एउटै नामका दुई व्यक्तिद्वारा एकाएक समाज तरंगित

एउटै नामका दुई व्यक्तिद्वारा एकाएक समाज तरंगित

‘सरकारलाई पैसा र शक्ति दिनु भनेको भर्खरको उमेरकाहरुलाई ह्विस्की र कारको साँचो दिनुजस्तै हो ।’ यो प्रख्यात अमेरिकी राजनीतिक विश्लेषक प्याट्रिक जेक ओरुर्कको भनाई हो । अमेरिकाका राजनीतिक पार्टीहरुलक्षित यो टिप्पणी गरेका उनको दुई वर्षअघि निधन भैसकेको छ । तर सत्ता र शक्तिसँग राजनीतिक दलको सम्बन्ध बुझाउन उनले गरेको उक्त टिप्पणी संसारभर दृष्टान्तका रुपमा प्रयोग हुने गरेको छ ।

यसबारे थप चर्चा गर्नुअघि मूल विषयमा प्रवेश गरौँ । आज कात्तिक १ गते । महिनाको अन्तिमसम्म के (कस्ता घटनाक्रम विकसित हुने हुन्, देखिँदै जाला । तर, असोज महिनामा भने देशभर दुई मीनबहादुरको चर्चा भयो । असोजको प्रारम्भमा चलचित्र निर्देशक मीनबहादुरले भामको हलिउड हुँदै बलिउडसम्म चर्चा चुलियो । महिनाको अन्त्यतिर भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेलाई जग्गा दान गरेको विषय चर्चामा रह्यो ।

राजनीति र चलचित्र फरक क्षेत्र हुन् । चलचित्रले भावना, कल्पना र सृजनाको ट्रिगोनमेट्री खोज्छ भने राजनीतिले एजेण्डा र वस्तुस्थितिको ठोस विश्लेषण ।

शुरुमा राष्ट्रिय बहसको केन्द्रमा रहेका गुरुङकै चर्चा गरौँ । सरकारको नेतृत्व गरिएको दल एमालेलाई पार्टी कार्यालय बनाउन करोडौंको जग्गा दिएपछि यतिबेला उनी चर्चा र विवादमा छन् । १० रोपनी १४ आना जग्गा (करिब ७० करोड मूल्यको) मात्र उनले एमालेलाई दिएका छैनन्, एक वर्षभित्र पार्टी कार्यालय भवन बनाएर हस्तान्तरण गर्नेगरी शिलान्याससमेत गरेका छन्  ।

दशैँको महाअष्टमीका दिन शुभ साइत पारेर कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उभिएर उनले भवन शिलान्यास गरेका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘नौ रेक्टर स्केलको भूकम्पसम्म धान्नेगरी अत्याधुनिक, फंक्सनल र सुन्दर भवन बनाएर अर्को वर्ष घटस्थापनाको दिन उद्घाटन हुन्छ । त्यही दिन साँचो हस्तान्तरण हुन्छ । मैले आजै निमन्त्रणा पनि दिएँ ।’

कीर्तिपुरमा पार्टी कार्यालय बन्न लागेको कुरो एमाले पंक्तिकै लागि पनि सरप्राइज्ड नै थियो । किनकि केही महिनाअघि मात्रै कार्यालय भवन निर्माणको लागि जग्गा खोजी भइरहेको जानकारी गराएको एमालेले नेता कार्यकर्ताहरुबाट अनिवार्य एक सय रुपैयाँ र स्वेच्छाले त्योभन्दा बढी सहयोग रकम उठाउन सर्कुलर जारी गरेको थियो । कतिपयले रकमसमेत बुझाइसकेका थिए । तर, व्यापारीसँग जग्गा लिएर उसैको सहयोगमा सुविधा सम्पन्न भव्य महल बनाउने खबरले सम्भवतः आम सर्वसाधारणजस्तै एमालेपंति पनि चकित परेको होला १

व्यापारीसँग हात थापेर अध्यक्षले कार्यालय भवन बनाउन लागेपछि एमालेका कतिपय नेता असन्तुष्ट देखिएका छन् । पार्टीमा औपचारिक छलफल नगरी र पदाधिकारी तहका नेतालाई समेत जानकारी नगराई व्यापारीसँग घाँटी जोडेको भन्दै स्थायी कमिटी सदस्य विन्दा पाण्डेले सार्वजनिकरुपमै आलोचना गरिसकेकी छन् ।  

अध्यक्ष ओलीको कदम चित्त नबुझे पनि कतिपयले मुख खोल्न सकेका छैनन् । अनौपचारिक संवादमा एक सांसद भन्छन्, ‘हैरान भइसक्यो बाको बानी देखेर । पार्टीका कुरा कम्तिमा हामीलाई त थाहा हुनुपर्ने हो, तर एकैचोटी बाले यस्तो भन्नुभयो, यस्तो हुनेभयो भन्ने मात्र जानकारी आउँछ ।’

हुनत अहिले एमालेमा अध्यक्ष ओलीको एकाधिकारजस्तै छ । पार्टी कार्यालयको लागि जग्गा एमालेले नभएर अध्यक्ष ओलीले लिएको ती सांसदले बताए । भने, ‘पार्र्टीकार्यालय निर्माणको लागि नेता (कार्यकर्ताले रकम उठाउन शुरु गरिसकेका थिए । मीनबहादुरजीबाट जुन जग्गा आयो, त्यो अध्यक्षज्यूले लिनुभएको हो । पार्टीभित्र छलफल गरेर ल्याएको भए पो पार्टीले लियो भन्नु १’

यतिखेर प्रधानमन्त्री तथा अध्यक्ष ओलीको चौतर्फी आलोचना त भइरहेको छ नै, व्यवसायी गुरुङलाई पनि विवादमा तानिएको छ । राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेल व्यवसायी गुरुङको सहयोगभित्र धेरै रहस्य लुकेको बताउँछन् । सामान्यतयाः निर्वाचनको समय र सरकारको नेतृत्व गरिरहेको बेला गरिने सहयोगमा धेरै भिन्नता हुने उनको विश्लेषण छ ।

‘चुनावमा नेता र नीति किनबेचको लागि व्यापारीहरुले ठूला दललाई चन्दा दिन्छन्, त्यो अर्कै कुरा हो’, उनले भने, ‘तर, अहिले मीनबहादुर र एमालेबीच भएको लेनदेनको जुन समय छ, यसले भित्री अन्तर्यको संकेत गर्छ ।’  गुरुङले लगाएको गुन एमालेलाई तिर्नैपर्ने बाध्यता रहने पनि उनले सुनाए ।

‘मीनबहादुरले लगाएको गुनबारे एमाले अध्यक्षलाई पनि राम्ररी थाहा छ । उनको यो गुन त तिर्नैपर्ने हुन्छ एकदिनु,’ उनी भन्छन्, ‘अहिलेको सहयोग उनीहरुको पोलिसीको एउटा समान्य प्रक्रिया मात्र हो ।’

जनताको पार्टीबाट विस्तारै एमाले पुँजीपतिहरुको पार्टी बनिरहेको उनको भनाई छ । ‘अहिले त यो पार्टीमा कम्युनिष्टको गन्ध पनि छ कि छैन भन्ने पो चिन्ता छ । आफ्नै नेता, कार्यकर्ताको भावना र विश्वासमाथि (वनरसिप खोसेर) आघात पुर्याएर एमालेले जुन गलत अभ्यास गर्यो, यसको राम्रो नतिजा अपेक्षा गर्न सकिँदैन,’ उनले भने ।

त्यसो त, एमालेले भने मीनबहादुरले स्वच्छ मनले गरेको सहयोगबारे अनावश्यक होहल्ला गरिएको भन्दै आपत्ति जनाएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले हिजो विज्ञप्ति जारी गर्दै अन्य मुलुकमा पनि सम्पन्न व्यापारीले राजनीतिक दललाई सहयोग गर्ने परम्परा र अभ्यास रहेको बताएका छन् ।

तर यो पनि एमालेले आफू चोखिन अपनाएको तथ्यहीन तर्क बाहेक केही नभएको फरक धारणा राख्दै आएका एमाले नेताहरु बताउँछन् । व्यापारीहरुबाट चुनावी सहयोग लिए पनि राजनीतिक दलहरुले पार्टी कार्यालय बनाउनकै लागि रकम लिएको तथ्य भेटिँदैन ।

संसारकै ठूलो लोकतान्त्रिक मुलुक भनिएको छिमेकी भारतमै राजनीतिक दलले दान लिएर पार्टी कार्यालय बनाएको उदाहरण छैन । सन् २०२१ मा भारतीय जनता पार्टीले विभिन्न नीजि कम्पनी र व्यापारीबाट ७२० करोड सहयोग पाएको थियो । तर सहयोग गर्नेको सूचीमा केही विवादित व्यक्तिहरुको नाम सार्वजनिक भएपछि त्यहाँको सर्वोच्च अदालतको आदेशपछि निर्वाचन आयोगले भाजपालाई स्पष्टीकरण सोधेको थियो ।

त्यस्तै, तृणमूलले तीन सय करोड र भारतीय काँग्रेसले डेढ सय करोड भारतीय रुपैयाँ चन्दा लिँदा पनि आयोगले दाताहरुको विस्तृत विवरण मागेको थियो ।

अमेरिकामा सन् २०२२ मा डेमोक्रेटिक पार्टीले क्रिप्टोकरेन्सीका टाइकुन सियाम बैंकम्यान फ्राइडबाट लिएको साढे एक मिलियन डलर सहयोग फिर्ता गरेको थियो । डेमोक्रेटिक पार्टीले सहयोग लिँदा सियाम क्रिप्टोकरेन्सीसम्बन्धी नीतिको विवादमा तानिएका थिए । पछि उनीविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि डेमोक्रेटिक पार्टीले सहयोग लिएको सबै रकम फिर्ता गर्यो । त्यतिबेला उसले पार्टीको विधानमा डोनेसन सम्बन्धी केही बुँदा संशोधनसमेत गरेको थियो ।

क्यानडाको लिबरल पार्टी अफ क्यानडाले पनि सन् २०१८ मा तीन मिलियन सहयोग फिर्ता गरेको थियो । यसबाहेक बेलायत, अष्ट्रेलिया, जापानलगायतका देशहरुमा त्यहाँका राजनीतिक पार्टीले सहयोग लिँदा दिने व्यक्तिको चरित्रलाई निकै ध्यानमा राखेको पाइन्छ । सहयोगदाता कुनै विवादमा तानिएको खण्डमा लिइसकेको सहयोग निःशर्त फिर्ता गरेको प्रशस्त उदाहरण छन् ।

जर्जियाका राजनीतिक विश्लेषक तथा नीति विज्ञानका प्राध्यापक म्याथ्यु सी इन्ग्राम पनि सरकारको नेतृत्व गरिरहेको बेला कुनैपनि राजनीतिक दलले विवादित व्यक्तिबाट आर्थिक सहयोग लिनुलाई सरासर भ्रष्टाचारको संज्ञा दिन्छन् । हालै दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘सरकारमा बसेको पार्टीले कुनै आरोप लागेको व्यक्तिको डोनेसनलाई इन्डोर्स गर्छ भने त्यसलाई भ्रष्टाचार भन्न सोचिरहनु पर्दैन ।’

एमालेले भने पार्टीपंक्ति सत्ता साझेदार, प्रतिपक्षीहरु र मुख्यतः आम तहबाट चर्को आलोचना हुँदा पनि लिएको दान फिर्ता गर्ने छाँटकाँट देखाएको छैन । उल्टै यो प्रकरणलाई सामान्यीकरणमात्र गर्न खोजेको छैन, प्रश्न उठाउनेमाथि सोही पार्टीका नेताहरु कठोर ढंगले प्रस्तुत भैरहेका छन् ।  

ओस्कारमा जान लागेका मीनबहादुर

असोज महिनामा चर्चा कमाएका अर्का मीनबहादुर गुरुङ होइनन्, भाम हुन् । समान्यतयाः आफूले गरेको कामले राम्रो उपलब्धी हासिल गर्यो भने जो कोही पनि खुशी हुन्छ । प्रसन्न हुन्छ । तर, भाम मात्र त्यस्ता दुर्लभ पात्र हुन्, जो चलचित्र हिट भएपछि डिप्रेसनमा गएका थिए ।

शान्त र शालिन स्वभावका उनलाई पछिल्लो समय चर्चामा ल्याउने चलचित्र ‘शाम्बाला’ हो । बर्लिन फिल्म फेस्टिभल, लोकार्नो फिल्म फेस्टिभललगायत विश्वका दुई दर्जन प्रतिष्ठित फेस्टिभलमा सहभागी भएको शाम्बालाले होम कमिङ पनि राम्रै गर्यो । यसै चलचित्रको कारण नेपालबाट पहिलोपल्ट अभिनेत्री थिन्ले ल्हामोलेले प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ हात पारिन् ।

चलचित्रको प्रिमियिरमा भामले बलिउड कलाकार नवाजुद्धिन सिद्धिकी र निर्देशक अनुराग काश्यपलाई नेपालको सयर गराए । यसले नेपाली चलचित्र वृतमा राम्रै तरंग पैदा गर्यो । नवाजुद्धिन बलिउडमा अहिलेका भर्सटाइल अभिनेता हुन् । उनले भामको कामको यति प्रंशसा गरेकि, भनिदिए, ‘शाहरुख खान, सलमान खानहरुसँग मैले कर्म गरेको हुँ, तर रहर त भामले बनाएको जस्तो शाम्बालामा काम गर्नु हो ।’

यति मात्रै, नवाजुद्धिनले भारत फर्केपछि पनि विभिन्न अन्तर्वार्ताहरुमा भाम र शाम्बालाको खुलेर तारिफ गरिरहे । जसकारण केही हदसम्म भाम बलिउडको आँखामा पनि पर्न सफल भएका छन् । जे होस् अब कुनै दिन भाम र नवाजुद्धिनले एउटै चलचित्रमा काम गरे भने पनि अनौठो मान्नुपर्ने छैन ।  

रोचक के छ भने, कुनै पनि नेताले लोकप्रिय मानिसलाई आफूतिर केन्द्रित गर्नु स्वाभाविक हो । र, भामको चर्चा चुलिँदै गर्दा विभिन्न दलका नेताले नि त्यही शैली अपनाएकपो देखियो । नेपाली काँग्रेसमा महामन्त्री गगन थापाले भामलाई सार्वजनिक रुपमै कांग्रेस घोषणा गरिदिए । उनले सामाजिक सञ्जालमा कांग्रेसीले बनाएको चलचित्र भन्दै उत्सव मनाए ।

भनेका थिए, ‘प्रिय भाइ मीन, तिमी हाम्रो पुस्ताको अब्बल सिनेकर्मी हो ।  शाम्बाला निर्माण गरेकोमा बधाई र सफलताको शुभकामना । काँग्रेसीहरूले त आफ्नो परिवारको एउटा सदस्य अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सिनेकर्मी हो भन्दा थप गर्व गर्नसक्ने विषय हो ।’

जे होस्,  विश्वव्यापीरुपमा हेर्दा नेपाली चलचित्र निकै पछाडि मानिन्छ । तर, निर्देशक भामले नेपाली चलचित्रलाई विश्वका प्रख्यात सिनेमासँग तुलना गर्नसक्ने वातावरण सृजना गरिदिए, राष्ट्रिय दृष्टिकोणले यो निकै सुन्दर र सकारात्मक विषय हो ।

अर्को खुशीको कुरा के छ भने, ओस्कार अवार्डको ९७औँ संस्करणमा शाम्बालाले नेपालको प्रतिनिधित्व गर्ने तय भइसकेको छ । उपाधि जित्नु र नजित्नु, अर्कै कुरा तर नेपाली परिवेशको एउटा चलचित्रले अन्य प्रतिष्ठित चलचित्रसँग प्रतिस्पर्धा गर्न लागेको विषयलाई नजरअन्दाज गर्न सकिँदैन ।
 

टिप्पणीहरू