा क्यासिनो सञ्चालन भएको वर्षौं भइसकेको छ । पर्यटकीय सहरको रुपमा परिचित भैरहवाको मुख्य बजार, देवकोटा चोकमा रहेको सामान्य होटलमा सञ्चालित क्यासिनो विवादमा आएको छ । 

भैरहवाको मुख्य बजार देवकोटा चोक नजिकैको गेस्ट हाउस जस्तै संरचना भएको होटल लाकौलमा विगत १० वर्षदेखि क्यासिनो सञ्चालन भइरहेको छ । उक्त क्यासिनोमा न प्रहरी चेकजाँच हुन्छ न नियामक निकायको अनुगमन नै । होटलमा २५ कोठा रहेको बताइन्छ ।

क्यासिनो नियमावली २०७० र अन्तिम पटक २०७६ साउन १३ गते चौथो पटक भएको संशोधित नियमावलीमा कम्तीमा चारतारे होटल वा सो सरहको डिलक्स रिसोर्ट भएको ठाउँमा मात्रै क्यासिनो सञ्चालन गर्नुपर्ने उल्लेख छ । तर हेप्पी आवर प्रा.लि नामको क्यासिनो लाकौल होटल पूर्णतयाः गेस्ट हाउस स्वरुपमा देखिन्छ । 

होटलमा न स्वीमिंग पुल छ न, लिफ्ट नै । कोठाहरु पर्यटनमैत्री नभएको र संरचना पनि पर्यटकीयमैत्री नभएको पर्यटकहरुको भनाई छ । स्थानीय व्यवसायी नरेश लाकौलले निर्माण गरेको होटलमा क्यासिनो व्यवसायी सुरेन्द्र सिंहले १० वर्षदेखि हेप्पी आवर प्रा.लि नामको क्यासिनो सन्चालन गरिरहेका छन् ।

पर्यटन ऐन २०३५ को दफा ५६ ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकारले क्यासिनो नियमावली २०७० जारी गरेको थियो । त्यसपछि २०७० माघ १३ मा पहिलो संशोधन, २०७० चैत २४ मा दोस्रो संशोधन, २०७१ जेठ १२ मा तेस्रो संशोधन र २०७६ साउन १३ मा चौथो संशोधन गरेको हो । चारै पटकको संशोधनमा क्यासिनो सन्चालनका लागि कम्तीमा चारतारे होटल हुनुपर्ने अनिवार्य प्रावधान छ । 

तर सानालाई ऐन, ठूलालाई चैन भने झंै नेपाली क्यासिनो बजारका चर्चित पात्र सुरेन्द्र सिंहको व्यपारलाई कसले रोक्ने ? यो विषयमा स्थानीय प्रहरी प्रशासन पनि मौन छ । सानातिना होटल र स्पाहरुमा छापा मार्ने, अनुगमन गर्ने नियमक निकाय लाकौल होटलमा सञ्चालित हेप्पी आवर क्यासिनोको बारेमा बेखबर जस्तै देखिन्छ । 

स्रोतका अनुसार हेप्पी आवरले रुपन्देहीको नियामक निकायलाई विभिन्न प्रलोभनमा मुख बुजो लगाएर हेप्पी बनाउने काम गरेको आरोप छ । स्रोतका अनुसार उक्त आरोप प्रशासनको मौनताले पनि पुष्टि गरेको छ । हेप्पी आवर क्यासिनो सञ्चालित लाकौल होटलभन्दा करिब पाँच सय मीटरको दूरीमा जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलय छन् । नजिकै सिद्धार्थनगर पालिका पनि अवस्थित छ । तर त्यहाँ जिल्ला प्रशासन र सिद्धार्थनगर नगरपालिकाले हालसम्म अनुगमनको आवश्यकता नदेखेको अवस्था विद्यमान छ । नजिकैको प्रहरी प्रशासनले पनि त्यसतर्फ मौनता साँध्नुलाई रहस्यमय ठानिएको छ ।

नजिकैका चार तारे होटलको रुपमा मौर्या, नान्स र निर्वाणामा सञ्चालित क्यासिनाले राज्यलाई वार्षिक करोडौं तिरिरहेको देखिन्छ । तर लाकौलको क्यासिनोले राज्यलाई हालसम्म रोयल्टी, कर तिरेको छैन । 

सुरेन्द्र सिंह, शारदादेवी सिंह र अरुणसिंह मल्लको संयुक्त नाममा रहेको हयाप्पी आवर २०६७ भदौ १३ गते दर्ता भएको हो । मिनि क्यासिनोले शाखा खोल्न नपाउने कानुनी व्यवस्था हुँदाहुँदै क्यासिनोको देशभर चार शाखा छन् । मिनी क्यासिनो कम्तीमा चारतारे होटलमा सञ्चालन हुनुपर्नेमा सामान्य होटलमा सञ्चालन हुँदा राज्यका सबैजसो निकाय मौन बसिदिएका छन् । 

१० वर्षदेखि वार्षिक डेढ करोडका दरले १५ करोड रुपैयाँभन्दा बढी राजस्व राज्यले पाएको छैन । सुरेन्द्रबहादुर सिंह र हेप्पी आवर प्रा.लिलाई विपक्षी बनाइएको मुद्दा यतिखेर सर्वोच्च अदालतको संवैधानिक इजालसमा विचाराधीन छ । उक्त मुद्दामा हुने फैसलाबारे धेरैले चासो राखेको देखिन्छ ।

क्यासिनो विदेशी मुद्रा आर्जन गर्ने गतिलो व्यवसाय हो । तर सोही व्यवसाय पछिल्लो समयमा राजस्व ठग्ने बलियो पेशा बन्दै गएको छ । ह्याप्पी आवरका क्यासिनो नेपालगञ्जको होटल स्नेहामा, काकडभित्ताको होटल ढाकामा, महेन्द्रनगरको होटल स्विट ड्रिममा, भैरहवाको होटल लाकौलमा शाखा छन् । 

हयाप्पी आवर स्थापनाकालदेखि विवादित कम्पनी हो । २०६८ वैशाख १६ गते  भैरहवाको होटल नान्समा मिनी क्यासिनो सञ्चालन गर्न रुपा इन्टरनेसनलले १० वर्षे सम्झौता गरेको थियो । रुपाका सञ्चालक र हयाप्पी आवरकासुरेन्द्र बहादुर सिंहबीच बढेको आपसी विवाद अदालतमा पुगेको हो । दुबै पक्षले अदालतबाट अन्तरिम आदेश लिएर क्यासिनो सञ्चालन गरेका थिए । अन्ततः होटल नान्सबाट दुबै क्यासिनो निस्किए । नान्समा पाराडाइज क्यासिनो सञ्चालनमा छ । 

भैरहवालाई क्यासिनो सहरको रुपमा विकास गर्न सकिने सम्भावना छ । तर क्यासिनोको नाममा भइरहेको विकृति भने रोक्नुपर्ने देखिन्छ । गलत ढंगले सञ्चालित केही व्यवसायीका कारण करोडौं लगानी गरेर राज्यलाई नियमित रोयल्टी बुझाउँदै आएका क्यासिनोहरुले मर्कामा परेके बताउन थालेका छन् ।  सीमाक्षेत्रमा खोलिएका मिनी क्यासिनोहरुमा दैनिक ५० लाख रुपैयाँसम्मको कारोबार हुने गर्दछ । तर यस्ता ठूला कारोबार गर्ने क्यासिनोहरु कानुनी दायरामा आउनुपर्ने धेरैको बुझाई छ । हेप्पी आवरको भैरहवा शाखामा नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएको भारतीय मुद्राको प्रयोग हुने गरेको त्यहाँका कर्मचारी बताउँछन् । त्यसैगरी भारतीय मदिराको प्रयोग, नेपालीहरुलाई प्रवेश गराउने जस्ता गैरकानुनी धन्दा हुने गरेको आरोप पहिलेदेखि लाग्दै आएको छ । यस सम्बन्धमा प्रहरी प्रशासनले अनभिज्ञता जनाएको छ ।

क्यासिनो व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गरेमा त्यसबाट राज्यले ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । करिब छ लाख जनसंख्या रहेको चीनको मकाउमा दुई सयभन्दा बढी क्यासिनो सञ्चालनमा छन् । त्यहाँका क्यासिनो सरकारी र निजी क्षेत्रको संयुक्त लगानीमा खुलेका हुन् ।

टिप्पणीहरू