पहिले रवि, त्यसपछि क्रमशः अरुलाई पक्रने प्रहरीको तयारी

पहिले रवि, त्यसपछि क्रमशः अरुलाई पक्रने प्रहरीको तयारी

जिल्ला अदालत कास्कीले आज जारी गरेको पक्राउ पुर्जीमा रास्वपा सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसहित अरु एक दर्जनको नाम उल्लेख छ । रविलाई पक्राउ गर्न प्रहरीको सिआईबी टोली रास्वपा कार्यालय, बनस्थली पुगेको छ ।

सहकारी ठगीमा अनुसन्धानका लागि आज अदालतले जारी गरेको पक्राउ पुर्जीमा लामिछानेसहित विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी र दीपक लामाको नाम उल्लेख छ । 

त्यसैगरी अनन्त बाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठ विरुद्ध पनि एउटै पक्राउ पुर्जी जारी भएको प्रहरीले बतायो ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी आरोपमा अनुसन्धान गर्न न्यायाधीश कृष्णजंग शाहको इजलासले आज अपरान्ह प्रहरीलाई पक्राउ अनुमति दिएको हो । प्रहरीको मागअनुसार उनीहरुसँग बयानलगायत थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम पक्राउ गर्न अनुमति दिइएको उल्लेख छ । 

उनीहरुमाथि ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धान हुने बताइएको छ ।

टिप्पणीहरू