रविविरुद्ध पक्राउ पुर्जी जारीसँगै छविलाल थप २० दिन हिरासतमा

रविविरुद्ध पक्राउ पुर्जी जारीसँगै छविलाल थप २० दिन हिरासतमा

नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीमाथि थप अनुसन्धानका लागि २० दिन म्याद थपिएको छ । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले प्रहरीलाई तेस्रो पटक अनुमति दिएको छ ।

असोज ६ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई काठमाडौंबाट पक्राउ गरेर सोही दिन राति पोखरा पुर्याएको थियो । अदालतले असोज ७ गते पहिलोपटक पाँच दिन र दोस्रो पटक सात दिनको म्याद थप गरेको थियो । आज फेरि २० दिनको म्याद थपिएको छ ।

जिल्ला अदालत कास्कीले आजै रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् एसपी श्याम ओलिया र डिएसपी बसन्त शर्मा जिल्ला अदालत परिसरबाट बाहिरिएपछि पुर्जी जारी गरिएको जानकारी दिइएको थियो ।

उनीहरु रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जीका लागि दिउँसो जिल्ला अदालत पुगेका थिए । न्यायाधीश कृष्णजंग शाहको इजलासले सहकारी ठगी प्रकरणमा आवश्यक अनुसन्धानका लागि लामिछानेविरुद्ध पक्राउ आदेश र जोशीविरुद्ध २० दिन म्याद थपेको हो ।

टिप्पणीहरू